Edukhabar
शनिबार, १५ बैशाख २०८१
विदेशमा शिक्षा

लाखौं रकम असुलेर वेपत्ता भएपनि फेरी नयाँ कन्सल्टेन्सि

विहीबार, १४ साउन २०७२

पर्सा १४ साउन / विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श दिने भन्दै वीरगञ्जमा खुलेका कन्सल्टेन्सि मध्ये १० वटाका सञ्चालकले विद्यार्थीबाट लाखौं रकम असुलेर वेपत्ता भएपनि यो बर्ष फेरी नयाँ कन्सल्टेन्सि थपिएका छन् । यो बर्ष मात्रै वीरगञ्जमा १८ वटा नयाँ कन्सल्टेन्सि थपिएका छन् । वीरगञ्जमा अहिले २१ वटा कन्सल्टेन्सि सकृय छन् । यीमध्ये कतिवटा वैधानिक रुपमा सञ्चालनमा छन् भन्ने यकीन जानकारी जिल्ला शिक्षा कार्यालयसँग पनि छैन ।

तडकभडकपूर्ण बजारीकरण, वातानुकुलित होटलमा शिक्षा मेला, सेमिनार आदिको आयोजना गरि उनीहरु विद्यार्थीलाई फकाउन ब्यस्त भेटिन्छन् । कमिसनको लोभमा ट्युशन पढाउने भनेर  खोलिएका ईन्ष्टिच्युट संचालकले पनि विद्यार्थीलाई भारतीय कलेजमा पठाउनु पर्ने बताउँदै आएका छन् । स्वदेशममै सम्भावना भएका विषयहरुको समेत सम्भावना छैन भन्दै उनीहरु विद्यार्थी र तिनका अभिभावकलाई फकाउन ब्यस्त छन् । उनीहरु मध्ये अधिकाँशले विद्यार्थीलाई भारतको कलेजमा पु¥याउने काम गर्छन् ।

कमिशनको खेलमा शिक्षाको व्यापारिकरण निकै घातक हुने विद्यार्थी नेता दिलिप राज कार्कीले बताए । स्थानीय कलेजहरुमा विद्यार्थीको अभाव छ भने तोकेको भन्दा अतिरिक्त शुल्क तिरेर नेपाली विद्यार्थी भारतका विभिन्न कलेजमा पुग्ने गरेका छन् ।

दक्ष जनशक्ति संगै नेपाली रुपैया पलायन हुनु देशका लागि दुर्भाग्यपूर्ण रहेको शिक्षा एवं अर्थविद एन्दु शेखर मिश्र बताउँछन् ।  प्रभावकारी अनुगमनको अभावले यस्ता एजेण्ट सकृय भए पनि अबैध व्यापारलाई अंकुश लगाउन सरोकारवाला निकाय बीच तालमेल समेत छैन ।

जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले यसको नियमन गर्ने काम जिल्ला प्रशासनको भएको बताउँछन् । तर, प्रमुख जिल्ला अधिकारी केशराज घिमिरेले भने यसको अनुगमन जिल्ला शिक्षा कार्यालयले नै गर्नु पर्ने र अनुगमनका क्रममा शान्ति सुरक्षा दिने काम मात्रै प्रशासनको भएको बताए ।

प्रतिक्रिया