संविधानमा भएको निःशुल्क र अनिवार्य आधारभूत शिक्षाको हकको मानमर्दन गर्दै राजनीतिक दलका नेताहरू विद्यार्थी भर्ना अभियानका नाममा मानार्थ अभिभावक बन्ने दौडमा ब्यस्त छन् । वैशाख पहिलो साताबाटै देशव्यापी रूपमा शुरु भएको उक्त अभियानका खबरले सञ्चार माध्यमहरू भरिभराउ भै रहँदा म नेपाल सरकारको स्थायी शिक्षक राजीनामा लेखिरहेको छु !
नीजि स्रोत, अस्थायी (लियन), राहत हुँदै २०७२ सालको माघ महिनामा स्थायी शिक्षकको रुपमा सेवा प्रवेश गर्दा म मा छुट्टै उर्जा थियो । सामुदायिक विद्यालयका यी चार थरी शिक्षक हुनुपूर्व अरू चार वटा नीजि विद्यालयमा शिक्षण गरेको अनुभव थियो । यस्तो लागेको थियो, जहाँ पुग्छु केही पक्कै गरेर देखाउँछु । तर सत्ताईस महिनाको यो अवधि जागीर खानु सिवाय अर्को केही गर्न सकिएन । यो स्वीकारोक्ति हो । यसो भनिरहँदा बितेको सत्ताईस महिनामा नमिलेको आत्मसन्तुष्टि मिलिरहेको भुलेको भने छैन ।
जागीरबाट राजीनामा दिने प्रसङ्ग चलिरहँदा धेरैको एउटै प्रश्न – ’किन छोड्नुपर्यो हुँदा खाँदाको सरकारी जागीर ?’
हो, म यही प्रश्नको जवाफ दिने प्रयास गर्दैछु ।
आर्थिक पाटो
जागीर किन छोड्ने भन्दा पहिलो कुरा जागीर किन खाने ? भन्ने नै हो । समाजसेवा मात्रैका लागि कोही पनि जागीरे हुन रुचाउँदैन । आजको दैनिकी र भोलिको भविष्य सुनिश्चित होस् भन्नका लागि हो जागीर । नेपालमा शिक्षणमै लागेर यी दुबै कुरा कम्तिमा अहिलेको अवस्थामा सम्भव छैन ।
चौमासिक पर्खिएर बस्नु पर्दाको पीडा कस्तो हुन्छ ? सबै शिक्षकहरूले भोगिरहेकै छन् । बिजुली, पानी, टेलिफोन, इण्टरनेट मासिक रुपमा भूक्तानी गर्नुपर्छ । महिना पुगेको भोलिपल्ट जरिवाना लागिसकेको हुन्छ । अनि यो देशका 'मास्टर’ले अझै 'ज्याला’ थाप्न चार महिना कुर्नुपर्छ । सरकारले ’यो पेशाका मानिसले चार महिनामा भुक्तानी गरे हुने’ व्यवस्था गर्न सक्दैन । वर्षमा नौ महिना ऋण सापटीका लागि हात फैलाउन कतिको आत्म सम्मानले दिन्छ, थाहा छैन ।
सामाजिक प्रतिष्ठा
एउटा माध्यमिक तहको शिक्षकको हैसियत भनेको शाखा अधिकृतको हो, तर सरकारको तलबका हिसाबले मात्र । सुविधाका हिसाबले कहिँ कतै त्यसको एक छेउ पनि पुग्दैन । हाम्रो आजसम्मको नियति भनेको निजामती सेवाका खरदारको खटनमा माध्यमिक तहको प्रथम श्रेणीको शिक्षकले हस् ! भनेर हिँड्नुपर्ने नै हो । जबकी माध्यमिक तहको प्रथम श्रेणीको शिक्षकलाई सरकारले सहसचिव सरहको तलबको व्यवस्था गरेको छ । समान तलब दिने सरकारले सो सरहको सुविधा कुन व्यवस्थामा दिन्छ ? यदि समान तहको ’सम्मान’ दिन सकिँदैन भने तलब कुन आधारमा बराबरी दिइएको हो ? यसको जवाफ कहिँकतैबाट आउँदैन ।
“समान तहमा शिक्षक र निजामती भन्न मिल्दैन । शिक्षक सेवा (आयोग) पास गर्न दुई तीनवटा किताब काफी हुन्छ । त्यही रट्दा सबै त्यहीँबाट प्रश्न आउँछ तर निजामतीमा विश्व ब्रह्माण्ड लाखौँ करोडौँ कुरा पढ्दा पनि पर्याप्त हुन्न ।“
निजामती कर्मचारीहरू शिक्षकलाई कुन नजरले हेर्छन् भन्ने केही समय अघि एकजना निजामती कर्मचारीले फेसबुकमा लेखेको यो अभिव्यक्तिले स्पष्ट हुन्छ । किताबबाट उम्केर व्यवहारमा हाम्रो मानसिकता कहिले आउँछ ?
