Edukhabar
शनिबार, २९ कार्तिक २०८२
अन्तैवाट

मानविकी संकटग्रस्त

शनिबार, २६ जेठ २०७५

काठमाडौं २६ जेठ / त्रिभुवन विश्वविद्यालय (त्रिवि)को इतिहास विभाग यस वर्ष रित्तो रह्यो। विभाग सञ्चालनमा छ, विद्यार्थी छैनन्। भर्नाका लागि फाराम खुल्दा तीनचार जना विद्यार्थी बुझ्न आए पनि भर्ना हुन नआएको इतिहास विभागका प्रमुख शंकर थापा बताउँछन्। उनी भन्छन्, ‘गत सालसम्म थोरै विद्यार्थी भएपनि हामीले पढाएका थियौँ, अहिले कोही छैन।’

अन्नपूर्ण पोष्टमा प्रकाशित खबर अनुसार  भाषाविज्ञानका चार सेमेस्टरमा जम्मा १८ विद्यार्थी छन्, पहिलो सेमेस्टरमा चार जना मात्रै। भाषविज्ञान विभागका प्रमुख दुबिनन्द ढकाल आफ्नो विभागमा विद्यार्थीको ठूलो चाप कहिल्यै नहुने भएपनि यति कम संख्या पढाएको अनुभव नरहेको बताउँछन्।

इतिहास विभागका प्रमुख थापालाई लागेकै थिएन- विद्यार्थीशून्य विभागको जिम्मेवारी सम्हाल्नुपर्ला भनेर। २०३३ सालमा उनी आफै विद्यार्थी हुँदा त्रिविमा इतिहास पढ्नेहरू ४० जना थिए।

इतिहास र भाषाविज्ञान उदाहरण मात्र हुन्, मानविकी संकायअन्तर्गतका प्रायः विषयको अवस्था उस्तै छ। विषयको महत्वअनुसार मानविकीभित्र विद्यार्थी भर्नादर फरक-फरक रहेको बताउँछन्, मानविकी संकायका डिन शिवलाल भुसाल।

स्नातकोत्तरमा मात्र हैन, स्नातक तहको अवस्था पनि उस्तै छ। लालबन्दीको जनज्योती मल्टिपल क्याम्पसमा २०७४ सालमा व्यवस्थापन संकाय स्नातकमा १ सय ३५ विद्यार्थी भर्ना भए भने शिक्षा संकायमा ८७ र मानविकीमा जम्मा १५ जना विद्यार्थी भर्ना भएका छन्। त्यस्तै महेन्द्र बहुमुखी क्याम्पस, दाङमा बिएस्सी प्रथम वर्षमा १०९ जना भर्ना भए भने बिबिएस प्रथम वर्षमा १ सय ६० जना भर्ना भएका छन्। शिक्षा संकायमा १२३ जना र मानविकी स्नातकमा ८४ जना विद्यार्थी भर्ना भए।

त्रिविले आईए कार्यक्रम हटाएपछि मानविकी पढ्ने विद्यार्थी घट्न थालेको अनुमान गरिन्छ।

किन रुचाइएन मानविकी ?

मानविकी कमजोर विद्यार्थीका लागि बनाइएको संकायजस्तो बन्न पुगेको विज्ञहरूको राय छ। सेकेन्ड्री एजुकेसन इक्जामिनेसन (एसईई)मा आएको नम्बरअनुसार विद्यार्थीले संकाय छनोट गर्ने गरेको बताउँछन् नेपाली शिक्षाबारे अनुसन्धान गरिरहेका समाजशास्त्री प्रमोद भट्ट।

‘पाठ्यक्रम विकास केन्द्रको व्यवहारले पनि मानविकीलाई छायामा पारिदियो,’ भट्टले भने, ‘विगत तीन वर्षमा पाठ्यक्रम विकास केन्द्रले निर्देशिका जारी गर्दा अप्रत्यक्ष रूपमा कम ग्रेड ल्याउनेले मानविकी पढ्ने हो जस्तो बनाइदियो।’

