Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विदेशमा शिक्षा क्यानडा

यस्तो हुन्छ क्यानडाको पढाइ

मंगलबार, २४ भदौ २०७१

नेपालको निजी विद्यालय पढेका एक नेपाली विद्यार्थीकोे क्यानडामा पढ्दाको अनुभव

- अविरल चापागाई

क्यानडा आउनु अघि मलाई सबैभन्दा बढी चिन्ता मेरो पढाइको थियो । नेपालमा पाठशालामा कक्षा ९ पढ्दै थिएँ । आवासीय भिसामा क्यानडा आउने भएपछि मेरो मनमा लागेको थियो, सबैले विदेशको पढाइ भन्छन् पक्कै राम्रो होला । तर म पढ्न सकुला कि नसकुला ?


बुवा आमा र बहिनी सहित हामी चार जना क्यानडा आयौँ । हाम्रो रोजाइको ठाउँ थियो क्यानडाको अल्बर्टा राज्यको राजधानी एडमन्टन ।


५ अक्टुबर २०१३ । म पहिलो दिन क्यानडाको विद्यालय प्रवेश गरेको थिएँ । विद्यालय थियो स्प्रुस यावेनु । कक्षामा २० जना विद्यार्थी थिए । फरक रंगका फरक अनुहार र परिवेशबाट आएकाहरुको जमात थियो ।

 

कक्षा सफा थियो । बस्ने बेन्च सफा थिए । भुर्इं सफा थियो । अगाडि कालो पाटी थिएन । कोही पनि स्कुल ड्रेसमा थिएनन् । सबैले मनखुस लुगा लगाएर आएका थिए ।
म अन्तिम बेन्चमा बसेको थिएँ । मेरो छेउमा अरु दुई जना विद्यार्थी थिए ।

उनीहरुको नाम थियो यिमिंग सु र फनुएअल वोल्दु । यिमिंग नेपालको उत्तरी छिमेकी देश चीनबाट आएका थिए । फोनुअल क्यानाडामै जन्मेको थियो । उसको पूख्र्यौली घर चाहि इथियोपिया थियो ।


हाम्रो पहिलो कक्षा थियो विज्ञान । विज्ञान पढाउन शिक्षिका कक्षामा आइसक्नु भएको थियो । पहिलो दिन भएकाले हामी सबैले एक एक गरेर परिचय दियौँ । त्यसो भन्दा पहिले आफ्नो नाम भन्यौँ । आफू जन्मेको र आएको देश भन्यौँ । यसअघिको पढाइ र आफ्नो बारे अलिकति जानकारी दियौँ । पहिलो दिन भएर होला पढाइ भने खासै भएन ।


त्यसैगरी दोस्रो, तेस्रो गर्दै त्यो दिनको कक्षा सकियो । अर्थात क्यानडाको  स्कुलमा मेरो पहिलो दिनको पढाइ सकियो । शिक्षकले होम वर्क दिएनन् ।

सबै स्कुलमै अभ्यास गरेर सकिएको छ । एक झोला किताब र हरेकजसो विषयको होमवर्कको भारी बोकेर घर फर्किने मेरा लागि विना होम वर्क फर्किनु केही असजिलो जस्तो भयो । घर आएर दैनिक कम्तीमा ३ घन्टा मैले होमवर्कमा खर्चिने गरेको थिए । यहाँ त्यो परेन ।
...    


म कालो पाटी देखेर आएको । शिक्षकले अगाडी बसेर पढाइ रहने र विद्यार्थीले सुनिरहने वातावरणमा हुर्केकाले यहाँको पढाइ शैली केही नयाँ लाग्यो ।

शिक्षकलाई नामैले बोलाउने तरिका पनि मेरा लागि नयाँ थियो । नेपालमा हरेक विषयको सैद्धान्तिक पढाइ राम्रो छ । तर त्यसलाई व्यवहारमा कसरी लागू गर्ने भन्ने प्रयोगात्मक शिक्षा कमजोर छ ।

यहाँ प्रयोगात्मक र अभ्यासलाई धेरै जोड दिईंदो रहेछ । हामी किताब नभएर पढाइ नै हुदैँन भन्ने ठान्छौं । तर होइन रहेछ । यहाँ किताब भन्दा पनि हाते पुस्तिकाको भरमा कक्षा हुन्छ । के पढाउने, के गराउने शिक्षकले तयारी गरेका हुने रहेछन् । त्यही तयारी अनुसार विद्यार्थीलाई सिकाउने शैली मलाई मन पर्यो ।


मैले के अनुभव गरेँ भने क्यानाडाको विद्यालय तहको पढाई नेपालको भन्दा अलि सजिलो पनि छ । यहाँ १ देखि ९ कक्षासम्म  पढ्नको लागि धेरै गाह्रो हुदैँन । मजस्तै थुप्रै नेपाली विद्यार्थी छन् जो नेपालमा पढेर यहाँ आएका छन् र आफ्नो पढाइलाई निरन्तरता दिइरहेका छन् ।

 

उनीहरु सित पनि कहिले काँहि कुरा हुन्छ । उनीहरु भन्छन्, यहाँको पढाइ गाह्रो छैन । उनीहरुले पनि सजिलै अनुभव गरेका छन् । नेपलको विद्यालय तहको पाठ्यक्रम छिचोलेको विद्यार्थीका लागि यहाँ पढ्न कुनै कठिन छैन ।

 

हामीले प्राथमिक तहमा पढेका कुरा माथिल्लो कक्षामा पढाइ हुन्छ । त्यसले गर्दा पनि मलाई पढ्न सजिलो अनुभव भएको छ ।

 

