Edukhabar
बुधबार, १२ बैशाख २०८१
विदेशमा शिक्षा अस्ट्रेलिया

अष्ट्रेलियाका नेपाली विद्यार्थीमा 'डिप्रेसन', प्रवाह रोक्न सुझाव

विहीबार, ०३ जेठ २०७५

काठमाडौं - नेपाली विद्यार्थीमा उच्च डिप्रेसन भएको भन्दै अष्ट्रेलिया स्थित नेपाली दूतावासले विद्यार्थीको प्रवाह रोक्न उचित संयन्त्र निर्माण गर्न सुझाव दिएको छ । नेपाली विद्यार्थीको अवस्थाका बारेमा परराष्ट्र मन्त्रालयलाई हालै पठाईएको पत्रमा दूतावासले नेपाली विद्यार्थीमा अत्यधिक 'डिप्रेसन', 'फ्रष्टेशन' र 'स्ट्रेस' फेला परेको उल्लेख गरेको छ ।

गर्नु पर्ने काम, हुने कमाई र पढाईका लागि दिनु पर्ने समय जस्ता आवश्यक कुरामा पर्याप्त सूचना विनै विद्यार्थी अष्ट्रेलिया पुगेपछि उनीहरु तनावमा पर्ने गरेको उक्त पत्रमा उल्लेख छ । काम गर्न तोकिएको निश्चित समय सीमा, कम पारिश्रमिक र जीवन यापनका लागि उच्च खर्च जस्ता पक्षले विद्यार्थीलाई धेरै समस्यामा पारेको भन्दै दूतावासले उचित संयन्त्र निर्माण गरेमा नेपाली  विद्यार्थीको  प्रवाह कम हुने अपेक्षा गरेको छ ।

'अष्ट्रेलिया आउन चाहने उत्साही विद्यार्थीलाई आवश्यक जानकारी दिनु जरुरी छ' उक्त पत्रमा भनिएको छ, 'यसका लागि सरकारले उचित संयन्त्र निर्माणका लागि काम गर्नु पर्ने देखिन्छ ।'

के कति विद्यार्थी यस्तो समस्यामा छन् भन्ने उल्लेख नगरे पनि दूताबासले पछिल्लो तथ्याङ्कलाई आधार मानेर प्रति वर्ष १० हजार हाराहारी नेपाली विद्यार्थी अष्ट्रेलिया भित्रिने क्रम रहेको उल्लेख गरेको छ ।  
दुतावासले पठाएको उक्त पत्र परारष्ट्रले शिक्षा मन्त्रालयलाई पठाएको छ ।

विदेश जाने भने पछि कुरै नबुझि हाम फाल्ने नेपालीको सोचाईले गर्दा यस्ता समस्या निम्तेको शिक्षा सचिव खगराज बराल बताउँछन् । विदेशमा गएर के पढ्ने हो ? कति कमाई हुन्छ ? कति समय काम गर्न सकिन्छ भन्ने सामान्य प्रश्नका बारेमा समेत ध्यान नदिई सन्तान विदेश जाने भयो भने पछि घर खेतै बेचेर भए पनि पठाउने क्रमका कारण विद्यार्थीमा दवाव पर्ने उनको भनाई छ । आफूलाई विदेश पठाउन आमा बाबुले गरेको खर्च देख्ने सन्तान पढाई भन्दा ज्यादा कमाउन ध्यान दिने तर कलेजमा पनि तोकिएको समय विताउनै पर्ने भएकाले उनीहरु चौतर्फि तनावमा पर्ने उनको भनाई छ ।

'सबै भन्दा चुनौती नेपाली सामाजकै सोचाईले निम्त्याएको हो, सन्तान विदेश जाने भयो भने पछि खुसीयाली मनाउने चलन विकास भएको छ' बरालले भने, 'सन्तानलाई पढ्न पठाउने हो भने त्यही अनुसारको खर्चको ब्यवस्था गर्नु पर्ने हुन्छ तर हाम्रो समाजमा ऋण धन गरेर भए पनि सन्तानलाई विदेशै पठाउनु पर्छ भन्ने मान्यता विकास भएको छ, यो विद्यार्थी र उनीहरुको परिवारकै लागि समस्याको कुरा हो ।'

विदेश पठाउनु अघिका आवश्यक प्रकृया पुरा गर्नु मात्रै नभई विदेश गए पछि आईपर्ने सवै खाले अवस्थाका बारेमा विद्यार्थी र अभिभावक नै सजग नभए सम्म शिक्षा मन्त्रालयले मात्रै गरेर केही नहुने उनको भनाई छ ।

त्यसो त विदेशमा जान चाहने विद्यार्थीलाई आवश्यक परामर्श दिन भन्दै खुलेका कन्सल्टेन्सिहरुले उचित सल्लाह नदिदाँ पनि विद्यार्थी कर्मामा पर्ने गरेका छन् । उनीहरुले अनेक तरिकाले विद्यार्थीलाई फकाएर 'कमाउ धन्दा' मात्रै चलाउँदा पनि विद्यार्थीले सही कुरा थाह पाउन नसकेको भन्दै आलोचना हुँदै आएको छ ।

प्रतिक्रिया