भक्तपुर - अस्थायी शिक्षक ब्यवस्थापन गर्न शिक्षक सेवा आयोगले तय गरेको मिति सारेको छ । यस अघि असार २४ गतेका लागि तय भएको परीक्षा आगामी भदौ ३ गतेका लागि सारिएको आयोगका अध्यक्ष ताना गौतमले बताए । परीक्षामा सहभागि हुनका लागि दरखास्त हालेका शिक्षकहरुको फारममा केही त्रुटि फेला परेपछि मिति सारिएको उनको भनाई छ ।
'संकलित फारम माथि छानवीन गरिरहेका थियौं तर केही त्रुटि फेला परेपछि हामीले परीक्षा नै सार्नु पर्ने भयो' उनले भने 'परीक्षार्थीकै हितका लागि हामीले मिति सारेका हौं ।'
अस्थायी शिक्षक ब्यवस्थापनका लागि गत चैत १८ गते ६७ जिल्लाका १६ हजार ३ सय २६ पदका लागि आयोग खोलिएको थियो ।
उक्त विज्ञापनमा परेको दरखास्त माथि आयोगले छानविन शुरु गरेको थियो । कतिपय उम्मेद्वार दोहोरिन सक्ने, अस्थायी शिक्षकहरुले पटक पटक हालेका मुद्धामा अदालतले गरेको आदेशको अध्ययन गर्नु पर्ने, शैक्षिक योग्यता लगायतका विषयलाई आधार मानेर आयोगले छानविन गरेको थियो । लाईसेन्स नभएको, तालिम पनि नलिएको र लियन शिक्षकका सन्दर्भमा अदालतबाट जारी आदेशलाई ख्याल गर्नु पर्ने भएकोले संकलित दरखास्त माथि मिहिन छानविन गर्दा केही त्रुटि फेला परेको गौतमले बताए ।
'दरखास्त रुजु तथा छानवीन हुँदा केही उम्मेदवारहरुको विज्ञापन नम्बर, तह, विषय परिवर्तन भएको देखिन आएकोले उम्मेदवारहरुको हितलाई ध्यानमा राखी परीक्षा सारेको' आयोगले जारी गरेकोसूचनामा उल्लेख छ ।
अस्थायी शिक्षक ब्यवस्थापनका लागि शिक्षा ऐनमै तीनवटा बर्ग छुट्याईएको छ । २०४९ पुस २० भन्दा अघि, ०४९ पुस २१ देखि २०६१ साउन २१ सम्म र २०६१ साउन २२ देखि संविधान जारी भएको मिति २०७२ असोज २ गते सम्म नियुक्त अस्थायी शिक्षकलाई ब्यवस्थापन गर्ने ऐनमा ब्यवस्था छ ।
सोही अनुसार आयोगले पनि हरेक तहका लागि ३ वटा वर्गमा छुट्टा छुट्टै संकेत राखेर विज्ञापन गरेको छ । जस अनुसार प्राथमिक तहका लागि १०१, १०२ र १०३ विज्ञापन संकेत छ भने निमाविका लागि २०१, २०२, २०३ र माविका लागि ३०१, ३०२ र ३०३ विज्ञापन संकेत उल्लेख छ । अहिले सम्मको ट्रेण्ड हेर्दा ०१ बर्गमा ८० प्रतिशत, ०२ बर्गमा ५० देखि ६० प्रतिशतले सुविधा लिने अपेक्षा गरेर आवेदन नहालेको आयोगले प्रारम्भिक अनुमान गरेको छ । ०३ वर्गका भने लगभग पुरै अस्थायी शिक्षक आयोग लड्ने तयारीमा छन् । यो बर्गमा २०६१ साउन २२ देखि संविधान जारी भएको मिति २०७२ असोज २ गते सम्म नियुक्त अस्थायी शिक्षक पर्छन् ।
अस्थायी शिक्षक ब्यवस्थापन गर्न शिक्षा ऐनमा ब्यवस्था भएपनि शिक्षा मन्त्रालयको ढिलासुस्तिका कारण आयोग खोल्ने काम अलमलमा परेको थियो । अहिले फेरी आयोगको मिति सर्दा आयोगै नखुल्ने हो की भन्ने शंका ब्यक्त गरिएको छ । तर आयोगका अध्यक्ष गौतम त्यो शंका नगर्न आग्रह गर्छन् ।
'ऐनमै भएको ब्यवस्था अनुसार आयोग खुलेको हो, आयोगले लिने परीक्षा हुँदैन की भन्ने बारेमा कसैले शंका नगर्नु भए हुन्छ' गौतमले भने ।
प्रतिक्रिया