काठमाडौं - त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति डा. गोविन्द शर्माको ७५ वर्षको उमेरमा निधन भएको छ । लामो समय देखि कलेजोको रोगबाट पीडित शर्माको रुसमा निधन भएको हो । छोरीलाई भेट्न रुस गएका बेला उनको बुधबार राती निधन भएको हो ।
उनको अन्त्येष्टि उतै गर्ने तर उनकै ईच्छा बमोजिम हिन्दु परम्परा अनुसार काठमाडौंमा किरिया बस्ने परिवारको तयारी छ । रसीयन महिलासँग विहे गरेका शर्माकी एक छोरी मात्रै छिन् । उनीहरु क्रिश्चियन भएकोले उनका भाईका छोरा संरक्षण शर्माले किरिया बस्ने पारिवारिक श्रोतले जनाएको छ ।
२०६८ सालमा कलेजोले काम गर्न छाडेपछि उनलाई पत्रकार पुरुषोत्तम दाहालकी श्रीमती समेत रहेकी भाञ्जी शान्ता दाहालको कलेजो प्रत्यारोपण गरिएको थियो ।
'आफ्नै मामा त्यस माथि देशलाई योगदान गरेको ब्यक्तिलाई आफ्नो अंग दिएर बचाउन सक्नु मेरा लागि पनि गर्वको कुरा थियो' दाहालले एडुखबर सँग भनिन्, 'सात बर्ष सम्म उहाँलाई बचाउन सकियो त्यही ठूलो कुरा भयो ।'
त्रिवि शिक्षण अस्पतालका पूर्व निर्देशक समेत रहेका वरिष्ठ शल्य चिकित्सक शर्मा उपचार पछि सिनामंगल स्थित केएमसी अस्पतालका निर्देशकका रुपमा कार्यरत थिए ।
तत्कालिन राजा ज्ञानेन्द्रले २०५९ माघ २० गते उनलाई विश्वविद्यालयको उपकुलपतिमा नियुक्त गरेका थिए । ज्ञानेन्द्रको प्रत्यक्ष शासनकालमा उपकुलपति भएका कारण राजनीतिक परिवर्तन सँगै पछिल्लो समय शर्माको सामाजिक जिवन भने ओझेल परेको थियो । उनी २०६३ जेठ २० गते सम्म त्रिविको उपकुलपित रहे । उनका पालामा शिक्षाध्यक्ष महेन्द्र सिंह र रजिष्टार गीताभक्त जोशी थिए ।
फोटो : ईण्टरनेट
प्रतिक्रिया