Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विदेशमा शिक्षा

युवाका सपना, एजुकेशन फेयर र आईरिन

शनिबार, ०६ मंसिर २०७१

काठमाडौं ६ मंसिर / तनहुँ दमौलीका विनोद श्रेष्ठको विदेशमा गएर पढ्ने धोको, विगत लामो समय देखि एकै ठाउँमा पुगेर टुङ्गिरहेको थियो । विदेश त  जाने तर विदेशमा हुने पढाई कसरी थाह पाउने ? लाग्ने खर्च कति हो ? आफूले गर्ने तयारी के के हो ? कसरी गर्ने ? यस्ता थुर्पै प्रश्नले लखेट्दा लखेट्दै उनी शनिवार दरबारमार्गको होटल अन्नपूर्ण छिरे । शैक्षिक परामर्श दिने संस्थाहरु आवद्ध एसोसिएसन अफ ईथिकल एण्ड प्रोफेसनल एजुकेशन ऐजेण्टस् अफ नेपाल आइरिनले गरेको इन्टरनेशनल एजुकेशन फेयरमा पुगेपछि उनले केही प्रश्नको उत्तर फेला पारे ।

श्रेष्ठको सपना डाक्टर बन्नु  हो । मध्यम बर्गीय परिवारका श्रेष्ठले नेपालमै छात्रबृत्तिमा पढ्न पाहिन्छ की भन्ने पनि सोचे । तर नेपालमा डाक्टरी पढ्दा कम्तिमा ४८ लाख रुपैंया त फि मात्रै बुझाउनु पर्ने उनले बुझे । जवकी बंगलादेश वा फिलिपिन्समा गएर पढियो भने ३५ लाख रुपैंया हाराहारी खर्च लाग्ने उनले बुझे । काठमाण्डु मुलपानीका पारस खनालको साथमा फेयर हेरेर बाहिरिदैँ गरेका श्रेष्ठ भन्दै थिए ‘भनिएको सबै कुरो साँचो हो भने, मेरो विदेशमा गएर पढ्ने सपना पुरा हुन्छ जस्तो छ ।’ उनको कुरामा खनालले पनि सही थाप्दै थिए ।

परामर्श दिने संस्थाहरुको परामर्श कक्षा १२ पास भएका यी दुई युवाको सपना पुरा गर्न कत्तिको सहयोगि हुन्छ, त्यो भने भविष्यमै थाह होला ।

विदेशमा गएर पढ्ने सपना साँचेका काठमाण्डु बनस्थलीका मनिषा थापा र समिना बस्नेतको कथा पनि उस्तै छ । शैनिक महाविद्यालयबाट कक्षा १२ पास गरेका उनीहरु दुई जना अष्ट्रेलिया जान चाहन्छन् । वी वी ए पढ्न जाने विचार गरेका उनीहरुले मेलाबाट धेरै जानकारी पाएको बताए । ‘हामीलाई त कहाँ जाने ? के गर्ने ? केही थाह थिएन, यहाँ मेला छ भन्ने थाह पाएर आएको केही जानकारी त भयो, अझै गहिरोगरी बुझ्नु बाँकी छ ।’ हातभरी परामर्श दिने संस्थाका ब्रोसर बोकेर उनीहरु बाहिरिए ।


उल्लेखित चार जना युवाको विदेश जाने सपना, नेपाली युवाहरुको प्रतिनिधि सपना हो । अधिकाँश युवा विदेशमा गएर उच्च शिक्षा लिने चाहनामा भेटिएपनि उनीहरुले सहि परामर्श पाएका छैनन् । कन्सल्टेन्सीको बोर्ड नझुण्ड्याएका घर, शहर बजारमा कमै देखिन थालेका छन् । यस्तो अवस्थामा को बाट पाएको परामर्श सहि हो भन्ने नै खुट्याउन गाह्रो छ विद्यार्थी र अभिभावकलाई ।

तर मेलाका संयोजक विज्ञान श्रेष्ठ, विद्यार्थी र अभिभावकलाई विना हिचकिचावट विश्वस्त हुन आग्रह गर्छन् । ‘हाम्रो संस्थामा भएका २३ वटा कन्सल्टेन्सी मध्ये कुनै एकले मात्रै गलत परामर्श दियो भने हामी जिम्मेवार हुन्छौं,’ उनको दावी छ ‘विद्यार्थी र अभिभावकले बताएको चाहना र सपना पुरा गर्न हामी सघाउँछौं ।’

