Edukhabar
बुधबार, १२ बैशाख २०८१
सम्पादकीय

शिक्षा मन्त्रीको अशोभनीय 'जुहारी', धमिलिदैं छवि

आइतबार, १४ असोज २०७५

नैतिक स्वभाव, सादगी आचरण र निष्कलंक राजनेताका रुपमा बनेको शिक्षा मन्त्री गिरिराजमणि पोखरेलको छवि चिकित्सा शिक्षाका सवालमा क्रमशः धमिलो हुँदै गएको छ ।

चिकित्सा शिक्षा विधेयक पास नभई संसदको अधिबेशन अन्त्य भएको छ  । यही बैठकबाट उक्त विधेयक पास हुन नसक्नुमा मन्त्री पोखरेलकै भूमिका रहेको आरोप लगाउँदै चिकित्सा शिक्षाको वेथिती विरुद्ध सत्याग्रह गर्दै आएका प्रा.डा. गोविन्द केसीले पोखरेल पदमा रहिरहनु 'अशोभनीय' भएको सार्वजनिक अभिब्यक्ति दिई सकेका छन् ।

पढ्नुहोस् : शिक्षा मन्त्री अवरोधक, पदमा रहिरहनु 'अशोभनीय'

यो सँगै पोखरेल माथि नैतिक प्रश्न समेत उब्जिएको छ ।  

चिकित्सा शिक्षा सुधारका लागि सरकारले केसीसँग गरेको सहमतीका आधारमा विधेयक पास गर्नुको साटो उनकै वेवास्ताले उक्त काम नभएको केसीको आरोप मन्त्री पोखरेलका पछिल्ला गतिविधिले थप पुष्टि गरेको छ ।

यसको पछिल्लो उदाहरण हो – 'जुहारी' शैलीमा मन्त्रीले शनिबार दुई सहसचिब मार्फत जारी गराएको छुट्टा छुट्टै विज्ञप्ति !

पढ्नुहोस् : शिक्षा मन्त्री 'जुहारी'मा, दुई सहसचिव मार्फत् बचाउको प्रयास

केसीले जुम्लामा गरेको पछिल्लो सत्याग्रहका बेला उनलाई जुम्लाबाट काठमाडौं ल्याउन गरिएका कार्यमा पनि पोखरेलको रवाफ उनको ब्यक्तित्वलाई सुहाउने खालको नभएको महशुस गरिएको थियो ।

यसपटक 'जुहारी' शैलीमा उत्रिएको उनको कृयाकलाप त्यसकै निरन्तरताका रुपमा आउनु विडम्बना भएको छ ।

मन्त्रालयका प्रवक्ता समेत रहेका मन्त्री निकट सहसचिव बैकुण्ठप्रसाद अर्यालद्धारा शनिबार जारी विज्ञप्तिमा विधेयक पारित गर्न गरिएका प्रयासका बारेमा उल्लेख गरिएको छ भने केसीसँग छलफल गर्ने जिम्मा दिईएका भनिएका मन्त्रालयको प्राविधिक तथा व्यावसायिक शिक्षा महाशाखाका प्रमुख समेत रहेका सहसचिब डा. हरीप्रसाद लम्सालद्धारा जारी विज्ञप्तिमा सहमती पछि केसीसँग छलफल गर्न खोजे पनि सफल नभएको उल्लेख गरिएको छ । 

'डा. केसीसँग नेपाल सरकारले सहमती गरे पश्चात डा.केसी र सम्बद्ध पक्षहरुसँग सम्पर्क र छलफल गर्ने प्रयत्न भएको भए पनि हाल सम्म कुनै छलफल र सञ्चार सम्पर्क भएको छैन' यस विचमा केसी सँग मन्त्री पोखरेलको कुनै छलफल नै नभएको आशय ब्यक्त गर्ने गरी मन्त्रीले उक्त विज्ञप्ति जारी गराएका छन् ।

केसीले शिक्षा मन्त्रीले आफूलाई 'ब्ल्याकमेलिङ्' गरेको उल्लेख गरेको खबर छापामा प्रकाशित भए पछि मन्त्रीले उक्त कुराको खण्डन गर्न सहसचिब उतारेर जुहारी खेल्नुले, माथि उल्लेखित उनको ब्यक्तित्व कायमै छ भन्ने आधार समेत धमिल्याएको छ ।  

