काठमाडौं २२ जेठ/वीरगन्जको मुख्य सडकमा आइतबार एकाबिहानै विद्यालय पोसाकमा भेला भएका स्कुले बालबालिकाले सडकबीचको डिभाइडरमा रोपिएका रूखलाई अँगालो मारेको देख्दा बटुवा एवं सर्वसाधरण छक्क परे । स्कुले बालबालिकाले रूखलाई अँगालो मारेको देखेपछि आश्चर्यमा परेका बटुवा र सर्वसाधारणको जिज्ञासा प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष सरदार जसपाल सिंहले मेटाइदिनुभया, ‘रूखबिरुवा हाम्रो जीवनका आधार हुन्, यिनीहरूलाइ हामीले माया गर्नुपर्छ । यिनलाई मास्नुहुन्न भन्ने सन्देश दिन स्कुले बालबालिकाले रूखलाई अगाँलो मारेका हुन् ।'
छात्रा राधिका साहले पनि बोटबिरुवा हामी मानव जीवनका लागि अत्यावश्यक रहेको र यिनीहरूलाई आघात पुर्याउन नहुनेमा जोड दिनुभयो । ‘यिनलाई चोट लाग्यो भने हाम्रो मुटु पनि पनि दुख्छ', उहाँले भन्नुभयो, ‘त्यसैले रूखबिरुवा नकाटौं । काट्नैपरे पहिला चारवटा बिरुवा रोपौं अनि मात्र एउटा रूख काटौं ।'
विश्व पर्यावरण दिवसका अवसरमा प्रकृति सेवा प्रतिष्ठानले शनिबारदेखि सञ्चालन गरेको सप्ताहव्यापी चेतनामूलक कार्यक्रमको दोस्रो दिन आइतबार बिहान स्कुले बालबालिकाले वीरगन्जको मुख्य सडकमै रहेका डिभाइडरमा रोपिएका रूखलाई अँगालो मारेर तिनलाई नमास्न आग्रह गरेका हुन् ।
वीरगन्ज पब्लिक पब्लिक इङ्लिस स्कुल र त्रिजुद्ध माध्यमिक विद्यालयका गरी १५ जना बालबालिका र १० जना सामाजिक अभियन्ताले एकसाथ अगाँलो मारेर रूखििबरुवा जोगाउनुपर्ने सन्देश दिएको प्रकृति सेवा प्रतिष्ठानका अध्यक्ष जसपाल सिंहको भनाइ छ ।
रूखबिरुवा मास्ने क्रम बढ्दै गएकाले तिनलाई जोगाउनुपर्छ र काट्नुहुँदैन भन्ने सन्देश दिन यस्तो कार्यक्रम गरिएको सिंहले बताउनुभयो । ‘अरूभन्दा बालबालिकामार्फत प्रवाह गरिने सन्देश भावनात्मक एवं प्रभावकारी हुने भएकाले उनीहरूलाई अगाडि सारिएको हो', उहाँले भन्नुभयो, ‘आज अँंगालो मार्न लगाएर रूखको महत्ववबारे सन्देश प्रवाह गरियो, भोलि नगरका ठाउँठाँउमा बिरुवा रोप्छौं ।'
विश्व वातावरण दिवसकै अवसरमा आइतबार वीरगन्ज महानगरपालिका कार्यालयले समेत वृक्षरोपण गरेको छ । भारतीय महावाणिज्यदूतावासदेखि उत्तरतर्फ मुख्य सडकको बीच भागमा रहेका डिभाइडरमा विभिन्न प्रजातिका ८७ वटा बिरुवा रोपिएको हो । कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी केशवराज घिमिरे, वीरगन्ज महानगरपालिका कार्यालयका कार्यकारी अधिकृत पीताम्बर अधिकारी, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक गोविन्दकुमार साह, एमाले पर्साका संयोजक प्रभु हजरालगायतको उपस्थिति थियो ।
अन्नपूर्ण पोष्टमा प्रकाशित खबर ।
प्रतिक्रिया