Edukhabar
मंगलबार, ३० बैशाख २०८२
विचार / विमर्श

परीक्षा : बन्द कोठामा कि किताब पढ्दै

मंगलबार, ०२ माघ २०७४

खुला पुस्तक परीक्षाको सान्दर्भिकता

‘परीक्षा मर्यादित बनाउन खुला किताबी परीक्षा गर्ने गराउने प्रबन्ध गरिनुपर्छ । चोरीलाई मर्यादित चोरीमा बदल्न विद्यार्थीलाई भर्ना हुनासाथ अनिवार्य रुपले उद्धरण लेख्ने तथा प्यारफ्रेज गर्ने तरिका सिकाउनुपर्छ’ भन्ने अवधारणा उच्चस्तरीय शिक्षा आयोगको प्रारम्भिक प्रतिवेदनमा परेपछि खुला पुस्तक परीक्षाले विशेष चर्चा पाउदै आएको छ ।  यद्यपि यो नौलो अवधारण होइन ।

परीक्षाका मूलत ३ उद्देश्य हुन्छन् :

१. सिकारुको सिकाइको स्थिति पहिचान गर्ने,

२. सिकाइमा सुधारको आधार वा थप सिकाइको अनुमति तय गर्ने

३.निजको शैक्षिक स्तरको प्रमाणिकरण गर्ने ।

मूलतः यी तीन कारणले परीक्षाका विविध तौर तरिका परम्परादेखि नै प्रचलनमा छन् ।  लिखित, मौखिक वा प्रयोगात्मक जुनसुकै स्वरुपका भएपनि परीक्षा र मूल्याङ्कन प्रक्रियाले सिकारुमा रहेको ज्ञान, सिप वा अभिवृतिगत पक्षको गहिराइ वा अभ्याजन्य स्तरको पहिचान गर्दछ । यसरी पहिचान भएको स्तरका आधारमा निजको स्तराङ्कन गरी उचित उपयोगको अवसर खोज्न प्रोत्साहन वा अनुमति प्राप्त हुन्छ । यस्तो स्तरलाई सङ्केत गर्दा अङ्क वा प्रतिशतमा आधारित भए अङ्काङ्कन र अक्षर ग्रेडमा आधारित भए अक्षराङ्कन भन्ने गरिएको हो ।
हामीले परीक्षा भन्नासाथ परीक्षणका लागि सोधिएका प्रश्नहरुको निर्देशनमा रहेर कडा र बन्द कोठामा वसी आफूले बुझेको, घोकेको वा चोरेको विषयवस्तु लिखित वा मौखिक रुपमा अभिव्यक्त गर्ने पद्दति बुझ्दै आएका छौँ । यसैले गर्दा पनि हालसम्म निरन्तर विद्यार्थी मूल्याङ्कन पद्धतिलाई सहज रुपमा कार्यान्वयन गर्न सकिएको पाइन्न । कक्षा चढाउन वा जाने नजानेको छुट्याउन लिखित परीक्षाको भर पर्नै पर्ने मानसिकतामा परिवर्तन गरी विद्यार्थीका विविध सिर्जनात्मकता, प्रस्तुतीकरणको शैली र स्रोत साधन युक्त अवस्थामा उसले देखाउन सक्ने प्राज्ञिक कला वा विशिष्ठ भिन्नता खोज्नु अबको मूल्याङ्कनको अपेक्षा रहनु पर्दछ ।

परियोजना कार्यका रुपमा यो पद्धतिलाई पाठ्यक्रमले विगतदेखि नै स्वीकार गरेको छ । आन्तरिक मूल्याङ्कन वा प्रयोगात्मक परीक्षणका नाममा विद्यार्थीको क्षमता पहिचान गरी उचित मूल्याङ्कन गर्ने स्वतन्त्रता शिक्षकलाई दिइएको छ । विभिन्न तहका स्तरीकृत परीक्षामा पनि यस्तो मूल्याङ्कन पद्धतिबाट प्राप्त नतिजालाई समावेश गरी मान्यता प्रदान गरिदै आएको छ । खुला किताबी परीक्षा पद्धति नेपालमा पनि गुरुकुल शिक्षाको समयमा अप्रत्यक्षरुपमा कार्यान्वयनमा रहेको मान्ने गरिन्छ । निरन्तर मूल्याङ्कन पद्धतिबाट प्राप्त नतिजाका आधारमा नै कक्षोन्नतिको अवसर दिइनु र खुला पुस्तक परीक्षा सञ्चालन गरी सिकारुको स्तरीकरण गर्नुको सैद्धान्तिक पक्ष उस्तै हो भन्न सकिन्छ ।

