Edukhabar
बुधबार, १९ बैशाख २०८१
खबर/फिचर

शिक्षक संगठनको पहिलो निर्णयमै विवाद, चुनावमा हारेकी थापालाई मनोनयन

आइतबार, २० जेठ २०७५

ललितपुर - नेपाल राष्ट्रिय शिक्षक संगठनको दुई दिन अघि सम्पन्न निर्वाचनमा महिला उपाध्यक्षमा पराजित कमला थापालाई संगठनको पहिलो बैठकले सदस्यमा मनोनित गरेको छ । निर्वाचित कार्यसमितिको आईतबार सम्पन्न पहिलो बैठकले गरेको उक्त निर्णय प्रति संगठन भित्र तिव्र आलोचना भएको छ । यस अघिको कार्य समितिमा सहकोषाध्यक्ष रहेकी थापा निवर्तमान अध्यक्ष बाबुराम थापाकी श्रीमती हुन् ।

महाधिबेशनबाट ३२ जना पदाधिकारी निर्वाचित भए पनि निजी विद्यालयका शिक्षकहरु र निवृत्त शिक्षकहरुका तर्फबाट गर्न बाँकी मनोनयनमा थापालाई नीजि विद्यालयको शिक्षक कोटामा मनोनयन गरिएको हो ।

नवनिर्वाचित अध्यक्ष लक्ष्मण शर्माले थापाको मनोनयनको प्रस्ताव गरेका थिए । उनको प्रस्तावलाई संगठनमा आफ्नो प्रभाव कायम राख्ने निवर्तमान अध्यक्ष थापाको दवावका रुपमा बुझ्नु पर्ने एक जना सदस्यले तर्क गरे ।

'यो घटनालाई संगठनमा पक्ष र विपक्षको विजारोपण गरिएको रुपमा बुझ्नु पर्छ, अरु पदमा कुनै प्रस्ताव नगर्ने र उनको मात्रै मनोनयन गर्नुले संगठनमा तिक्तता बढाएको छ' नाम नबताउने सर्तमा ती सदस्यले भने, 'निर्वाचनमा हारेको दुई दिन भएको छैन, आजै मनोनयन गरेर वौद्धिक र शैक्षिक मुद्धामा विचार दिन सक्ने अध्यक्ष पायौं भनेर मख्ख परेका संगठनका तमाम कार्यकर्तामा शंका उब्जाईदिएको छ ।'

अध्यक्षबाटै त्यस्तो प्रस्ताव ल्याएर पारित गराउनु भनेको ज्यादै लाजमर्दो भएको भन्दै प्रदेश १ का उपाध्यक्ष गोविन्दराम श्रेष्ठले असन्तुष्टि जनाए ।

'मनोनित गर्न थुर्पै ठाउँमा बाँकी छ, क्षमता भएका तर मौका नपाएका व्यक्तिलाई ठाउँ दिनका लागि पो मनोनयन गर्ने हो यहाँ त आफ्नो प्रभाव देखाउने काम भयो' श्रेष्ठले गुनासो गरे, 'यो ज्यादै हतार र हतासमा भएको निर्णय हो, यस्ता कृयाकलापले संगठनलाई राम्रो गर्दैन, बाहिर म्यासेज राम्रो जाँदैन ।'

थापालाई हराएर उपाध्यक्ष भएकी कृष्ण मावि ठाँटिकाँध दैलेखकी शिक्षक ईला मल्ल शाहीले पनि उक्त निर्णय प्रति असन्तुष्टि जनाईन् ।

'म संग चुनाव हारेको वा मैले जितेको भन्ने कुरा यतिखेरको विषय हैन, मुख्य प्रश्न अरु पदमा पनि मनोनयन बाँकी भएको अवस्थामा सबै एकै पटक नगरेर किन महिलाको मात्रै भन्ने हो' उनले भनिन्, 'यो राम्रो काम भएन, तर बैठकले नै निर्णय गरिसक्यो, र पनि यो घटनाले फरक धारणा र विचारको संगठनमा स्थान हुँदैन कि भन्ने शंका उब्जाईदिएको छ ।'

ललितपुरको चापागाउँमा रहेको निजी विद्यालय कञ्चन माविकी शिक्षक थापा भने आफूलाई अध्यक्ष सहित केन्द्रिय समितिका पदाधिकारीले कर गरेका कारण उक्त मनोनयन स्विकार गरेको तर्क गर्छिन् ।

'साथिहरुले मनोेनयन गर्ने कुरा गरे पछि मैले पछि औंला ठड्याउने कुरा सुन्न चाहन्न भनेकै हुँ' थापाले भनिन् 'केन्द्रिय समितिका अधिकाँश साथीहरुले बस्नै पर्छ भनेर कर गरेपछि उहाँहरुको मान राख्न पनि मैले यो स्विकार्नुको विकल्प भएन ।'

निवर्तमान अध्यक्ष थापाले निर्वाचनमा आफ्ना पक्षमा बनाईदिएको माहौलको गुन तिर्न अध्यक्ष शर्माले उक्त मनोनयन गरेको संगठनका अर्का सदस्यले दावी गरे ।

'निर्वाचनका बेला बाबुराम सरले लक्ष्मण सरलाई सघाईदिनु भयो, अहिले लक्ष्मण सरले त्यो गुन श्रीमतीलाई मनोनयन गरेर तिर्नु भयो' ती सदस्यले भने, 'मौका पाए सम्म आफ्ना र आफू निकटकालाई ठाउँमा राख्ने चलनको निरन्तरता लक्ष्मण सरले पनि फलो गर्नु भयो ।'

अध्यक्ष शर्मा उक्त मनोनयन विधि सम्मत भएको तर्क गर्छन् । शिक्षामा भएको नीजिकरण र ब्यापारीकरणको अवस्थाका बारेमा आगामी असार १ गते देखि हुन गाईरहेको सम्मेलनको दिन नजिकिदैं गर्दा संगठनमा फोकल पर्सनको खाँचो पर्ने भएकोले यो निर्णय गरिएको उनको तर्क छ ।

'पात्रको बारेमा धेरै कुरा भन्नु छैन, क्षमता राख्ने पात्र मनोनित गरेका छौं, अवैधानिक र अनाबश्यक काम गरेका छैनौं' उनले भने 'शिक्षामा निजी लगानीका बारेमा सम्मेलन गर्ने तर त्यही क्षेत्रको प्रतिनिधित्व नहुने भन्ने कुरा हुँदैन, त्यसैले यो निर्णय गरिएको हो ।'

यो पनि पढ्नुहोस् : नेता शिक्षक भनेका 'कामचोर र फटाह' हैनन्

शिक्षकका नवनिर्वाचित अध्यक्षको प्रश्न – स्थानीय सरकारले गरेको काम दलगत राजनीति हैन ?

प्रतिक्रिया