यतिखेरको मुख्य प्रश्न चिकित्सा शिक्षा सुधारका लागि केसीले गरेको २७ दिन लामो १५ औं सत्याग्रहको अन्त्यमा सरकारले गरेको सहमती कार्यान्वयनको प्रगति के भयो भन्ने नै हो । त्यसको प्रगतिका लागि मन्त्रीले सहसचिव मार्फत जारी गराएको विज्ञप्तिमा उल्लेख भएका विवरणको खाँचै पर्दैन । किन भने प्रधानमन्त्री केपी ओलाीको अग्रसरतामा केसीसँग भएको सहमती कार्यान्वयनका लागि कुनै छलफल र सम्वाद जरुरी थिएन । त्यो सहमतीकै कुरामा समेटिएको विषय हो । त्यही अनुसार सत्तापक्षका सचेतक देव गुरुङ् सहितका सांसदले संसदमा संशोधन दर्ता गराएका थिए । विभागीय मन्त्रालयको कमान सम्हालेको हिसावमा उक्त विषयमा पोखरलले दिनु पर्ने आवश्यक महत्व नदिदाँ उक्त विधेयक अलपत्र छाडेर संसद बैठक सकियो । 

संसद बैठक जारी रहेको अवस्था हुन्थ्यो भने केसीका माग सम्बोधन गर्न उनीसँग छलफलको आवश्यक थिएन । तर अहिले संसद बैठक सकिएको छ ।

यस्तो अवस्था आउनु हुन्थेन आयो !

यसले अन्यौल बढाएको त छ, तर यही अन्यौलका बीचबाट समाधान निकाल्नुको विकल्प छैन ।

कि भने केसीले उठाएका विषय जनपक्षीय छैनन् भन्न सक्नु पर्यो ! प्रधानमन्त्रीले नै गरेको सहमतीमा राज्यले केसीका माग जनपक्षीय भएकै आधारमा स्विकार गरेको अवस्था छ । त्यसो हो भने पोखरेलका अघिल्तिर अहिले जुहारी खेल्ने समय छैन । ती विषय समाधान गर्न आवश्यक विधि अपनाउनु नै उनको मुख्य कार्य हुनु पर्छ ।  

कार्यकारी प्रधानमन्त्रीले गरेको सहमतीबाट राज्य पछि हट्ने शंका यतिखेर हतार हुनसक्छ ।

प्रधानमन्त्रीका निकट रहेका स्वार्थ समूहले विगतमा जस्तै अहिले पनि चलखेल त गरेनन् ! 

यो शंकालाई एउटा कुनामा सुरक्षित राख्दै  चिकित्सा शिक्षाका बेथिती अन्त्यका लागि केसीले शुरु गरेको सत्याग्रहको अन्तर्यमा राज्य पुगेर समाधान निकाल्नुको विकल्प छैन ।

स्मरण गर्नु पर्ने अर्को कुरा के पनि हो भने, सत्याग्रहको शक्ति कुन हद सम्म प्रभावशाली हुन्छ भन्ने कुराका बारेमा संसारका विभिन्न घटनाक्रमको अध्ययन गर्दा प्रष्ट हुन्छ । प्रधानमन्त्री र शिक्षा मन्त्रीले यस विषयको गम्भिरतालाई त्यही रुपमा बुझेर समाधान निकाल्न ढिला गर्नु हुन्न ।   

अन्यथा, सत्याग्रही सँगको 'जुहारी'ले समृद्ध मुलुक र सुखी नेपाली बनाउने दुई तिहाई समर्थनमा बनेको वामपन्थी नेतृत्वको सरकारको नेतृत्व कर्ता ओलीको साख गिर्ने निश्चित छ ।

यो सँगै शिक्षा मन्त्री पाखरेलको नैतिक स्वभाव, सादगी आचरण र निष्कलंक राजनेताको छवि कायम रहन मुस्किल पर्ने त भई हाल्यो । 

 

प्रतिक्रिया