Edukhabar
आइतबार, ०६ जेठ २०८१
विचार / विमर्श

शिक्षा सेवाको उपसचिव : बोले छुच्चो भइन्छ ! नबोली धरै छैन !

शुक्रबार, ११ साउन २०७५

घोकेर बुंदा¸ निकाली नाम¸ के गर्नु पदले ! 
छोडेर धर्ती¸ उडेर आकाश¸ पुग्दैन कदले !

'बढुवा’ ’पानी’¸ के गरी खानी¸ ओक्काउं कि ओकलौँ ! 
न परेँ माथि¸ न परे तल¸ उडौँ कि हाम्फालौँ !

“हातका मैला¸ सुनका थैला¸ के गर्नु धनले ! 
साग र सिस्नो¸ खाएको वेश¸ आनन्दी मनले !“

कर्मचारी समायोजको क्रममा एकातिर आवश्यकता अर्कोतिर माग¸ चाहिने संख्या एउटा मौजुदा संख्या अर्कै¸ कार्य प्रकृति एकातिर महत्वकांक्षा अर्कतिर¸ संघीय शासन एकातिर केन्द्रिकृत सोंच अर्कातिर¸ जनअपेक्षा एकातिर परम्परागत क्षमता अर्कैतिर¸ जता राख्दा पनि ’समायोजन’ नहुने¸ मन्त्रालय तान्दा भिडभाड¸ स्थानीय लाँदा नअट्ने¸ प्रदेशमा काम छैन¸ जि.शि.का. खारेजीमा¸ समन्वय इकाइमा केही अवशेष मात्र ! 

जता राख्दा पनि ’फिट’ नहुने समग्र कर्मचारी व्यवस्थापनलाई नै गिंजोलिरहेको पम्फा भुषाल सामान्य प्रशासन मन्त्री हुंदा ०६४ सालमा नि.से.ऐ.को हचुवा संशोधनबाट ’माथि’ उक्लेर नेपाली उखान अनुसार खोलो समेत फर्किने अवधि पूरा भइसकेको १२ बर्षसम्म न माथि न तल पेण्डुलम भइरहेको निजामति तर्फको कुन सेवा¸ समूह¸ उपसमूह¸ श्रेणीको पद होला ? 

अनुमानै लगाउनु पर्दैन ! 

शिक्षा सेवाको उपसचिव ! 

बोले छुच्चो भइन्छ ! 

नबोली धरै छैन ! 

समग्र शैक्षिक व्यवस्थापन यसकै कारण तानातान र लुछालुछको अवस्थामा अस्तव्यस्त छ ! 

निर्णय गर्नुपर्ने तहमा बसेर उपयुक्त निर्णय गर्न नसकी यो हविगत बनाउने को हो ? 

सटिक उत्तर आउँछ शिक्षा मन्त्रालय ! 

जसले हरेक २ महिनाको फरकमा अलग अलग प्रस्ताव तयार पार्छ ! शिक्षा मन्त्रालय जसले संघीय मामिला मन्त्रालयमा पुगेर बरिष्ठता र सिष्टमको सवाल कोट्याउँछ ! 

जसले आफ्नैभित्र कर्मचारी खटनपटन गर्दा बरिष्ठता र सिष्टमको सवालमा मचक्कै आँखा चिम्लन्छ ! 

कुन लाटोकोसेरोले पत्याउने उसले उठाएका प्रणालीका कुरा ? 

फेरि अर्को प्रस्ताव पेश भयो रे ! 

उक्त पदमा रहेका ’माननीय’ ज्यूहरुको नगरपालिकातिरै व्यवस्थापन गर्ने रे ! 

अन्तरिम संगठन संरचनामा उपमहानगरपालिका¸ महानगरपालिकामा मात्र भएको शिक्षा उपसचिवलाई फेरि तलतिर नगरपालिका सम्मै झार्ने रे ! 

यता स्थानीय तहतिर त भुंइमा चकटी र तन्ना ओच्छ्याएर काम गर्नुपर्ने अवस्था छ ! 

सबैलाई त किन भन्नु आदरणीय व्यक्तित्वहरुलाई भन्दा आफैलाई पाप लाग्ला ! 

केही ’क’ श्रेणीका उत्कृष्ठतम् महानुभावहरु हुनुहुन्छ, जसले विगतका त कुरै छोडौ वर्तमानको आफ्नै आङ्ग र औकात समेत भुलेर¸ आफुभन्दा मुनि भुँइ छैन ! 

मेरा खुट्टै आकाशबेली झैँ जराविनाका हुन् भन्ने सोंचका साथ छिनभरमै ठूल्ठूलो प्रशासक बनेर साथी¸ संगाती¸ समकक्षी माथि समेत निरङ्कुश शासन चलाउने हुर्मत पाल्नुहुन्छ ! 

शुरुवाती चरणको संघियतामा धेरै ठूलो रिङ्गने कुर्सी छैन ’साँप’ स्थानीय तहतिर ! कता गराउने हो आसनग्रहण ?! 

अन्य सेवामा माथिल्लो पद राम्रो मानिन्छ तर शिक्षा सेवामा उपसचिव भन्दा वि.नि. ठीक¸ वि.नि. भन्दा प्रा.स. ठीक ! 

२।४ जना चल्तापुर्जाले राम्रै ’अवसर’ पाउलान् ! विगतमा पाएकै पनि थिए ! कतै प्रशासकीय अधिकृतको रिङ्गने कुर्सीमा क्षणिक ’मुतको न्यानो’ भेट्लान ! 

'और आदमी' का हविगत ४।५ बर्षसम्म यस्तै हुन् ! 

झण्डैले विनि भएको ९ बर्षसम्म पनि बढुवाको कुनै साइ सुइ छैन ! 

बढुवा भएको भए आफ्नै पनि त्यै हालत हुन्थ्यो होला ! 

कहिलेकाहीँ असफल भएर पनि राम्रै हुंदो रैछ ! 

घरको रोटी¸ मही¸ खुर्सानी खाएर¸ आइएलओ अभिसन्धी अनुसार ८ घण्टासम्म ज्यानलाई सन्तोषपूर्ण आरामको अवसर प्रदान गर्दै¸ ८ घण्टे मनोरन्जनको समयमा २।४ वटा फेसबुक स्टाटस जारी गर्दै बाँकी ८ घण्टा ढुक्कसंग आफ्नो स्थानीय तहको शाखा र जिम्मेवारीको काम गर्न पाइएको छ ! 

यत्ति भए पुग्यो ! 

अवका १० बर्ष शिक्षा सेवामा बढुवा पनि चाहिएन ! 

बरु घटुवा गरेर प्रा.स.तिरै लिएकै राम्रो ! 

कथित हाकिमको रिङ्गने कुर्सी पनि चाहिएन ! 

यो मेरो निजी अनुभूती हो¸ तर खास सेवाप्रति यो वितृष्णाजनक निष्कर्ष निस्किनुमा शिक्षा मन्त्रालयको निर्णय क्षमताले प्रमुख उद्धिपकको काम गरेको छ ! कसैप्रति व्यक्ति किट्याएर आक्षेप लगाइएको छैन । 
प्रसंग मिलेमा संयोग मात्र हुनेछ । धन्यवाद ! 

खड्का हाल मुसिकोट नगरपालिका रुकुम पश्चिममा कार्यरत छन् । 

प्रतिक्रिया