मानविकीलाई छायामा पार्न बजारको प्रभाव रहेको अनुसन्धाता र शिक्षकहरू बताउँछन्। जुन विषय पढ्दा रोजगारीका सम्भावना धेरै खुल्छन्, तिनै विषय विद्यार्थीको रोजाइमा पर्न थालेको पाइन्छ। मानविकी संकायका डिन भुसाल भन्छन्, ‘बजारमा स्कोप नभएका विषयमा विद्यार्थी घटिरहेका छन्।’

बैंक र वित्तीय संस्थाको विस्तारसँगै व्यवस्थापन संकाय मौलायो। त्यस्तै, विद्यालयको सङ्ख्या बढेसँगै शिक्षा संकायमा पनि विद्यार्थीको उपस्थिति उल्लेख्य देखिन्छ। विज्ञान र अन्य प्राविधिक विषयको पनि बजारमा उस्तै आकर्षण छ। मानविकीका विद्यार्थी पढाइ सक्ने बित्तिकै बजारको निश्चित क्षेत्रमा जागिर पाउने अवसर देख्दैनन्।

मानविकी संकायअन्तर्गतको समाजशास्त्र विषयमा भने आकर्षण घटेको छैन। त्रिवि समाजशास्त्रमा प्रत्येक वर्ष भर्ना हुन चाहने विद्यार्थीको सङ्ख्या बढिरहेको बताउँछन्, समाजशास्त्र विभागका प्रमुख तुलसीराम पाण्डे। एनजिओ/आएनजिओ र विभिन्न योजनामा समाजशास्त्रका विद्यार्थीलाई लिने थालिएपछि समाजशास्त्रमा भर्ना हुन चाहने विद्यार्थीको भीड बढेको उनले बताए।

मानविकीका बुद्धिज्म, भाषाशास्त्र, राजनीतिशास्त्र, नेपाली जस्ता विषय विद्यार्थीको रोजाइमा पर्न छाडेका छन्।

बजारको प्रभावभन्दा पर

रोजगारीका लागि विश्वविद्यालयले बजारमा भर पर्नु नहुने बताउँछन् राजनीतिशास्त्री भाष्कर गौतम। अरुले बनाइदिएको बजारमा भर पर्दा विश्वविद्यालय कमजोर हुदै गएको उनको तर्क छ।

आफै रोजगारी सिर्जना गर्न सक्ने हैसियतमा अहिले त्रिवि नभएको भाषाविज्ञानका प्रमुख ढकाल बताउँछन्।

विश्वविद्यालय आफ्नो जिम्मेवारीबाट पन्छिएर बजारको माग पूरा गर्न लागिपरेको बताउँछन्, प्राध्यापक अरुण गुप्तो।

त्रिविमा मानविकी ओरालो लागिरहे पनि विश्वविद्यालयबाहिर भने नेपाली इतिहास र समाजसम्बन्धी छलफलहरू बढिरहेका छन्। सहरका पुस्तक मेला, साहित्य गोष्ठी, साप्ताहिक र मासिक छलफलहरूमा यी विषयले प्राथमिकता पाउने गरेका छन्। इतिहास, साहित्य र सामाजिक विषयमा लेखन, विमर्श, पुस्तक प्रकाशन बढ्दो छ। झापाको काँकरभिट्टामा ‘रिडर्स झापा’ अध्ययन समूहले आठ महिने इतिहास अध्ययन कार्यक्रम चलाएको छ। मार्टिन चौतारीले ‘परिवार र राज्य’ र ‘विकास’जस्ता विषयमा पठनसत्र सञ्चालन गरिरहेको छ। चौतारीको केही पठन सत्रमा सहभागी लेखक उज्ज्वल प्रसाई भन्छन्, ‘पत्रपत्रिका र अनलाइन पोर्टलमा समेत हरेक साता नेपाली इतिहास, साहित्य र संस्कृतिबारे सामाग्री छापिएका हुन्छन्, बहस भइरहेका हुन्छन्। सार्वजनिक रुचि बढ्दो छ तर यिनै विषयमा विद्यार्थी नहुनु अनौठो हो।’

