Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

मूल समारोह समिति गठन गर्ने जिम्मा शिक्षा मन्त्रालयलाई

बुधबार, ३० जेठ २०७५

काठमाडौं - योगसँग सम्बन्धित विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बैठकले यस बर्षको विश्व योग दिवस मनाउन आवश्यक कार्यक्रमहरु तय गर्ने गरी मूल समारोह समिति गठन गर्ने जिम्मा शिक्षा मन्त्रालयलाई दिएको छ । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा बसेको उक्त बैठकमा योगसँग सम्बन्धित विभिन्न संस्थाका प्रतिनिधिहरु, शिक्षा, स्वास्थ्य मन्त्रालय अन्र्तगतका निकायका प्रमुख, विभिन्न विश्वविद्यालयका उपकुलपति, निजी विद्यालय सञ्चालकहरु आवद्ध संस्थाका प्रतिनिधि, प्राध्यापक, शिक्षक, अभिभावक, सञ्चारकर्मी लगायतको सहभागिता थियो ।  

विगत बर्षहरुमा गर्दै आएको कार्यक्रम र अहिलेको आवश्यकतालाई केन्द्रमा राखेर बैठकले मन्त्रालयलाई चुस्त समिति बनाउने म्याण्डेड दिएको हो ।  

आगामी असार ७ गते परेको दिवस के कसरी मनाउने भन्ने बारेमा अवधारणा तय गर्न बुधबार मन्त्रालयले आयोजना गरेको कार्यक्रममा सहभागी विभिन्न संस्थाका प्रतिनिधिहरुले योगको महत्वलाई केन्द्रमा राखेर मन्त्रालयले गरेको छलफलको प्रशंसा गरे ।

उक्त अवसरमा मन्त्री पोखरेलले संविधानले परिकल्पना गरेको सामाजिक न्यायमा आधारित समाज बनाउन योगको महत्वपूर्ण भूमिका भएकोले यसलाई जीवन पद्धतीसंग जोड्नु पर्ने बताए । योग र ध्यानलाई केन्द्र विन्दुमा राखेर विद्यार्थी र विद्यालयमा योगको महत्व बुझाउन यस्ता कार्यक्रम उपयोगी र आवश्यक रहेको उनको भनाई छ ।

कार्यक्रममा शिक्षा मन्त्रालयका सचिव खगराज बरालले योग भन्ने कुरा जीवनको उत्तरार्धमा मात्रै हैन बाल उमेर देखिनै यसको आवश्यकताको महत्व बुझाउने गरी अघि बढ्न आवश्यक रहेको बताए ।
संयुक्त राष्ट्रसंघले हरेक बर्षको जुन २१ लाई विश्व योग दिवसका रुपमा मनाउने निर्णय गरेसँगै तत्कालिन प्रधानमन्त्री शुसील कोइरालाको पालामा २०७३ जेठ २५ गते नेपाल सरकारले दिवस मनाउने निर्णय गरेको थियो ।

उक्त निर्णय गरेको मन्त्री परिषद् बैठकले नै दिवस मनाउन शिक्षा मन्त्रीको संयोजकत्वमा संस्कृती तथा पर्यटन मन्त्री उप संयोजक रहने गरी समिति रहेन ब्यवस्था सहितको निर्णय समेत गरेको थियो ।

यो पनि पढ्नुहोस् : सरकार न गणित विरोधी, न विज्ञान विरोधी

प्रतिक्रिया