Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विदेशमा शिक्षा

कन्सल्टेन्सीको ठगीमा परेका विद्यार्थीलाई सम्पर्कमा आउन प्रहरीको आव्हान

बुधबार, ०२ भदौ २०७२

पक्राउ परेका २३ जनाको नाम सहित 

काठमाडौं २ भदौ / तपाईले विदेश अध्ययनका लागि भन्दै कुनै कन्सलटेन्सीमा पैसा बुझाउनु भएको थियो ? कतै तपाईले गैर कानुनी रुपमा सञ्चालन भएका कन्सलटेन्सीमा त पैसा बुझाउनु भएको थिएन ? यदि त्यस्ता गैर कानुनी रुपमा सञ्चालन भएका कन्सलटेन्सीमा पैसा बुझाउनु भएको थियो भने तत्कालै महानगरीय अपराध महाशाखा टेकुमा सम्पर्क गर्न प्रहरीले आव्हान गरेको छ ।

विदेशमा उच्च शिक्षा अध्ययनका नाउँमा ठुलो रकम लिई पठाई दिन्छु भनी ठगीएका वा रकम बुझाई विदेश जान नपाएका वा अध्ययन गर्न जाने क्रममा रहेका सबै सर्वसाधारण एवं विद्यार्थीहरुलाई महानगरीय अपराध महाशाखा टेकु काठमाण्डौमा अविलम्ब सम्पर्क राख्न समेत आह्वान गरेको छ ।

साईप्रस, क्यानाडा, अष्ट्रेलिया, जापान लगायतका देशमा रोजगारी दिलाई दिने प्रलोभन देखाई विद्यार्थी एवं सर्वसाधारणबाट १२ देखि १५ लाख रुपैयाँ लिने गैर कानुनी रुपमा सञ्चालन भएका विभिन्न कन्सलटेन्सीका २३ जना सञ्चालकलाई प्रहरीले मंगलबार पक्रेको थियो । ति कन्सलटेन्सीबाट प्रहरीले विद्यार्थीहरुको राहदानी, विभिन्न कार्यालयका छाप पनि बरामद गरेको छ ।

पक्राउ परेका विभिन्न कन्सलटेन्सीका २३ जना संचालक मध्ये ११ जनालाई महानगरीय प्रहरी परिसर टेकुमा, ४ जनालाई प्रहरी बृत्त गौशालामा, २ जनालाई प्रहरी बृत्त बानेश्वरमा र ५ जनालाई महानगरीय प्रहरी परिसर ललितपुरमा राखिएको प्रहरीले जनाएको छ । उनीहरुले शिक्षा मन्त्रालय शैक्षिक परामर्श तथा प्रमाणिकरण शाखा एवं सम्बन्धित निकायमा दर्ता नै नभई गैर कानूनीरुपमा कन्सलटेन्सी संचालन गरी सर्वसाधारण बेरोजगार युवा एवं विद्यार्थीबाट  ठुलो मात्रामा रकम लिई ठगी गरेको प्रहरीले जनाएको छ ।

प्रहरीले गोप्य सूचनाका आधारमा विभिन्न कन्सलटेन्सीमा छापा मारेर संचालकलाई पक्रेको हो । उनीहरु बिरुद्ध ठगी मुद्धामा अनुसन्धान गरी कारवाही गरिने प्रहरीले जनाएको छ । 

प्रहरीले ग्रिन माउन्टेन कन्सलटेन्सी कुपण्डोलका संचालक राजेन्द्र पोखरेललाई पक्राउ गरी २५ थान पासपोर्ट समेत बरामद गरेको छ । यस्तै फोरटुयन इजुकेशन कन्सलटेन्सी कुपण्डोलबाट ४ थान पासपोर्ट सहित संचालक विजयकुमार बस्नेत, सि ए सि नेपाल लगनखेलका विरेन्द्र बज्राचार्य, सुभारु कन्सलटेन्सी लगखेलबाट ६ थान पासपोर्ट सहित संचालक अन्जन कुमार थापालाई पक्रेको छ ।

यस्तै न्यूम्यान कन्सल्टेन्सीकी रश्मी श्रेष्ठ, बागबजारमा रहेको ए टु जेड इन्सिच्युट एण्ड कन्सलटेन्सीका शिब अर्याल, सिक्यास व्रिज तु स्टडी इन चाईना ग्लोवल सेन्ट्रल इजुकेशन कन्सलटेन्सीका डाक्टर एरिस उप्रेती, क्यानोन इन्टरनेशनलका लोकेन्द्र सुवेदीलाई पक्रेको छ ।

प्रहरीले बागबजारमै रहेको ओइसिस माईग्रेसन कन्सलटेन्सीका राम थापा, सुब्लिमी इजुकेशन कन्सलटेन्सीका समर शाह, थिन्क इजुकेशन कन्सलटेन्सीका जीवन थापा र सुदिप चन्द्र पारेल, मिराज जापानिज ल्याङवेज कन्सलटेन्सीका सुदिप पराजुली, निक इजुकेशन ल्याङवेज पुतलीसडकबाट ७ थान पासपोर्ट, ७ थान विभिन्न कागजात सहित संचालक दामोदर शर्मा, वेभ इन्टरनेशनल पुतलीसडकका दिपक पुडासैनीलाई पक्रेको छ । यस्तै बानेश्वरबाट इडिफी इजुकेशनल कन्सलटेन्सीका ऋषि थपलिया, ग्लोइडियु हबकी सपना पौडेल, पेस्कल टेच्नो इजुकेशनल कन्सलटेन्सीका देवकृष्ण केसी, चावहिलबाट सेक्यूरेड लाइफ इन्टरनेशल ग्रुपका रामचन्द्र के.सी., लोटस फ्लावर इनटरनेशनलका ज्ञानन्द्र सिंखडा, लोटस फ्लावर इनटरनेशनलकै शिशिर वाग्ले, कमलादीबाट मिसन अल इजुकेशनल कन्सलटेन्सीका प्रभात श्रेष्ठ पक्राउ परेका छन् ।

यस्तै चावहिलमा संचालित स्क्वार्ड इजुकेशनल एण्ड रिर्सज सर्भिसका किरण अधिकारी र पुतलीसडकमा रहेको इष्ट वेष्ट जापानिज ल्याङवेज एकेडेमीबाट २७ थान पासपोर्ट, १९ थान विभिन्न कार्यालयको सरकारी छाप सहित संचार रोशन गुरुङ्गलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यो पनि पढ्नुहोस् ।

दर्ता विना सञ्चालित शैक्षिक परामर्श संस्थालाई कारवाही गर्न मन्त्रालयद्धारा पत्राचार

प्रतिक्रिया