Edukhabar
विहीबार, ०६ बैशाख २०८१
गतिविधि

नेता शिक्षक भनेका 'कामचोर र फटाह' हैनन्

आइतबार, २० जेठ २०७५

ललितपुर - नेपाल राष्ट्रिय शिक्षक संगठनका नवनिर्वाचित अध्यक्ष लक्ष्मण शर्माले शिक्षक राजनीतिमा लागेकाहरु 'कामचोर र फटाह' भएको पुष्टि गर्न चुनौती दिएका छन् ।  

नवनिर्वाचित समितिको पहिलो बैठक पछि आयोजित पत्रकार सम्मेलनमा उनले ट्रेड यूनियन अभियानमा लागेको शिक्षकको विद्यालय तुलनात्मक रुपमा अरुको भन्दा गतिलो भएको समेत दावि गरे । शिक्षक राजनीतिमा लागेकाहरुको नेतृत्वमा भएका र नलागेकाहरुको नेतृत्वमा सञ्चालित विद्यालयको तुलनात्मक अध्ययन गरे पछि उक्त कुरा पुष्टि हुने उनको दावी छ ।  

'हामी काम चोर र फटाह हैनौं, हामी हाम्रो ठाउँका राम्रा शिक्षक र प्रधानाध्यापक हौं, हामी प्रगतीका बाधक पनि हैनौं' उनले दावी गरे, 'हामी मन्त्री जी यो राम्रो भएन यसो गरौं भन्छौं, अनी मन्त्रीहरु हामीलाई तैंले राजनीति गरिस् भन्न थाल्छन् ।'

विद्यालय कसरी सुधार्ने भन्ने कुरा शिक्षकले भन्दा समाजमा अरु बर्गका मान्छेले कम जानेको तर्क गर्दै उनले अहिले स्थानीय तहबाट शिक्षकहरु माथि भएको ब्यवहारको आलोचना पनि गरे ।

'थोरै मात्र जनप्रतिनिधि छन् जसले शिक्षाका खास समस्या र समाधानका कुरा जानेका छन्' उनले भने 'त्यसैले शिक्षाका बारेमा काम गर्ने मेयरले हैन शिक्षकले नै हो , हामी त्यो गर्न सक्षम छौं ।'

संविधानले विद्यालय शिक्षालाई स्थानीय सरकार मातहत गरेको अवस्थामा केही स्थानीष् तहबाट भएका कामहरु सही ट्रयाकमा नभएको भन्दै शर्माले त्यसलाई सही ट्रयाकमा ल्याउने काम शिक्षककै भएकोले आफूहरु त्यस तर्फ केन्द्रित हुने पनि बताए ।

'अहिले वडाध्यक्षहरु विद्यालय ब्यवस्थापन समितका अध्यक्ष भएका छन्' उनले भने 'पालिका भित्र रहेका विद्यालयको बैठकमा जाँदा जाँदै महिना सकिन्छ, उहाँहरुले कसरी काम गर्न सक्नु हुन्छ ? त्यसैले विद्यालय सुधारमा संसारको अनुभवले भन्छ हेडटिचरलाई बलियो बनाउनुको विकल्प छैन ।'

आफ्नो कार्यकालमा मुख्यतया तीन वटा विषय बस्तुलाइृ महत्व दिने उनले बताए ।

'पहिलो कुरा बृहत्तर शिक्षक एकताको कुरा अघि बढेको छ , निवर्तमान कार्यकालमा त्यस विषयमा थुर्पै बहस र छलफल गरेका छौं, त्यसलाई मुर्त रुप दिनु पर्ने छ । सबै शिक्षक एक ठाउँमा हुनु पर्छ अर्थात् शिक्षक एकता हाम्रो ध्येय हो, आदर्श हो । त्यसका लागि काम गर्छौ' उनले भने, 'दोश्रो कुरा विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत भएको अवस्था छ । त्यसबाट नयाँ परिस्थिती सृजना भएको छ । त्यसलाई सरकारले आकार दिन सकिरहेको छैन, त्यो काम हामीले गर्नु पर्ने छ ।'

यस्तै ४ पटक सम्म स्थगित भएर रोकिएको अस्थायी शिक्षकको परीक्षा लगायत यस अघि सरकारसँग शिक्षकका अन्य समस्याका बारेमा भएका सहमती कार्यान्वयन गर्ने आफ्नो कार्यकालको ध्यान हुने उनले बताए ।

निर्वाचित भएपछि यस अघि नै उनीसँग गरिएको कुराकानी पढ्नुहोस् :

शिक्षकका नवनिर्वाचित अध्यक्षको प्रश्न – स्थानीय सरकारले गरेको काम दलगत राजनीति हैन ?

नवनिर्वाचित कार्यसमितिको आईतबार सम्पन्न पहिलो बैठकले गरेको  निर्णय भने विवादित भएको छ । संगठनको दुई दिन अघि सम्पन्न निर्वाचनमा महिला उपाध्यक्षमा पराजित निवर्तमान अध्यक्ष बाबुराम थापाकी श्रीमती कमला थापालाई संगठनको पहिलो बैठकले सदस्यमा मनोनित गरेपछि संगठन भित्र आलोचना भएको हो ।

पढ्नुहोस् : शिक्षक संगठनको पहिलो निर्णयमै विवाद, चुनावमा हारेकी थापालाई मनोनयन

प्रतिक्रिया