Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विदेशमा शिक्षा

ईक्यानद्धारा छात्रबृत्ति प्रदान

शनिबार, ०५ पुस २०७१

विद्यार्थी अलपत्र नपार्ने प्रतिबद्धताको खाँचो : सूचना तथा सञ्चार मन्त्री

काठमाडौं ५ पुस / नेपाल शैक्षिक परामर्श संघ ईक्यानले सिन्धुपाल्चोकको जुरेमा गएको साउन १६ गते आएको पहिरोमा परि अभिभावक गुमाएका दुइ विद्यार्थीलाई छात्रबृत्ति सहित चितवनको सहाराको घरमा आश्रय लिएर पढिरहेका १० बालिकालाई जाडोको कपडा प्रदान गरेको छ । सिन्धुपाल्चोकको सतीदेवी शारदा उच्च माध्यामिक विद्यालय पाङ्ग्रेटारमा कक्षा ११ मा पढ्ने बविता पराजुली र कक्षा १२ मा पढ्ने अरुण श्रेष्ठलाई १ बर्षको अध्ययन शुल्क स्वरुप जनही १५ हजार रुपैयाका दरले सहयोग गरेको हो ।

शनिबार नवौं साधारण सभामा कार्यक्रमका विशिष्ठ अतिथि सभासद् राजेन्द्र पाण्डेले उनीहरुलाई छात्रवृत्ति रकम हस्तान्तरण गरे । आफूहरु पनि शिक्षाको क्षेत्रमै कृयाशिल भएकोले सामाजिक उत्तरदायित्व अन्र्तगत  सहयोग गरेको ईक्यानका अध्यक्ष राजेन्द्र बरालले बताए । ‘संख्या र रकमका हिसावले सानो देखिएला तर हामी विदेश जाने विद्यार्थीलाई मात्रै हैन देशको शिक्षा क्षेत्रमा पनि योगदान गर्न चाहन्छौं’ उनले भने ।

यस अघि साधारण सभाको उद्घाटन गर्दै सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले परामर्श दिने नाममा नेपाली विद्यार्थीलाई अलपत्र पारेको गुनासो सुनिएकोले त्यस्ता कृयाकलाप रोक्न ईक्यानले संस्थागत रुपमै काम गर्नु पर्ने सुझाव दिए । ‘विद्यार्थी अलपत्र पार्दैनौं भन्ने दह्रो प्रतिबद्धता चाहिएको छ’, उनले भने, ‘विदेशमा पढ्न पाठाईदिने भन्दै नित्तान्त भिसा शुल्क लगायतका नाममा रकम उठाउने कृयाकलाप रोक्न र आफूलाई आफैं रेगुलेट गर्न तपाईहरु सक्षम हुनुहोस् ।’

यस्तै विशिष्ठ अतिथि पाण्डेले पछिल्लो समय म्यान पावर बिग्रेर कन्सल्टेन्सि बन्न थाले भन्ने गुनासो बढेको प्रति सचेत हुन आग्रह गरे । ‘केवल पैसा आउँछ भन्ने नाममा हुँदै नभएका सुविधा छन् भनेर नेपाली बिद्यार्थी विदेश लैजाने मात्र हैन, विद्यार्थीलाई जागिर, पढाई, लगायतका कुरा सहि सत्य बताईदिनु होस्,‘ उनले भने, ‘विदेश जाने विद्यार्थीलाई नेपाल सुहाउँदो शिक्षाका लागि पनि परामर्श आवश्यक छ, त्यस तर्फ ध्यान दिनुहोस् ।'

कार्यक्रममा शिक्षा मन्त्रालयका सहसचिव डा.डिल्लिराम रिमाल, अभिभावक संघका अध्यक्ष सुप्रभात भण्डारी लगायतका वक्ताले नेपाली विद्यार्थीलाई विदेश मात्र हैन विदेशी विद्यार्थीलाई नेपालमा ल्याउने वातावरण बनाउन राज्य, राजनतिक दल तथा परामर्श दिने संस्थाहरु कृयाशिल हुनु पर्ने बताए ।

ईक्यानका अध्यक्ष राजेन्द्र बरालले नेपाललाई एजुकेशन हव बनाउने लक्ष्य अनुरुप काम गर्ने योजना बताए । पर्यटन, हिमाल, धार्मिक सँस्कृतिक लगायतका विषयमा विदेशी विद्यार्थीलाई ल्याएर पढाउन सकिने उनको तर्क थियो । ‘नेपालले कुटनीतिक नियोगहरुसँग समन्वय गरेर बिदेश पढ्न गएका हरेक बिद्यार्थीबाट कम्तिमा १० प्रतिशत कर उठाएर अन्य विद्यार्थीलाई सहयोग गर्न सकिन्छ,’ उनले भने, हामीलाई राज्यले नियमन गरोस् भनेर आफ्नै सकृयतामा शैक्षिक परामर्श तथा भाषा शिक्षण सम्बन्धि निर्देशिका २०६८ जारी गर्न त फल भयौं यसको कार्यान्वयन गर्न हामी स्वयं शिक्षा मन्त्रालयलाई आग्रह गरिरहेका छौं ।’

साधारण सभा अघि भएको बन्द शत्रले महासचिव र कोषाध्यक्षको प्रतिबेदन पारित गरेको थियो । बन्द शत्रले विधान संशोधन लगायत आगामी बार्षिक कार्ययोजना समेत पारित गरेको छ ।

प्रतिक्रिया