अन्तरविषयक अध्ययनमा जोड

विश्वविद्यालयको व्यवस्थामै कमजोरी भएकाले मानविकीमा आकर्षण ओरालो लागेको विज्ञहरू बताउँछन्। विश्वविद्यालयले पुरानो ढर्रालाई बदलेर विषयमा विविधता ल्याउनुपर्ने प्राध्यापक गुप्तोको राय छ।

अरु संकायमा पनि लिबरल आर्टका कोर्स पढाउनुपर्ने गुप्तोको तर्क छ। ‘

अनुसन्धाता भट्ट पनि नेपालको शिक्षा पद्धतिमा कमजोरी देख्छन्। एसईई पास नहुँदासम्म सबै विद्यार्थीका लागि एउटै ‘कोर्स’ हुन्छ। अर्थात्, नेपाली, अंग्रेजी, गणित, विज्ञानलगायतका विषय सबैले पढ्नु पर्छ।

केही दिनअघि एक कार्यक्रममा शिक्षाविद् केदारभक्त माथेमाले भने, ‘विद्यार्थी जति माथिल्लो कक्षामा पुग्छ, त्यति नै साँघुरिँदै जान्छ। स्नाकोत्तरसम्म पुग्दा उसले इतिहास, सभ्यता, दर्शनशास्त्र, समाज र साहित्यबारे केही पढ्न पाउँदैन।’ विद्यालयदेखि उच्च तहसम्म ‘लिबरल आर्ट कन्टेन्ट’लाई महत्वपूर्ण स्थान दिइनुपर्नेमा माथेमाको जोड थियो।

मानविकीको खाँचो

मानविकीलाई समाज बुझ्ने संकाय पनि भनिन्छ। ‘नट फर प्रोफिटः ह्वाइ डेमोक्रेसी निड्स द ह्युम्यानिटिज’ पुस्तकमा दार्शनिक मार्था नस्बम लेख्छिन्, ‘बाल्यपन, किशोरावस्था, पारिवारिक सम्बन्ध, जीवन, मृत्यु, र मान्छेसँग जोडिएका कथाहरू हुन्छन् समाजमा। त्यसलाई बुझ्न मानविकीले सहयोग पुर्‍र्याउँछ।’

नस्बलमे भनेझैं बौद्धिकहरू नेपाली समाजमा मानविकी अध्ययनको खाँचो औंल्याउँछन्। शिक्षाविद् माथेमा डाक्टर, इन्जिनियरदेखि वैज्ञानिक सबैले समाजमा बसेर समाजकै लागि काम गर्नुपर्ने भएकाले ती सबैले इतिहास, संस्कृति, दर्शन आदिबारे पढ्न जरुरी भएको बताए।

राजनीतिशास्त्री गौतम समाजलाई डोहोर्‍याउन सघाउने मानविकी संकायको प्रतिष्ठा पुर्नस्थापनाका लागि विश्वविद्यालयले नै गम्भीर भएर सोच्नुपर्नेमा जोड दिन्छन्। ‘काम नलाग्ने वा कमजोरका लागि मात्रै मानविकी संकायको स्थापना भएको हो भन्ने भ्रम चिर्न विश्वविद्यालय आफै अग्रसर हुनुपर्छ’, गौतमको राय छ। लेखक प्रसाई भन्छन्, ‘रूपैयाँ गनेर बस्ने साहु र तिनका हिसाब राखिदिने मुन्सीहरूको मात्रै समाज होइन भने कला, संस्कृति, इतिहास र दर्शन सबैको खाँचो छ हामीलाई। विश्वविद्यालयले यी विषयको अध्ययन रोक्न मनासिब हुँदैन।’

अन्नपूर्ण पोष्टमा किरण दहालले लेखेका छन् । 

प्रतिक्रिया