नीति
सबै शिक्षक झण्डा बोक्दैनन् । हजारौँ त्यस्ता शिक्षक राष्ट्रिय उद्देश्य हासिल गराउन र भोलिको सबल एवम् सम्पन्न मुलुकको आधारशीला खडा गर्ने कर्णधार उत्पादन गर्न कार्यक्षेत्रमा खटिएका छन् ।
समाजमा यी पक्षको खोजी कहिल्यै हुँदैन । सबैको नजरमा पार्टीको झोला बोकेर सदरमुकाममा सुस्ताइरहेकाहरू मात्रै पर्छन् ।
यहाँ शिक्षक पूर्ण निर्दोष होइन । तर सबै कुरा थाहा पाएका हाम्रा नीति निर्माताहरू किन यसको समाधानका लागि उपयुक्त वातावरण बनाउन सक्दैनन् । स्थायी, अस्थायी, करार, लियन, राहत, अनुदान, इसिडि, पिसिएफ, नीजि स्रोत, यी अनेक बहानामा कार्यकर्ता भर्ना गरेर शिक्षकलाई विभाजित गरिरहने नीति राज्यले अन्त्य गर्नुपर्छ । बीसौं वर्षदेखि योग्यता नहुँदा नहुँदै पनि झोला भिरेकै आधारमा ’मास्टरी’ गरिरहेकाहरूलाई जोगाउने खेलमा लाग्दा योग्यहरू समेत घानमा परिरहेका छन् । पछिल्लो समय बारम्बार स्थगित भैरहेको अस्थायी शिक्षकको परीक्षा यसैको निरन्तरता हो । यो क्रमको निरन्तरतामा कार्यकर्ता भर्तीले थप प्रश्रय पाइरहेको छ ।
यो तीतो यथार्थ हो, मेरो राजीनामा स्वीकृत हुँदा नहुँदै राजनीतिक दलका स्थानीय टाउकाहरू ’अब कस्तो योग्यताको शिक्षक ल्याउने ?’ होइन कि ’अब कुन कार्यकर्ता भर्ती गर्ने ?’ भन्ने वार्ता शुरु गरिसकेका हुनेछन् । हाम्रो शैक्षिक प्रणालीमा चलखेल गर्न सकिने प्रशस्त ठाउँ छ । यसका केही उदाहरण हेरौँ :
– विद्यालय १ मा दुई वर्ष अघि एउटा आठ कक्षासम्म अध्यापन हुने विद्यालयमा निम्न माध्यमिक तहको गणित विषयको पद रिक्त भयो । पहिलो पटकको विज्ञापनमा सो विषयको शिक्षकका लागि आवेदन परेन । सो क्षेत्रमा पकड राख्ने राजनीतिक दलका कार्यकर्ता सैद्धान्तिक विषय अध्यापन गर्ने योग्यता पुगेका थिए । सोही अनुरुप शिक्षा कार्यालयबाट विषय परिवर्तन गरियो र नियुक्ति पनि । नतिजाः प्राविधिक विषय शिक्षकको अभावमा सो विद्यालयका आठ कक्षामा पढ्नुपर्ने विद्यार्थी दुई घण्टा टाढा अर्को विद्यालयमा पढिरहेका छन् ।
– विद्यालय २ मा ६ महिना अघि एकजना शिक्षकले राजीनामा दिए । अर्को शिक्षक स्थानान्तरण गरी ल्याउने सन्दर्भमा व्यवस्थापन समितिमा रहेका फरक दलका कार्यकर्ताबीच सहमती जुट्न सकेन । दुबैको अडान कायम रहिरह्यो । नतिजाः पछिल्लो ६ महिना सम्बन्धित विषय नपढीकनै विद्यार्थी वार्षिक परीक्षामा सहभागी भए । आश्चर्य – उनीहरू उत्तीर्ण भए !
