Edukhabar
सोमबार, १७ बैशाख २०८१
खबर/फिचर

शिक्षकको परीक्षा तोकिएकै समयमा : शिक्षा मन्त्री

सोमबार, १६ साउन २०७४

काठमाडौं - अस्थायी शिक्षकलाई स्थायी बनाउन शिक्षक सेवा आयोगले लिन लागेको परीक्षा  तोकिएकै समयमा सम्पन्न हुने शिक्षामन्त्री गोपालमान श्रेष्ठले बताएका छन् ।

उक्त परीक्षा आगामी भदौ ३ गते गर्ने गरी समय निर्धारण गरिएको छ । तर, परीक्षा सार्ने चलखेल भईरहेको र यसमा शिक्षा मन्त्रीनै संलग्न रहेको भन्दै केही दिन अघि खबर सार्वजनिक भएको थियो ।  

आजको आवाज मिडियाले सोमबार आयोजना गरेको १३ औं एजुकेशन अवार्ड कार्यक्रममा विभिन्न १२ विधामा ब्यक्ति र संस्था गरी २० जनालाई* सम्मान गरेपछि लिखित सम्बोधन गरेका मन्त्री श्रेष्ठले आयोगले तोकिएको समयमै परीक्षा लिने बताएका हुन् ।

'अस्थायी शिक्षक समस्या समाधानका लागि छलफल भईरहेको छ' परीक्षा सार्न मन्त्रीकै संलग्नतामा काम भईरहेको बारेमा सार्वजनिक उक्त खबरलाई उदृत नगरीकनै मन्त्री श्रेष्ठले भने, 'आयोगले समयमै परीक्षा लिन्छ ।'

यस अघि असार २३ गते गर्ने तय भएको परीक्षा अन्तिम समयमा आएर भदौ ३ गतेका लागि निर्धारण गरिएको थियो ।

गत वर्ष संशोधन भएको शिक्षा ऐनमा सामुदायिक विद्यालयमा २०४९ अघिदेखि संविधान जारी हुनु अघि अर्थात् ०७२ असोज २ सम्म नियुक्त अस्थायी शिक्षकलाई स्थायी बनाउने प्रक्रिया एक वर्ष भित्र सुरु गर्नुपर्ने व्यवस्था छ । सोही व्यवस्थाअनुसार गत चैत १९ मा आयोगले अस्थायी शिक्षकलाई स्थायी बनाउन विज्ञापन गरेको थियो ।

यसैविच मन्त्री श्रेष्ठले चिकित्सा शिक्षा सुधारको माग सहित अनसनरत डा. गोविन्द केसीको माग सुनुवाई गर्न मन्त्रालय निरन्तर छलफल र वार्तामा रहेको पनि बताए ।

संघीयता अनुसार स्थानीय तहमा कर्मचारीको खटनपटनको काममा पनि मन्त्रालय गम्भिर भएर कार्य गरिरहेको उनले बताए । संघीयता अनुसारको शिक्षा निर्देशिका तथा नियमावली निर्माणका विषयमा पनि छलफल जारी रहेको उनको भनाई छ ।

संविधानमै भएको ब्यवस्था अनुसार शैक्षिक हकको उपयोग गर्न तथा शैक्षिक सुशासन कायम राख्न आवश्यक रहेकोले कार्यक्रममा सम्मानित ब्यक्तिहरुसँग सहकार्य गरेर अघि बढ्ने उनले बताए ।

लिखित भाषण सकिएपछि उनले समृद्ध मुलुक बनाउन यहाँका प्राकृतिक श्रोत र साधनको भरपुर उपयोग गरी काम गर्न सकिने बताए ।

फाईल फोटो

* सच्याईएको - सं.

प्रतिक्रिया