Edukhabar
सोमबार, १७ बैशाख २०८१
अन्तैवाट

राजर्षि जनक विश्वविद्यालय विधेयक पारित

शुक्रबार, २७ असोज २०७४

काठमाडौं २७ असोज/संसद्को बिहीबारको बैठकले राजर्षि जनक विश्वविद्यालय विधेयक पारित गरेको छ । यो विधेयक पारित भएसँगै मुलुकमा विश्वविद्यालयको संख्या ११ पुगेको छ । अब हरेक प्रदेशमा कम्तीमा एउटा विश्वविद्यालय भएको छ ।

मैथिल कला र संस्कृतिको संरक्षण, संवद्र्धन गर्दै स्थानीय आवश्यकताअनुसार कला, विज्ञान, चिकित्साशास्त्र, कृषि, वन, आयुर्वेद, कानुन, व्यवस्थापन, शिक्षा, प्राच्य दर्शन, प्राविधिक, व्यावसायिक विषयमा अध्ययन, अध्यापन गराउन पाउने गरी संसद्ले विधेयक पारित गरेको हो । विश्वविद्यालयको स्थापना र सञ्चालनमा सरकारको लगानी हुनेछ । विश्वविद्यालयको कार्यालय जनकपुरमा हुनेछ । विश्वविद्यालयले कला, विज्ञान, चिकित्साशास्त्र, इन्जिनियरिङ, कानुन, व्यवस्थापनलगायतका विषयमा अनुसन्धान गर्न अनुसन्धान केन्द्रको स्थापन गर्न सक्ने विधेयकमा उल्लेख छ । यो विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि लागू हुनेछ ।

यसअघि प्रदेश २ बाहेक सबैमा विश्वविद्यालय स्थापना भइसकेको थियो । प्रदेश ३ मा सबैभन्दा बढी ४ वटा विश्वविद्यालय छन् । प्रदेश १ मा पूर्वाञ्चल विश्वविद्यालय, प्रदेश ३ मा त्रिभुवन विश्वविद्यालय, काठमाडौं विश्वविद्यालय, कृषि तथा वन विश्वविद्यालय, खुला विश्वविद्यालय छन् । खुला विश्वविद्यालय भने पूर्ण रूपमा सञ्चालन हुन सकेको छैन । प्रदेश ४ मा पोखरा विश्वविद्यालय, प्रदेश ५ मा लुम्बिनी बौद्ध विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, प्रदेश ६ मा मध्यपश्चिम विश्वविद्यालय र प्रदेश ७ मा सुदूरपश्चिम विश्वविद्यालय छन् ।

कान्तिपुरमा प्रकाशित खबर ।

प्रतिक्रिया