उनका अनुसार मेलामा विभिन्न संस्थाहरुले प्रकृयामा लाग्ने सबै खर्च मिनाह गरेका छन् । यस्तै आई ई एल टी एस, टोफेल, जस्ता भाषा कक्षाको शुल्क पनि ५० प्रतिशत हाराहारी छुट छ । कतिपय कलेजले प्रति सेमेष्टर २ हजार डलर सम्म छुट दिएका छन् ।

एजुकेशन फेयर सम्बन्धि खबर

परामर्श दिने संस्थाहरु अपारदर्शी : मुख्य सचिव पौडेल

 ......................................................................................................................................................................................

पुर्नजागरणमा छौं : पन्त

उत्तम प्रसाद पन्त, अध्यक्ष, आइरिन

  • एजुकेशन फेयरको उद्घाटन कार्यक्रममा मुख्य सचिव लिलामणी पौडेलले त तपाईहरु मध्ये अधिकाँश संस्थाले मानव तस्करीका रुपमा अपारदर्शी ढंगले काम गरेको बताउनु भयो, तपाईहरु छवी सुधार्न के गर्दै हुनुहुन्छ ?

खराव संस्थाहरु भए, सुधार्न जरुरी भयो भनेर नै सुदृढिकरणका लागि आईरिनको गठन भएको हो । हामी कन्सल्टेन्सि भन्दैमा जो पायो त्यहिलाई सदस्यता दिदैंनौ, हाम्रो सदस्य हुन ५ बर्ष यहि क्षेत्रमा काम गरेकै हुनु पर्छ, अहिले हामीसँग आवद्ध २३ संस्था मध्ये सबै १० बर्ष सम्म लगातार यहि क्षेत्रमा काम गरेका संस्था छन् । हाम्रो क्षेत्रमा समस्या भयो भनेर हामीले सुदृढिकरणको पुर्नजागरण गरेका हौँ ।

  • यसको मतलव तपाईहरुसँग आवद्ध २३ वटा संस्था मात्रै राम्रा हुन् त ?

यो एउटा प्रकृया हो । हामी संगठित भएको एक बर्ष पनि पुगेको छैन । अबको बर्ष भरीमा गरेर हामी ३० वटा संस्था मात्रै आईरिनमा आवद्ध गर्ने योजना छ । जुन संस्थाको परामर्श गतिलो छ, अथवा त्यस अनुसारको नतिजा देखिन्छ त्यहि अनुसार हामी सदस्यता बढाउँदै जान्छौं । परामर्श दिने संस्थाका प्रतिनिधिहरु आफूले विद्यार्थी पढाउने देशको कलेज सम्म त पुग्नु पर्यो नी । हामी यस क्षेत्रलाई ब्यवस्थित बनाउने अभियानमा छौं ।  

  • तपाई ३ दशक देखि परामर्शको क्षेत्रमा कृयाशिल ब्यक्ति, एउटै छाता संगठनमा आवद्ध हुन समेत नसकेर छुट्टै संघ बनाउनु भयो, तपाईबाट सुधारको अपेक्षा कसरी गर्न सकिन्छ ?

म ५ बर्ष ईक्यानको अध्यक्ष भएँ, मैले हामीमा धेरै समस्या र गुनासा आए सुधार गरौं भने, तर बहुमत बाट मलाई अस्विकार गरेपछि म र केही मेरा साथिहरु मिलेर हाम्रो भिजन स्थापित गर्न नयाँ बाटो अपनाएका हौँ ।

  • भनेपछि पदका लागि मात्रै ...

हैन ! हैन ! जुन संस्थामा राजनीति हावी हुन्छ त्यहाँ बसेर कसरी काम गर्न सकिन्छ ? पोलिटिकल्लि प्रभाव पार्ने की काम गर्ने ? यसकै उत्तर खोज्दै हामीले आईरिन बनाएका हौँ ।

प्रतिक्रिया