भक्तपुर - पाठ्यपुस्तकबाट मात्रै पढाइ सम्भव छ भन्ने मान्यतालाई भत्काएर खेल्दै, रमाउँदै पनि विद्यार्थीले सिक्न सक्छन् भन्ने धारणा विकास गर्न सञ्चारकर्मी हरिसुन्दर छुकांको बाल कविता सङ्ग्रह ‘चित्रजस्तो देश’ प्रकाशित गरेका छन् । कक्षा ३ देखि १० का विद्यार्थीलाई लक्षित गरी लेखिएको उक्त कविता संग्रहमा बालबालिकालाई सामाजिक घुलमिल गराउन आवश्यक पक्ष देखि कक्षा कोठामा दिनु पर्ने ध्यानसम्मका विषय समेटिएका छन् ।
पोषणको महत्व देखि विज्ञान, वातावरण र प्रकृतिका विषय सरल भाषामा ब्यक्त गरिएको उक्त संग्रहमा समेटिएको ‘घुम्न जाऔं न लौ’ शिर्षकको कविताले घुम्न जानुको फाइदा सँगै आफू घुम्न गएको ठाउँको वर्णन गर्न सिकाएको छ । ‘क–कलम’ शिर्षकको कविताले किन लेख्नुपर्छ ? भन्ने सन्देश, ‘जानी राखे राम्रो र भिटामिनका मूल ’ शिर्षकको कविताले किन र कसरी स्वस्थ हुन सकिन्छ ? भन्ने उपाय समेत सिकाउँछ ।
साथी र शिक्षकहरुसँग गर्नु पर्ने व्यवहारलाई संग्रहमा समेटिएको ‘असल बन्छु म’, ‘कख पढ’, ‘गुरु’, ‘म को हुँ ?’ शिर्षकको कविताले प्रष्ट बनाएको छ । कविता सङ्ग्रह भित्र समेटिएका कवितामा शान्ति क्षेत्रका कुरा मात्र नभएर देश, समाजका कुरालाई विद्यार्थीले बुझ्ने गरी सरल भाषामा लेखिएको छ । बाल मनोविज्ञानलाई केन्द्रमा राखेर बालबालिकाहरुले बढी मन पराउने विषयलाई कविताको माध्यमबाट लेख्ने प्रयास गरेकोले उक्त संग्रह शिक्षण क्रियाकलापमा प्रयोगमा ल्याउँदा फाईदा हुने कविले अपेक्षा गरेका छन् ।
‘बालबालिकाहरुलाई साहित्यको एक विधा कविता पढ्न, लेख्न उत्साहित गर्न सकिन्छ कि भन्ने उद्देश्य पनि हो, त्यो भन्दा धेरै त सिकाइलाई विद्यार्थीको रुचीसँग जोड्न सकिन्छ की भन्ने प्रयास पनि हो' कवि छुकांले भने, 'एकांकी तरिकाले पढाउँदा विद्यार्थी दिक्क मान्ने हुँदा रमाईलो गर्दै सिकाउन शिक्षण क्रियाकलापमा सहयोगी पनि बन्न सक्छ ।’
बाल साहित्यले बालबालिकालाई चरित्रवान् र नैतिकवान बनाउन सघाउने भएकोले संग्रह प्रकाशन गरेको सूर्यविनायक स्थित युथ सोसाइटी फर सोसियल वेलफेयर (वाईएसएसडब्ल्यू) का अध्यक्ष तुल्सीकुमार त्वायनाले बताए ।
‘भोलिको समाजको स्वरुप आजको बालबालिकाले नै निर्धारण गर्ने तथ्यलाई मनन् गरी बालबालिकाहरुलाई उचित दिशा निर्धारण गर्न सघाउने खालका कविताहरुलाई सङ्ग्रहको रुपमा बजारमा ल्याउने काम गरेका हौं’ अध्यक्ष त्वायनाले भने ।
विद्यालयमा अध्यापनका क्रममा आउने विषयहरुलाई नै कविताको रुप दिएको हुनाले बालबालिकाहरुका लागि मात्र नभएर शिक्षकहरुका लागि पनि उपयोगी हुने उनको दावी छ ।
कविता सुनेर, लेखेर हुर्केका बालबालिकाहरु मोबाइलमा झुम्मिने वा साथीहरु भन्दा अलग हुने भन्दा सामाजिकीकरणका दृष्टिले राम्रो हुने अनुभवका आधारमा आफूले बालबालिकालाई केन्द्रित गरी कविता संग्रह प्रकाशन गरेको कवि छुकांले बताए ।
‘अहिलेका बालबालिकाहरु मोबाइल वा सामाजिक सञ्जालमा बढी अभ्यस्त हुन थालेका छन्, कितावमा भन्दा ज्यादा मोबाइलमा रमाउने भएका छन्, मोबाइल बिग्रिए बनाउन सकिन्छ तर मोबाइलले नयाँ पुस्ता बिग्रिए भने कसरी बनाउने ? यही चिन्ता लागेर, कवितामा बालबालिकालाई भुलाउने तरिका अपनाएको हुँ’ छुकांले भने ।
साना विद्यार्थीलाई पाठ्यपुस्तकमा मात्रै केन्द्रित गर्नु भन्दा शिक्षण सामग्रीको अधिकतम प्रयोग एवं कविता सुनाएर सिकाउने विधि अपनाउँदा सिकाइ उपलब्धिको दर उच्च हुने विभिन्न अध्ययनबाट समेत पुष्टि भईसकेको छ । अझ शिक्षकले आफ्नो अनुकूल हुने गरी लय राखेर पठनपाठन गर्न सके त्यो सिकाइ दीगो र प्रभावकारी हुने बताईन्छ ।
'कविता वा अन्य सृजनात्मक तरिकामा अभ्यस्त बालबालिका एकोहोरो, जिद्दी, घमण्डी स्वभावको नहुने बरु सहयोगी भावनाको, पढाइ तथा कामको महत्व बुझ्ने स्वभावका भएको मैले पाएको छु' छुकांले भने 'त्यस्तो खालको बालबालिका बनाउने काम अभिभावकबाट शिक्षकमा सरेको छ । यसैले शिक्षकले शिक्षक पनि भएर अनि अभिभावक पनि भएर शिक्षण क्रियाकलाप गर्नुपर्ने समय आएको छ ।'
बालसुलभ, छोटो, मीठो र बालबालिकाले चाँडै टिप्न सक्ने खालको कविता मार्फत् सिकाइलाई प्रभावकारी बनाउन सकिन्छ की भन्ने अभिप्रायले यो काम गरेको छुकांले बताए ।
एडुखबरका पूर्व प्रमुख सम्बाददाता छुकांको सो सङ्ग्रह भित्र ४० थान कविता सङ्ग्रहित छन् । संग्रहमा बालबालिकाहरु आफैले पढ्न सक्ने खालका बाल कविताहरु र बालसुलभ चित्रहरु राखिएको छ । सङ्ग्रहको मूल्य १२५ रुपियाँ रहेको छ ।
प्रतिक्रिया