Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

नेपाल खुला विश्वविद्यालय: छ महिनाभित्र शैक्षिक कार्यक्रम ल्याउँदै

शनिबार, ०७ साउन २०७४

काठमाडौ. ७ साउन /घरमै बसेर विश्व विद्यालयमा भर्ना हुनेदेखि परीक्षा दिन पाउनेसम्मका सुविधा प्राप्तिको कल्पना गर्नेहरूले अब धेरै कुर्नु नपर्ने भएको छ ।  नेपाल खुला विश्व विद्यालयले परीक्षाको नतिजापछि प्रमाणपत्र लिनका लागि मात्र विश्व विद्यालयमा पुग्नुपर्ने आधुनिक शिक्षा पद्धतिको थालनी गर्दैछ ।

नेपाल खुला विश्व विद्यालयले आगामी छ महिनाभित्र शैक्षिक कार्यक्रम सुरु गर्दैछ ।  यसपछि दैनिक कलेज जान नसक्नेले उक्त विश्व विद्यालयबाट घरमै बसेर उच्च शिक्षा आर्जन गर्न पाउने छन् ।  त्यसका लागि विद्यार्थीसँग कम्प्युटरको सुविधा उपलब्ध हुनुपर्दछ ।  पछि घरबाटै इन्टरनेटमार्फत परीक्षा दिन सकिने सुविधा उपलब्ध गराइने भए पनि प्रारम्भमा भने तोकिएको केन्द्रमा परीक्षा दिन जानुपर्ने हुन्छ ।
विश्व विद्यालयका उपकुलपति प्रा. डा. लेखनाथ शर्माले भन्नु भयो, “अबको छ महिनाभित्र एमफिल कार्यक्रम सुरु गर्दैछौँ ।  घरमै बसेर एमफील अध्ययन गर्न सकिने छ । ” उहाँले शिक्षाशास्त्र, व्यवस्थापन वा मानविकीमध्ये कुनै एक सङ्कायमा एमफिल सुरु हुने जानकारी दिनुभयो ।

उहाँका अनुसार विद्यार्थीले घरमै बसेर ई–बैङ्किङ्मार्फत् भर्ना तथा परीक्षाका लागि शुल्क बुझाउन सकिने छ भने पाठ्यसामग्री पनि इन्टरनेटमार्फत प्राप्त गर्न सकिनेछ ।  उहाँले एमफिल कार्यक्रम दुई वर्षे हुने भए पनि गुणस्तर कायम गर्न एमफिल पूरा गर्नुपर्ने समयावधि तोकिने बताउनुभयो । विश्व विद्यालयका उपकुलपति डा. शर्माले गुणस्तरका लागि ‘फेस टु फेस’ कक्षा पनि राख्नुपर्ने सोचाइ भइरहेको बताउँदै थप्नुभयो, “विद्यार्थीले दुई वर्षभित्र कुनै न कुनै विन्दुमा शिक्षकसँग सम्पर्क गर्नुपर्ने खालको पाठ्यक्रम तयार गर्छाैँ ।  विद्यार्थीले शिक्षकसँग प्रत्यक्ष सम्पर्क नै नगरेमा त्यसले गुणस्तरलाई सुनिश्चित गर्दैन तर सम्पर्क गर्नुपर्ने अवधि निकै कम हुनेछ । ”

विश्व विद्यालय अनुदान आयोगले हालै पारित गरेको विद्यावारिधि र एमफिल उपाधिसम्बन्धी मापदण्ड तथा कार्यविधिमा दूर शिक्षा तथा खुला सिकाइ विधिबाट कुनै पनि विश्व विद्यालयले शैक्षिक कार्यक्रम सञ्चालन गर्न नपाइने स्पष्ट गरिएको छ ।  नेपाल खुला विश्व विद्यालयसम्बन्धी ऐनमा खुला शिक्षा प्रणालीद्वारा शैक्षिक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ । उहाँले विश्वभरि नै खुला विश्व विद्यालयले दूरशिक्षाका माध्यमबाट शैक्षिक कार्यक्रम सञ्चालन गर्ने गरेको दृष्टान्त दिँदै विश्व विद्यालय अनुदान आयोगको पछिल्लो कार्यविधि आफूहरूका लागि आकर्षण नहुने दाबी गर्नुभयो ।

विश्व विद्यालयका कुलसचिव कमल ढकालले विश्व विद्यालयले १८ महिने प्राविधिक तथा व्यावसायिक शिक्षादेखि विद्यावारिधि कार्यक्रमसम्म खुला विधिबाट सञ्चालन गर्नेगरी चार वर्षे खाका समेत तयार गरेको जानकारी दिनुभयो ।  “पेसागत योग्यताका डिग्री उपलब्ध गराइने छ” उहाँले भन्नुभयो, “विश्व विद्यालयले जारी गर्ने प्रमाणपत्र विश्वमान्यता प्राप्त हुनेछ । ” त्रिभुवन विश्व विद्यालयका आङ्गिक क्याम्पसहरूले लिए सरह नै शुल्क कायम गरिने भएकाले अध्ययन खर्च महँगो नहुने भनाइ पदाधिकारीहरूको छ ।
गत जेठ १९ गते उपकुलपति र जेठ २१ गते कुलसचिव प्राप्त गरेको विश्व विद्यालय अझै पूर्ण हुन सकेको छैन ।  डिन, निर्देशक तथा अन्य तोकिए बमोजिमका पदाधिकारीहरूको पूर्ति भइसकेको छैन ।  विश्वविद्यालय सभा, कार्यकारी परिषद् र प्राज्ञिक परिषद्मा पदेनबाहेकका पदाधिकारी रिक्त छ ।  उपकुलपति डा. शर्माले सभा गठनका लागि प्रक्रिया सुरु भइसकेको जानकारी दिनुभयो ।
स्थान अभावका कारण हाल शैक्षिक जनशक्ति विकास केन्द्र सानोठिमीमा एउटा कोठामा विश्वविद्यालय सङ्कुचित हुनुपरेको छ ।  कुलसचिव ढकालले सरकारी भवन उपलब्ध गराइदिन सरकारसँग माग गरिएको जानकारी दिनुभयो ।  विश्व विद्यालयको नियमावली, विनियम तथा कार्यविधि पनि छैन र त्यसका लागि मस्यौदा कार्यटोली गठन गरिएको छ ।

गोरखापत्रमा प्रकाशित खबर ।

प्रतिक्रिया