तल्ला कक्षामा निरन्तर मूल्याङ्कन पद्धति र माथिल्ला कक्षाहरुमा निरन्तर मूल्याङ्कन पद्धतिसँगै खुला पुस्तक परीक्षा पद्धतिको प्रयोग गरी वस्तुगत मूल्याङ्कनको लक्ष्य नजिक पुग्न सकिन्छ । सामान्यतः खुला पुस्तक परीक्षामा विद्यार्थीका नोटहरु, सान्दर्भिक अध्ययन सामग्री तथा पाठ्य पुस्तकहरु तथा क्यालकुलेटर जस्ता साधनको प्रयोग खुला गर्न सकिन्छ । यसै गरी कुनै समस्या समाधानका लागि विद्यार्थीलाई पुस्तकालयमा नै पठाएर पुस्तकहरुमा के पाइयो र आफ्नो निष्कर्ष के हो ? भन्ने उत्तर खोज्न सकिन्छ । यस पद्धतिले विद्यार्थीमा उत्तर खोज्ने कला र प्रस्तुतिकरण सीपसँगै समस्या समाधानको प्राप्ति जस्ता आधारमा नम्बर दिन सकिन्छ ।

खुला पुस्तक परीक्षा सामान्यत: ३ स्वरुपमा अभ्यास गर्न सकिन्छ :

१. परम्परागत रुपमा जस्तै परीक्षा कक्षमा बसाइ व्यवस्थापन गर्दै सिमित समय दिने तर स्रोत तथा सन्दर्भ सामग्री खुला गर्ने

२. प्रश्न दिने कसैको सहयोग नलिई परीक्षा कक्ष बाहिर घर वा अन्यत्र रहेर तयार गरी तोकिएको समयमा उत्तर पेस गर्ने

३. पुस्तकालय वा यस्तै विविध स्रोत तथा सन्दर्भ सामग्री भएको स्थानमा परीक्षार्थीहरुलाई प्रश्न दिएर आफ्नो उत्तर तोकिएको समयमा तयार गरी पेस गर्ने । यस्तो कार्यमा शिक्षकको प्रत्यक्ष निरीक्षण रहन वा नरहन सक्ने ।

यसरी तयार पारिएको उत्तरलाई सिकारुको स्तर र परीक्षणको अपेक्षा अनुसार प्रस्तुतीकरण गराउन पनि सकिन्छ । यस्तो परीक्षा एकल वा समूहमा आधारित दुवै हुन सक्दछ । यस्तो परीक्षा एकीकृत वा विषयगत दुवै किसिमका पाठ्यक्रममा आधारित हुन सक्दछ ।
यस्तो परीक्षा पद्धतिले सामान्यतः स्मरणको मूल्याङ्कन गर्न सक्दैन । यसले व्यक्तिको समस्या समाधान गर्न सूचना वा आवश्यक तथ्याङ्कको सङ्कलन र उपयोग गरी सुंगसङ्ठित रुपमा प्रस्तुतीकरण वा  प्रयोग गर्ने क्षमताको मापन गर्न सक्दछ । तसर्थ यस्तो परीक्षाका प्रश्नहरुले ज्ञान अन्वेषण गर्ने, ज्ञानको अभ्यास गर्ने र समस्याको समाधान गर्ने क्षमताको खोजी गर्न सक्नु पर्दछ । तसर्थ लामो उत्तरात्मक, समस्या समाधान मूलक र घटना अध्ययन वा परिस्थिति जन्य विषयमा प्रतिवेदन तयार गर्ने प्रकृतिको हुनु उपयुक्त हुन्छ ।

खुला पुस्तक परीक्षाको मुख्य उद्देश्य घोकन्ते विद्यालाई निरुत्साहित गर्दै अभ्यास र अनुभवमा आधारित प्रायोगिक र परिस्थितिको सामना गर्न सक्ने क्षमताको प्रवर्धन तर्फ केन्द्रित हुन सक्नु पर्दछ । यसले किताबी ज्ञानमा केन्द्रित सिकाइ र  कोरा पुस्तकमा आधारित मूल्याङ्कन प्रवृत्तिलाई निरत्साहित गर्न खोज्दछ । नेपालमा यसको अभ्यास गर्ने हो भने हामी सबैले ख्याल गर्नु पर्दछ कि अभ्यासकर्ताको लगाव र व्यवस्थापकीय प्रतिवद्धतामा यसको सफलता वा असफलता निर्भर गर्दछ ।

शिक्षा मन्त्रालयका उपसचिव गौतम, परीक्षा नियन्त्रण कार्यालयका उप नियन्त्रक हुन् ।

प्रतिक्रिया