आत्मसन्तुष्टी
तपाईँको प्रश्न – “के छ खबर ?“
मेरो जवाफ – “ठीकै छ ।“
तपाईँ आफ्नो बाटो लाग्नुहुन्छ । म आफ्नो बाटो लाग्छु ।
वास्तविकता – मलाई शरीरमा फुर्ती नभएको, मनमा शान्ती नभएको, परिवारमा मेल नभएको जे पनि हुनसक्छ । तपाईँलाई जे जवाफ दिए पनि मैले आफैँलाई त ढाँट्न सक्दिन ।
बितेका सत्ताइस महिनामा कक्षामा पुगेर पढाइरहँदा वा परीक्षाको नतिजा सार्वजनिक गरिरहँदा आफैँमा आत्मसन्तुष्टी कहिल्यै मिलेन । यसो हुनुमा अनियमित हुने विद्यार्थी, विद्यार्थीको उपलब्धी प्रति उदासिन अभिभावक वा नीति निर्माण र निर्देशनको तहमा बसेका मात्रै जिम्मेवार छैनन् । नीजि विद्यालयमा अध्यापन गरिरहँदा ७० प्रतिशत भन्दा माथि सिकाई उपलब्धी हासिल गराउन सक्षम मेरो विषयगत उपलब्धी यहाँ ४० पुग्न धौ धौ हुनुमा म आफैँ पनि दोषी छु ।
औपचारिक रूपमा शिक्षक त्यतिबेला बनेँ जब भर्खरै एसएलसी सकेर उच्च माध्यमिक तहको विद्यार्थी बनेको थिएँ ।
यो कुरा २०५८ साल मङ्सीरको हो । त्यतिबेलादेखि यहाँसम्म आइपुग्दा बीचका केही वर्षलाई छोडेर सम्पूर्ण समय यही क्षेत्रमा बिताएको छु । यस बिचमा मैले बुझेको यति नै हो – जबसम्म ’आज केही सिकाउन सकेँ’ भनेर गर्वका साथ कक्षाबाट बाहिरिन सक्दिनँ, शिक्षण भएकै छैन । यस मानेमा म पछिल्लो समय सधैँ असफल शिक्षक नै बनेको छु । भलै मेरा विद्यार्थीको नतिजामा त्यो नदेखिएला तर मेरो पेशागत मर्यादालाई त्यहीँनेर मैले उल्लङ्घन गरेको छु । नेपालका ग्रामीण क्षेत्रका अधिकांश विद्यालयमा हुने गरेको यही हो । म बारम्बार मेरा अभिभावकलाई ढाँट्न सकुँला, नियामक निकायलाई ढाँट्न सकुँला तर मैले मलाई नै त सक्दिनँ !
