Edukhabar
विहीबार, १३ बैशाख २०८१
विदेशमा शिक्षा

बिदेशमा हुने नेपाली विद्यार्थीको हत्या तथा मृत्युका घटनामा गम्भिर हुन माग

मंगलबार, २० माघ २०७१

काठमाडौं २० माघ / बिदेशमा पढ्न जाने नेपाली विद्यार्थीको हत्या तथा मृत्यु लगायतका घटनाका बारेमा सरकारले ध्यान नदिएको भन्दै सरोकारवालाहरुले आपत्ति जनाएका छन् । नेपाल शैक्षिक परामर्श संघ ईक्यान र अभिभावक संघ नेपालका प्रतिनिधिले शिक्षा मन्त्री चित्रलेखा यादवलाई भेटेरै विदेशमा अध्ययन गरिरहेका नेपाली विद्यार्थीको शान्ति सुरक्षाको प्रत्याभूति गर्न  माग गरेका हुन् । 

मंगलबार शिक्षा मन्त्रीलाई ज्ञापन पत्र बुझाउँदै उनीहरुले भारत बैङ्लोरमा अध्ययनरत प्रशान्त झाको मृत्युको घटनाका बारेमा तथ्य सत्य पत्ता लगाउन आवश्यक सहयोग गर्न पनि माग गरेका छन् । बैङ्लोरको अक्सफोर्ड कलेजमा पढ्दै आएका रौतहटका २४ बर्षिय विद्यार्थी झा गएको पुस ३० गते मृत फेला परेका थिए । कलेजको हवाला सहित उक्त घटना आत्महत्या भन्दै विभिन्न सञ्चार माध्यमामा सामाचार प्रकाशन प्रशारण भएपनि उनका पिता अनिल कुमार झाले हत्या भएको दावी गर्दै ईक्यान र संघमा घटनाको अनुसन्धानका लागि सहयोग गर्न अनुरोध गरेका छन् ।

यसले, झा का परिवार साथै विदेशमा अध्ययन गर्न जाने सम्पूर्ण विद्यार्थी र तीनका अभिभावकलाई थप चिन्तित बनाएको भन्दै यस्ता घटनाका बारेमा राज्यले नै ध्यान दिनु पर्ने भएकोले मन्त्रीको ध्यानाकर्षण गराएको ईक्यानका अध्यक्ष राजेन्द्र बरालले बताए । ‘यो देशको कुटनीतिक विषय पनि भएकोले हामीले हिजो परराष्ट्र मन्त्री महेन्द्र पाण्डेलाई पनि ज्ञापन पत्र बुझाएका छौं,’ उनले भने ‘विदेश पढ्न जाने विद्यार्थीका बारेमा राज्यले चासो दिन ढिलो भै सकेकोले हामीले ज्ञापन पत्र नै बुझाएका हौं ।’

 शिक्षण शुल्क, जीवन विमा, मलेसिया र आयरल्याण्डमा जाने विद्यार्थीको समस्या लगायतका विषयमा पनि मन्त्रीलाई जानकारी गराएको उनले बताए ।

मन्त्रीलाई बुझाईएको ज्ञापन पत्रमा देशको राजनैतिक अस्थिरता, सामाजिक असुरक्षा, शैक्षिक क्षेत्रमा हुने बन्द हडताल, नेपाल बन्द आदि जस्ता बिबिध कारणबस भारत लगायत अन्य राष्ट्रमा विद्यार्थीहरु अध्ययनको लागी जाने क्रम दिनानुदिन बढ्दो रहेको उल्लेख गरिएको छ । ‘बिभिन्न कारणवस भारतमा हाम्रा विद्यार्थीहरु मार्ने र मारिने क्रम बढदो छ । मारेको वा मरेको कुनै चित्त बुझ्दो कारण कहिं कतैवाट पुष्टि नहुने र मरणलाई एक हादसा वा आत्महत्याको संज्ञा दिई मृत शरिरको अन्त्येष्टि गरिंदै आइएको छ । मृत्यु हत्या भए पनि ठोस प्रमाण कहिं कतैवाट प्रमाणित हुन नपाउंदै दबाउने प्रचलन रहंदै आएको छ ।’ ज्ञापन पत्रमा भनिएको छ ।’

यो घटनालाई संबेदनशील घटना ठानी भविष्यमा यस्ता घटना दोहरिन नदिन दुवैं संघले संयुक्त रुपमा मन्त्रीको ध्यानाकर्षण गराएका छन् । उनीहरुले यो मुद्धालाई राष्ट्रिय मुद्धा ठानी सोहि अनुसारको पहल गर्न पनि माग गरेका छन् ।

आफ्ना कुरा सुनेपछि समस्या समाधान गर्न पहल गर्ने मन्त्री यादवले बताएको बरालले जानकारी दिए ।

विदेश पढ्न जाने विद्यार्थीको बारेमा राज्य जिम्मेवार हुनु आवश्यक हुँदा हुँदै पनि वास्ता नगर्दा समस्या बढ्दै गएको अभिभावक संघ नेपालका अध्यक्ष सुप्रभात भण्डारीले बताए । ‘भारतमा जाने विद्यार्थीको त मन्त्रालयमा कुनै तथ्याङ्क समेत छैन’ उनले भने, ‘त्यसैले हामीले तथ्याङ्क अद्यावधिक गर्न मन्त्रीको ध्यानाकर्षण पनि गराएका छौं ।’

मन्त्रीलाई ज्ञापन पत्र बुझाउने टोलिमा दुईवटै संस्थाका अध्यक्ष सहित ईक्यानका उपाध्यक्ष प्रकाश पाण्डे, सचिव सन्तोष प्याकुरेल, सह कोषध्यक्ष यशोदा भट्टराई, सदस्य रमेश वाग्ले लगायत सहभागि थिए ।

प्रतिक्रिया