नेपाल र क्यानडाको पढाइमा फरक भनेको पढाउने शैली र पाठ्यक्रममा हो । पाठ्यक्रम प्रयोगात्मक शैलीको छ । हरेक विषयको प्रयोग र अभ्यासमा जोड दिन्छ ।

नेपालमा शिक्षकले अभ्यासमा जोड दिदैँनन् । घोकाइ र सिकाइमा मात्रै ध्यान दिन्छन् । त्यसले हामीलाई व्यवहारिक र प्रयोगात्मक शिक्षामा पछाडि पारेको छ ।

हामी चक वा मार्करले बोर्डमा लेखेर पढेर आएको । यहा शिकहरुले स्मार्टबोर्डमा पढाउने गर्छन् । स्मार्ट बोर्ड हामीले प्रयोग गर्ने कम्प्युटर जस्तै एउटा प्रविधि हो ।

 

कम्प्युटर र स्मार्ट बोर्डमा फरक के मात्रै हो भने यसको आकार कम्प्युटरको भन्दा केही ठूलो हुन्छ । त्यसमा विजुलीबाट चल्ने मार्करले लेख्न सकिन्छ । यसमा हामी लेख्न मात्रै होइन भिडियो पनि हेर्न सक्छौं ।

 

हामीलाई गाह्रो लाग्ने प्रश्नको उत्तर खोज्न सक्छौं । यसको प्रयोगले विद्यार्थीले कक्षामा पढाइ भइरहेको विषयमा झन् राम्ररी बुझ्न सक्छन् र यसले बुझ्न सजिलो पनि बनाउँछ । यहाँका विद्यालयको हरेक कक्षामा यस्तो स्मार्ट बोर्डको व्यवस्था गरिएको छ ।

...


नेपालमा जस्तै गणित, बिज्ञान, अंग्रेजी र सामाजिक शिक्षा यहाँका चार मुख्य विषय हुन् । यी बाहेक दैनिक क्रियाकलाप र व्यवहारिक विषयमा पनि सिकाइ हुन्छ ।

 

जस्तै खाना पकाउने, काठको प्रयोगले नयाँ सामानहरु बनाउने, फोटोग्राफी । यस्तै अरु पनि जो दैनिक जीवनमा आइपर्ने, भोलि आफूले गर्नु पर्ने काममा सहयोग पुग्ने खालका धेरै विषयमा दैनिक अभ्यास गराइन्छ ।


नेपालको कक्षा कोठामा हामी शिक्षकको प्रतीक्षा गरेर बस्थ्यौँ । हाम्रो अघि किताब र कापी खुला हुन्थ्यो जुनै बेला । यहाँ त्यस्तो हुदैन । हामी शिक्षकको पछि पछि कुद्नु पर्छ । शिक्षकलाई भेट्नु पर्छ ।

 

शिक्षकले पढ भनेर दवाव दिने या कर गर्ने गर्दैनन् । आफैँले पढ्नु पर्छ । नयाँ कुरा सिक्नु पर्छ । नजानेको सोधे शिक्षकले सहज तरिकाले जवाफ दिन्छन् । पटक पटक सिकाउँछन् । बुझ्यो बुझेन, गर्न सक्छ सक्दैन ख्याल गर्छन ।


नेपालमा जस्तो परीक्षा पनि यहाँ धेरै हुदैँनन् । हरेक विषयका हरेक शिक्षकले हरेक विद्यार्थीको दैनिक क्रियाकलाप, कक्षाकार्य र उसले सिकेको आधारमा उसको मूल्यांकन गर्छन् । हरेक वर्षको अन्तिममा पढेका कुरा जानेको छ छैन, सम्झिरहेको छ कि बिस्र्याे भनेर त्यस बारेमा सोधिन्छ र अन्तिम परीक्षा लिइन्छ ।

 

त्यसैका आधारमा उसको सिकाइ स्तर मापन र मूल्यांकन गरिन्छ । यहाँ यति प्रतिशत भनेर प्रचार प्रसार हुदँन ।

...

  
मेरो अनुभवमा नेपालको शिक्षा कमजोर छैन । तर नेपालको सिकाइ शैली अत्यन्त कमजोर छ ।

सिकाइ शैलीले विद्यार्थीलाई आत्म निर्भर बनाउन सक्दैन । सैद्धान्तिक ज्ञानको घोकाइ ज्यादा भएकाले त्यो व्यवहारिक हुन सकेको छैन । नेपालको अहिलेकै पाठ्यक्रम अनुसार प्रयोगात्मक शिक्षा जरुरी छ ।

 

व्यवहारिक र प्राविधिक सिकाइलाई जोड दिनु पर्छ । स्थानीय तहमा भएका स्रोतहरुको प्रयोग गरेर विद्यार्थीलाई सिकाउन शिक्षक अग्रसर हुनु पर्छ ।

 

शिक्षकले कक्षामा आएर बोर्डमा लेखेर मात्रै सिकाउने शैलीलाई बदल्नु पर्छ । नेपलाको शिक्षक केन्द्रीत सिकाइलाई विद्यार्थी केन्द्रीत बनाउनु पर्छ । यति हुने हो भने नेपाली विद्यार्थी संसारको जुनसुकै मुलुकमा गए पनि सैद्धान्तिक र प्रयोगात्मक दुवै हिसाबले अब्बल हुन सक्छन् ।

नेपालको एउटा निजी विद्यालय पाठशालामा पढेका चापागाईंले क्यानडाको अल्बर्टास्थित एडमन्टनको स्प्रुस यावेनु स्कुलबाट कक्षा ९ उत्तीर्ण गरेका छन् ।

 

प्रतिक्रिया