शिक्षण बाहेक गर्न सकिने अरू धेरै विकल्प हुँदा हुँदै यहीँ केही गरौँ भन्ने सोच थियो । शिक्षण वास्तवमै सजिलो छैन ।
यो एक असफल शिक्षकको राजीनामाको सुरुवात हो । यहाँ मेरो जस्तै मानसिकताका अरु धेरै छन् । यो देशका नीति निर्माताहरूले, सामुदायिक विद्यालयका विद्यार्थीको अभिभावकत्व लिएर आफ्नै विज्ञापन गरिरहेकाहरूले, आम अभिभावकले ती शिक्षकहरूलाई विद्यालयमा टिकाइराख्न सकून् ।
शुभकामना !
२०७२ सालमा शिक्षक सेवा आयोग पास गरेर निमावि तहमा अँग्रेजी शिक्षकका रुपमा नियुक्त श्रेष्ठ राजीनामा गर्नु अघि ललितपुरको बागमती गाउँपालिका – २, माल्टा स्थित कालिदेवी माविमा अध्यापनरत थिए - सं.
एकदमै सहमत सर ।
तितो यथार्थ हो यो शिक्षाक्षेत्रको
sir really it is heart toching but what can we do
सरको बिचार सम्ग सहमत छु । सरोकारोकरवालाहरुले समय मै ध्यान नदिएमा हजरौ छवि सरहरुले यो पेशा त्याग्न मजबुर हुन्छ होला ।
नमस्कार! आजसम्मको मानव इतिहासमा जहिले पनि बिगतबाट बर्तमान हेर्ने सस्कारको परिणामस्वरूप यो अवस्था आएकोले जुन दिन बर्तमानबाट बिगत हेरेर आफुले आफैलाइ नढाट्ने नैतिकताको चेतनाको बोध हुन्छ तब तपाइको यो अवस्थामा गर्नु भएको राजिनामालाई सायद बुझ्लान ! मलाई यो लेख्ने अवसर जुटाईदिनु भएकोमा धन्यवाद | हाल नव प्रभात स्कुल, पोखरा नया बजारमा ।
सरको सबै कुरामा मेरो सहमति त छैन तर यो एकदमै यथार्थपरक र मार्मिक कुरा हो।
पेशाबाट पलायन भएर सङ्घर्ष सकिँदैन। पेशामै रहेर पेशाप्रतिको दायित्वसँगसँगै आवश्यक परिवर्तन गर्नुपर्छ। अन्यथा उहाँले नै भने झैँ शिक्षामा आवश्यक परिवर्तन कसले गर्ने???
सरकार को सार्बजनिक शिक्षा प्रतिको उदासीनता, बिद्यालयमा राजनीतिक नियुक्ति पाएका शिक्षक हरुको क्षमता र व्यवहार, कार्यक्षमताको अनुचित मुल्यांकन तथा बहुरुपी शिक्षक हरु को माझमा एउटा केही गरौ भन्ने भावना भएको ब्यक्ती कसरी पाखा लगाइन्छन भन्ने थाहा पाउन यहि उदाहरण काफी छ
लेख अति राम्रो लाग्यो हजुरको पलायन दु:खद
सहि र यथार्थ विश्लेषण ।
कुरा सठिक र सत्य , बिरलैले गर्न सक्छ यस्तो कर्म तर तपाईको पलायनले के शिक्षामा परिवर्तन सम्भव छ ?
एउटा सफल शिक्ष्यक कसरी असफल बन्न पुग्छ? भन्ने तितो यथार्थ ।
अति मार्मिक र यथार्तपरक लेख छ । वुलन्द आवाज हाे याे । लेखक र प्रकासक दुवैलाई धन्यवाद ।
मैलेपनी राहतको जागिर यसै कारणले छोडे,तपाईले तॅ सरकारी। म सहमत छु। sarkari school la man bata kam garxu vanne haru lai thau 6ina.....
It happens to the honest and qualified teacher like Chhabi sir then what can't be happened to others, I am shocked!
साचो यथाथ