Edukhabar
शुक्रबार, १८ असोज २०८१
खबर/फिचर

जिशिअद्वारा शिक्षक तालिमको छड्के, शिक्षकलाई सोधे, खरायो कसरी पढाउने ?

सोमबार, १९ असार २०७४

भक्तपुर - शिक्षक तालिममा सहभागी हुन्छन्, भत्ता लिन्छन्, तर सिकेको सीप भने कक्षामा कार्यान्वयन गर्दैनन् भन्ने आरोप पुरानै हो । कसले कति तालिमको सदुपयोग गरिरहेको छ ? त्यसको उपलब्धि कक्षामा देखिएको छ–छैन ? भन्ने बारेमा खासै मूल्यांकन हुन सकेको छैन ।

यही आलोचित विषयका बारेमा बुझ्न भक्तपुर जिल्ला शिक्षा अधिकारीले भने तालिमकै छड्के अनुगमन गरेका छन् । दधिकोटमा सञ्चालित तालिम हलमै पुगेर तालिमको निरीक्षण र अनुगमन गर्दै सहभागी विभिन्न विद्यालयका नेपाली शिक्षकसँग उनले जवाफ मागेका थिए ।

भक्तपुरको सूर्यविनायक नगरपालिकाको अरनिको स्रोत केन्द्रमा सञ्चालनमा रहेको नेपाली विषय शिक्षकका लािग १० दिने तालिम’ को छड्के जाँचका लागि पुगेका उनले तालिममा सहभागीहरुलाई सोधे, ‘खरायो कसरी पढाउने ?’

तालिम कक्षमा आएका जिशिलाई स्रोतव्यक्ति विष्णु कायस्थले मन्तव्य दिन अनुरोध गरेसँगै जिशिअ रायमाझीले मन्तव्यको सट्टा शिक्षकलाई उक्त प्रश्न सोधेपछि सहभागी शिक्षकहरु अलमल परेका थिए । त्यसपछि पुनः जिशिअ रायमाझीले तालिममा सिकेका कुराहरु तपाइँहरु भन्न सक्नुहुन्न भने कसरी कक्षामा लागू गर्नुहुन्छ ? भनेर प्रश्न गरेपछि भने केही सहभागीले खरायो पढाउने उपाय बताएका थिए ।

सहभागीहरुमध्ये कोहीले खरायो चित्रबाट पढाउने, कोहीले पहिला ख अक्षर पढाउने जवाफ दिएका थिए । राष्ट्रिय प्रारम्भिक पढाइ कार्यक्रमअन्तर्गत कक्षा ३ मा नेपाली पढाउने शिक्षकका लागि दिइएको सो तालिममा सिकेका सीप प्रयोग नभएको जानकारी आफूलाई प्राप्त भएपछि तालिमै पो प्रभावकारी भएन कि ? भन्ने भएपछि तालिमको अनुगमन गरेको उनले बताए ।

उक्त स्रोतकेन्द्रमा रहेका २१ सामुदायिक विद्यालयका शिक्षकको सहभागितामा चलिरहेको सो तालिममा नेपाली विषयमा सिकाइ उपलब्धि बढाउनका लागि तोकिएको ध्वनि सचेतीकरण, लेख्य वर्ण सचेतीकरण, शब्द भण्डार, पठन प्रवाह, बोध तथा सूचना प्रविधिबारेमा पनि तालिम दिइने स्रोतव्यक्ति कायस्थले बताए ।

कायस्थले कक्षाकोठा व्यवस्थापन र कक्षा पुस्तकालय व्यवस्थापन, विभिन्न शैक्षिक सामग्रीको व्यवस्थापनका बारेमा पनि तालिममा सिकाइने बताए । तालिमको छड्के अनुगमनमा पुगेका जिशिअ रायमाझी, विद्यालय निरीक्षक बिमल निरौलाले तालिम औपचारिकतामा मात्र सीमित हुन नहुने बताएका थिए ।

प्रतिक्रिया