Edukhabar
शुक्रबार, ०४ जेठ २०८१
खबर/फिचर

शिक्षकको ‘इच्छाशक्ति’ र ‘लगनशीलतामै’ कमी

शुक्रबार, १३ असोज २०७४

भक्तपुर–प्रारम्भिक कक्षा पढाइ कार्यक्रम(ईजिआरपी) कार्यान्वयनमा चुनौति देखिएको छ ।

प्रारम्भिक कक्षाको रुपमा रहेको कक्षा १ देखि ३ सम्मका विद्यार्थीको पढाइ, बुझाइ र व्यवहारिक उपयोग गराउनका लागि सञ्चालित सो कार्यक्रमको कार्यान्वयनमा चुनौति देखिएको हो ।

नियमित नेपाली पाठ्यक्रममा सहयोगी पुस्तकको रुपमा पाठ्यक्रम तयार गरी ९० मिनेटको कक्षा सञ्चालन गरी विद्यार्थीको पढाइ सीप विकास गर्न चुनौति देखिएको सरोकारवालाले बताएका छन् ।

नेपाली सहयोगी पुस्तकको पाठ्यक्रम अनुसार ९० मिनेटको कक्षा सञ्चालन गर्नुपर्ने भएपनि विद्यालय प्रशासनले सो प्रावधानअनुसार काम गर्न सकेको छैन । पुरानो पाठ्यक्रमअनुसार ४० मिनेटको २ वटा नेपाली विषयको कक्षा सञ्चालन भइरहेकोमा निरन्तर ९० मिनेटको नयाँ पाठ्यक्रम सहितको सहयोगी पुस्तकबाट कक्षा अझै पनि हुन सकिरहेको छैन ।

‘प्रारम्भिक कक्षा पढाइ कार्यक्रममा विषय शिक्षकको इच्छाशक्ति र लगनशीलतामा कमी आउँदा कार्यक्रम सञ्चालन र प्रभावकारी कार्यान्वयनमा चुनौति थपिएको छ ।’ भक्तपुरको राममन्दिरस्थित शान्ति निकेतन माविका प्रअ एवं जिल्ला ईजिआरपी समन्वय समितिका सदस्य महेन्द्रगोपाल कर्माचार्यले भने ।

१ कक्षादेखि ३ कक्षाका विद्यार्थीको पढाइ सीप, बुझाइको क्षमता, ग्रहण गर्ने स्वरुप अभिवृद्धिका लागि मन्त्रालयले भक्तपुरका ४० विद्यालयलाई रु. दुईलाखका दरले शैक्षिक सुधार अनुदान दिँदा समेत कार्यक्रमले अपेक्षाकृत सफलता पाउन सकेको छैन ।

कार्यक्रमअन्तर्गत विषय शिक्षक, स्रोतव्यक्ति, विद्यालय निरीक्षक, विव्यस पदाधिकारी, अभिभावक शिक्षक संघका पदाधिकारी र प्रधानाध्यापकको क्षमता अभिवृद्धिका लागि रकम खर्च गरे पनि कार्यक्रमको मर्म अनुसार कुनै पक्षले काम गर्न नसकेको सरोकारवालाहरु बताउँछन् ।

‘यूएसआईडीले खन्याएको रकममा सबैको आँखा गएको छ तर कार्यक्रमको मर्मअनुसार कोहीले पनि काम भने गरेको छैन ।’ सुडालस्थित पञ्चकन्या माविको विव्यसका अध्यक्ष केशब तिमल्सिनाले भने । उनले कार्यक्रमले प्रारम्भिक कक्षाका विद्यार्थीको पठन क्षमता बढाउने भएपनि पढाउने शिक्षकदेखि, शिक्षकलाई उत्साहित बनाउने पठन उत्प्रेरकसमेतले आफ्नो भूमिका खेल्न कञ्जुस्याइँ गर्दा समस्या भएको बताए ।

पठन उत्प्रेरक आफ्नो विद्यालय छोडेर अन्यत्रको विद्यालयका शिक्षकलाई सहयोग गर्न जाने गरेको तर सो अनुसार उत्प्र्रेरकले शिक्षकलाई उत्प्रेरणा दिन नसकेको वागीश्वरी माविका सहायक प्रअ ज्ञानसागर प्रजापतिले भने ।

कार्यक्रमअन्तर्गत  जिल्ला संयोजक सुनिता शाक्यले पनि कार्यक्रमको प्रभावकारी कार्यान्वयनमा समस्या भएको स्वीकार्छन् । उनले  जिल्लाका १ स २७ सामुदायिक विद्यालयमध्ये विद्यार्थी संख्या र विद्यार्थीले नेपाली, अँग्रेजी, विज्ञान, गणित  सामाजिक विषयमा प्राप्त गरेको प्राप्तांकका आधारमा मूल्यांकन गरी विद्यालयलाई अनुदान दिइएको जानकारी दिइन् ।

सो अनुदानबाट विद्यालयले शैक्षिक सामग्री खरीद, शैक्षिक खेल सामग्री, कक्षाकोठा सजावट, विद्यालयको कक्षा १ देखि ३ सम्मका कक्षाका विद्यार्थीलाई आकर्षित गर्ने पठन सामग्री खरीद गर्ने प्रावधान रहेपनि सो अनुसार विद्यालयले काम नगर्दा समस्या बढेको जिशिअ अर्जुन रायमाझीले बताए ।

 

प्रतिक्रिया