Edukhabar
सोमबार, २२ मंसिर २०८२
शिक्षामा गत साता

शिक्षक अभावको समस्या बढ्दो

विद्यालय र शिक्षकको महत्व समाजमा महशुस नभइ र विद्यालय सम्बन्धी निर्णायक समुदाय नै हुने अवस्था नभए सम्म केन्द्रबाट शिक्षक खटाएर मात्रै यो विषय किनारा लाग्न कठिन छ ।

सोमबार, २२ मंसिर २०८२

काठमाडौ - कञ्चनपुरको लालझाडी गाउँपालिका वडा ४ मा रहेको जनचेतना आधारभूत विद्यालयमा शिक्षक अभाव भएपछि विद्यालयमा  कक्षा नियमित गर्न कार्यालय सहयोगीले पढाउँदै गरेको तस्बिर गोरखापत्रमा प्रकाशित भएको छ । 

कालीकोटका सामुदायिक विद्यालयमा गणित, विज्ञान र अङ्ग्रेजी विषयका शिक्षकको सधँै अभाव हुने गरेको छ । समाचार अनुसार  नरहरिनाथ गाउँपालिका माल्कोट उच्छवको रूपादेवी माविले गणित विषय शिक्षकका लागि १८ पटकसम्म विज्ञापन गरे पनि पाउन सकेको छैन । अछामको रामारोसनसँग सिमाना जोडिएको दुर्गमको यो विद्यालयले सङ्घीय अनुदान कोटामा गत वर्ष प्राप्त गणित विषयको दरबन्दीमा शिक्षक नपाएपछि १९ औँ पटकको विज्ञापन गरेको छ । 

गोरखपत्रमा शिक्षक अभावको पीडा शीर्षकमा सम्पादकीय छापिएको छ । जसमा  गणित, विज्ञान र अङ्ग्रेजी शिक्षक पाउन देशभरि नै सजिलो नभएको र शिक्षक पाए पनि टिकाउन कठिन भएको निष्कर्ष छ । अङ्ग्रेजी, गणित र विज्ञान जस्ता विषय उच्च शिक्षामा मेधावीले अध्ययन गरे पनि यस्ता विद्यार्थी अहिले अस्टे«लिया, अमेरिका, क्यानडा जस्ता विकसित मुलुकमा अध्ययनका व्रmममा जाने र उतै रोजगारीमा लाग्न थालेकाले विद्यालयमा जनशक्ति अभाव भएको सम्पाकीयमा उल्लेख छ । 

शिक्षकको दरबन्दी वितरणको कारणले कतै बढी शिक्षक र कतै अभाव हुने समस्यालाई व्यवस्थापन गर्न राज्यले प्रयत्न गरेको जस्तो देखाउन विद्यार्थी अनुपातका आधारमा दरबन्दी मिलान गर्ने भनेर सरकारलेबेलाबेला कार्यदल गठन गर्छ । कार्यदलले संख्या यकिन गर्दै त्यसको समाधानका लागि सुझाव पनि दिन्छन् । तर सरकारले ती सुझाव कार्यान्वयन गर्दैन ।

पूर्व सचिव डा. महाश्रम शर्माको संयोजकत्वमा २०७५ सालमा सरकारले गठन गरेको कार्यदलले करिव ५५ हजार शिक्षक दरबन्दी थप गर्न सुझाव दिदैं राहत कोटालाई दरबन्दीमा बदल्न सुझाव दिएको थियो । तर, उक्त प्रतिवेदन कार्यान्वयन भएन । २०८१ सालमा फेरी पूर्व शिक्षा सचिव दीपेन्द्रविक्रम थापाको अध्यक्षतामा अर्को कार्यदल गठन गरेको छ । कार्यदलले प्रतिवेदन औपचारिक रुपमा सार्वजनिक नगरिए पनि झण्डै ५७ हजार शिक्षक अभाव भएको प्रतिवेदन सरकारलाई बुझाएको बताइएको छ । उक्त प्रतिवेदन पनि कार्यान्वयन गर्न सरकारको चासो देखिंदैन । यसले सरकार शिक्षक अभावको  समस्या हल गर्न गम्भीर नभएको देखाउँछ । 

