Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विदेशमा शिक्षा

शैक्षिक मेला शुरु विदेशी विद्यार्थीलाई भित्र्याउन जोड

विहीबार, १७ असार २०७२

काठमाडौं १७ असार / विदेशमा पढ्न जान चाहने विद्यार्थीलाई परामर्श तथा जानकारी दिने उद्धेश्यले शैक्षिक मेला शुरु भएको छ । नेपाल शैक्षिक परामर्श संघ ईक्यानले भृकुटीमण्डपमा गरेको मेला उद्घाटन कार्यक्रममा बोल्ने वक्ताहरुले नेपालबाट विद्यार्थी बाहिर पठाउने मात्र नभई विदेशी विद्यार्थीलाई पनि आर्कषित गर्नु पर्ने बताए । 

शिक्षामन्त्री यादवले विदेशका कलेज तथा विश्वविद्यालयका शिक्षाका राम्रा स्वरुपहरु नेपालमा पनि लागू गराउने तर्फ ईक्यानले पहल गर्नु पर्ने बताईन् ।

नेपाल प्राध्यापक संघका अध्यक्ष रामेश्वर उपाध्यायले विदेशी विद्यार्थीलाई अर्काषित गर्न ईक्यान जस्ता संस्था कृयाशिल हुनु पर्ने बताए । नेपालको भौगोलिक, साँस्कृतिक तथा सामाजिक विविधतालाई मात्रै केन्द्रमा राख्ने हो भने पनि विदेशी विद्यार्थी भित्र्याउन सकिने उनको सुझाव थियो । अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले नेपाललाई नयाँ शैक्षिक गन्तब्यका रुपमा विकास गर्नेतर्फ मेलाले नयाँ सोंच विकास गरेको बताए । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठ र नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले पनि विदेशी विद्यार्थीलाई आकर्षण गर्न सुझाव दिए । 

कार्यक्रममा ब्रिटिश काउन्सिलका कन्ट्री डाइरेक्टर ब्रेण्डेन मेक शेरीले शैक्षिक मेलाले सही सूचनामार्फत विद्यार्थीलाई आफूलाई उपयुक्त कलेज वा विश्वविद्यालयको छनोटमा मद्धत पुग्ने विश्वास ब्यक्त गरे ।

ईक्यानका अध्यक्ष राजेन्द्र बरालले उच्च शिक्षाका लागि विदेश जान रोक्नु समस्याको समाधान नभएको भन्दै सरकार र शिक्षा क्षेत्रका लगानीकर्ताहरुले नेपालमै अन्तर्राष्ट्रियस्तरको शिक्षा उपलब्ध गराए विदेशी विद्यार्थी नेपाल भित्र्याउन तयार रहेको बताए । ब्रेनड्रेन भयो भनेर चीन्ता गर्नुभन्दा ब्रेनग्रेन गर्नेतर्फ लाग्न आफूहरु कृयाशिल भएको उनको भनाई थियो ।  

मेलामा प्रधानमन्त्री सुशील कोइरालाले लिखित शुभकामना मन्तब्य पठाएका थिए । उनलाई प्रमुख अतिथी बनाउने भनिएपनि कार्यब्यस्तताले आफू उपस्थित हुन नसकेको भन्दै उनले शुभकामनामा शैक्षिक मेला अन्तर्राष्ट्रिय स्तरको शिक्षा प्राप्तीको बाटोमा सहयोगी हुने अपेक्षा गरेको उल्लेख गरेका थिए । 

मेलाका अवसरमा सिन्धुपाल्चोक फुल्पिङकट्टिका भूकम्प पीडित विद्यार्थी आशिष तामाङलाई कक्षा १२ सम्म अध्ययनका लागि इक्यानको संयोजनमा ब्रिलियण्ट एजुकेशन एण्ड करियर काउन्सिलले छात्रबृत्ति प्रदान गरेको थियो । त्यस्तै न्यूजिल्याण्डको एन्टेक ट्रेजरी ग्रुपले पनि मेला अवलोनकर्ता विद्यार्थीहरुमध्येलाई छात्रबृत्ति प्रदान गर्ने घोषणा गरेको छ ।

मेलामा भारत ,चीन, बंगलादेश ,अष्ट्रेलिया, बेलायत,न्यूजिल्याण्ड, क्यानडा,लगायत विभिन्न मुलुकका प्रतिष्ठित कलेज तथा विश्वविद्यालय एवं इक्यान आबद्ध शैक्षिक परामर्शदाताहरुका दुइ सयभन्दा बढी स्टल राखिएका छन् । 

मेलाको पहिलो दिन करीब १५ हजार विद्यार्थीहरुले मेला अवलोकन गरेको नेपाल शैक्षिक परामर्श संघ इक्यानले जनाएको छ । 

प्रतिक्रिया