मधेसमा एक शिक्षक बराबर ५०, पहाडमा ४५ र हिमालमा ४० विद्यार्थी हुनुपर्ने व्यवस्था छ । विद्यार्थी संख्याका आधारमा अहिले तराई तथा पहाडका सुगम क्षेत्रमा शिक्षक कम र विद्यार्थी धेरै तथा पहाडी, हिमाली र दुर्गम क्षेत्रमा विद्यार्थीको अनुपात भन्दा शिक्षक संख्या बढी रहेको अवस्था छ । 

विद्यालय र समुदाय विचको सम्बन्ध बलियो नभए सम्म शिक्षक अभावको समस्या सुल्झन कठिन छ । शिक्षक र विद्यालयको महत्व समाजले नबुझ्दा शिक्षकले समाजमा प्रतिष्ठा नपाउने हुनाले उपलब्ध जनशक्तिले पनि शिक्षक बन्न रुची देखाउँदैन । शिक्षक यसै पनि बढी दुःख र दुःख अनुसरको कम आम्दानी हुने पेशा हो । शिक्षक बन्न लालायित बनाउने अर्को तत्व प्रतिष्ठा हो । तर सामाजिक रुपमा नै शिक्षकको प्रतिष्ठा घट्दो छ । आफूले गर्ने कामको समाजमा प्रतिष्ठा नभएपछि शिक्षक बन्नु रोजाइको कुरा नहुनु स्वभाविक छ । 

युवा जनशक्ति रोजगारका लागि विदेश जानु अर्को समस्या हो । उपलब्ध जनशक्तिलाई आर्कषण गर्ने आर्थिक सुरक्षा, वृत्तिविकास र प्रतिष्ठाले हो । तर शिक्षक बन्दा वृत्तिविकासको निश्चितता र प्रतिष्ठा नहुने अहिले अवस्थाले शिक्षक पेशाले आकर्षण गुमाउँदै गएको छ । अहिले शिक्षक सेवा आयोगमा प्रतिस्पर्धा गर्ने जनशक्ति शिक्षक बन्ने आकर्षणले भन्दा रोजगारीको अवसर छोेप्न तुलनात्मक सहज देखेर प्रयास गरेको देखिन्छ । विद्यालय र शिक्षकको महत्व समाजमा महशुस नभइ र विद्यालय सम्बन्धी निर्णायक समुदाय नै हुने अवस्था नभए सम्म केन्द्रबाट शिक्षक खटाएर मात्रै यो विषय किनारा लाग्न कठिन छ । 

त्यसो त शिक्षक अभाव संसारभरी कै समस्या बन्दै गएको छ र भविष्यमा अझ विकाराल हुँदै जाने देखिन्छ । निजी विद्यालयमा शिक्षक अभाव नदेखिएको ती शहर केन्द्रित हुनाले र क्याम्पस पढ्दै गरेका विद्यार्थीले आर्थिक भरथेगको लागि रोजागरीको रुपमा निजी विद्यालयमा पढाउने अवसर सजिलो भएर हो, अहिलेसम्म समस्या नदेखिएको तर त्यहाँ पनि शिक्षक टिकाउ छैनन्, हरेक छ महिना, वर्ष दिनमा नयाँ शिक्षक खोज्नु पर्ने अवस्था छ । 

संविधानले विद्यालय तह सम्मको अधिकार स्थानीय सरकार मातहत राखेको विषय प्रति अनुदार शिक्षकका नेताहरुको शैलीले स्थानीय स्तरमा शिक्षक छनोटको विषय सहज पनि छैन । वर्तमानको लागि समस्या समाधान गर्न दरबन्दी मिलानको वर्षौंको सरकारी गफ व्यवहारमा उतार्न, आवश्यक थप शिक्षक दरबन्दी सिर्जना गरी खुल्ला प्रतिस्पर्धाबाट ती दरबन्दी पुरा गर्ने तथा वृत्तिविकासको स्पष्ट र भरपर्दो  अवसरको सुनिश्चतता गर्नु सरकारको दायित्व पुरा गर्नु हो । प्रतिष्ठाको विषय शिक्षक, समाज र राज्यको संयुक्त प्रयासले हुने कुरा हो । शिक्षक अभावको विश्वव्यापी प्रवृत्ति हेर्दा भविष्यमा शिक्षक अभाव हुन नदिन पनि वैकल्पिक तयारी थाल्न पनि ढिला भैसकेको छ ।

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट)ले विज्ञान शिक्षकहरूको क्षमतालाई अभिवृद्धि गर्ने उद्देश्यले पठनपाठनमा एआई जस्ता नवीनतम प्रविधि प्रयोग गरेर विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्न सहयोग गर्न चन्द्रागिरी र टोखा नगरपालिकाका सार्वजनिक विद्यालयका ४२ जना विज्ञान शिक्षकहरूलाई तालिम दिएको समाचारमा छ । 

बुटवलको सार्वजनिक विद्यालय कालिका मानव ज्ञान माध्यमिक विद्यालयका ११ जना विद्यार्थीले एमबिबिएसमा र जम्मा ४२ जना विद्यार्थीले स्नातकतर्फ विभिन्न सङ्कायमा निःशुल्क छात्रवृत्तिमा नाम निकाल्न सफल भएको समाचार छ ।

धनकुटाको चौबिसे गाउँपालिका राजारानीस्थित पुण्य माध्यमिक विद्यालयमा अङ्ग्रेजी भाषा सुधारमा  शिक्षक र विद्यार्थीद्वारा   ग्रामर, शब्द भण्डार अनि पाठ्यव्रmममा समावेश गरिएका हरेक व्रिmयाकलाकको प्रयोगात्मक अभ्यासले मद्दत पुगेको समाचार छ । 

लहान नगरपालिकाको करिब ८० घरधुरी रहेको बेतहा बस्ती र त्यहाँको आधारभूत विद्यालय बेतहालाई हरेक वर्ष सताउने गरेकोमा बाँस, घाँस, र स्थानीय प्रजातिका बोटबिरुवा लगाएर जैविक तटबन्ध बनाइ नदी किनारलाई मजबुत बनाउँदा चुरेबाट आउने बेतहा खोलाको त्रास र क्षतिबाट विद्यालय र बस्ती मुक्त भएको समाचार छ । 

शिक्षा मन्त्री महावीर पुनले पालिकाहरुलाई नियम अनुसार विद्यालय व्यवस्थापन समिति गठन गर्न सूचना जारी गरिएको र विद्यालय व्यवस्थापन समिति गठन नगरे अनुदान रोक्ने चेतावनी दिएको समाचार छ ।

चिकित्सा शिक्षा आयोगले सरकारी र निजी मेडिकल क्याम्पसका लागि पोष्ट ग्रेजुएट अध्ययन गर्ने विद्यार्थीको कोटा निर्धारण गरेको छ । सरकारी क्याम्पसलाई एक हजार भन्दा बढी र निजीलाई एक हजार भन्दा केही कम दिनेगरी विभाजन गरिएको समाचारमा उल्लेख छ ।

प्रा.डा. कृष्णकान्त पराजुलीले नेपालको उच्च शिक्षा बोर्ड अफ ट्रष्टीज मार्फत सञ्चालन गर्ने अवधारणाले शैक्षिक सुधारका नयाँ सम्भावना कल्पना गरिएको गोरखापत्रमा लेखेका छन् ।  

त्यस्तै शोभाखर कँडेलले गोरखापत्रमा परिवार, समाज, राष्ट्रको हितमा लाग्ने असल नागरिक बन्नु नै व्यावहारिक प्रवृत्तिले देशभक्त नागरिक बन्ने लेखेका छन् । 

प्रेमनारायण भुसालले गोरखापत्रमासार्वजनिक विद्यालयलाई सुधार गर्ने हो भने स्थानीय तहले दृढ इच्छा शक्ति देखाउनु पर्ने लेखेका छन् । 

सूर्य पाण्डेले गोरखापत्रमा त्रिवि सभाको फरक दृश्य शीर्षकमा यस पटकको त्रिवि सभामा राजनीतिक भाषणबाजी तथा सभाका सदस्य बीच राजनीतिक घोचपेचको नभइ सकिएको लेखेका छन् ।

सरकारले विश्वविद्यालय अनुदान आयोगको सचिवमा प्राध्यापक ज्ञानबहादुर थापालाई नियुक्त गरेको छ । समाचार अनुसार प्राध्यापक थापा इञ्जिनियरिङ अध्ययन संस्थान पुल्चोक क्याम्पसमा गणित विषय पढाउँछन ।

आबुधाबी स्थित नेपाली दूतावासले उच्च शिक्षा अध्ययनका लागि संयुक्त अरब इमिरेट्स (यूएई) का शिक्षण संस्थामा पुगेर समस्यामा परेका पीडित विद्यार्थीको विवरण संकलनका लागि परराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले पोर्टल तयार गरेको । समाचार अनुसार २४ पीडित विद्यार्थीले कन्सल्टेन्सी, यूएईस्थित शिक्षण संस्थाको नामसहित उजुरी दिएका छन् ।

अस्ट्रेलियाली सरकारद्वारा प्रदान अस्ट्रेलिया अवाड्र्स छात्रवृत्ति अस्ट्रेलियाली राजदूत लियन जोन्सटन र शिक्षा सचिव चूडामणि पौडेलले स्नातकोत्तर तहको अध्ययन सुरु गर्ने १३ जना सार्वजनिक सेवा क्षेत्रका व्यक्ति, ११ जना महिला तथा २ जना अपांगता भएका व्यक्तिलाई प्रदान गरेको समाचार छ । 

चनियाँ सरकारको एक अर्ब रुपियाँ लगानीमा गोरखाको शहीद लखन गाउँपालिकाको सिञ्जाली माविको अत्याधुनिक भवन निर्माण  भइरहेको समाचार छ  । आउँदो वर्ष मङ्सिरसम्ममा विद्यालय भवन सम्पन्न हुने गरी विद्यालयलाई हस्तान्तरण हुने छ । 

पाकिस्तानका राजदूत अब्रार हाश्मीले काठमाडौँको बाफल स्थित ज्ञानोदय माध्यमिक विद्यालयमा नयाँ कम्प्युटर प्रयोगशालाको उद्घाटन गरेका छन् । नयाँ प्रयोगशालामा ४२ वटा कम्प्युटर, नयाँ फर्निचर राखिएको समाचारमा उल्लेख छ । 

साताभरिका शैक्षिक विषयवस्तुको सामाजिक न्याय र सिर्जनशील शिक्षण विधिका दृष्टिबाट वर्गीकरण र संश्लेषण गरी सान्दर्भिक टिप्पणी सहित नीति निर्माता एवं सरोकारवालाहरुलाई शैक्षिक समाचारको सार उपलब्ध गराउनु यसको उद्देश्य हो । शिक्षा नीति तथा अभ्यास केन्द्र र एडुखबरको संयुक्त प्रयासमा दैनिक पत्रिकाहरु कान्तिपुर, गोरखापत्र र दि हिमालयन टाईम्स, न्यूज पोर्टलहरु अनलाईन खबर, सेतोपाटी र रातोपाटी अनि हिमालय टिभिको बेलुका ७ र नेपाल टेलिभिजनको बेलुका ८ बजेको समाचारलाई यसमा समेटिन्छ । यस पटक २०८२ मंसिर १३ देखि १९ गते सम्मका विषयवस्तु समेटेका छौं – सम्पादक ।

गत साताका सामग्री पढ्नुहोस्  : शिक्षामा गत साता  

प्रतिक्रिया