Edukhabar
बुधबार, २६ बैशाख २०८१
अन्तैवाट

दशैँ मान्न विद्यार्थी घरतिर लाग्दै

मंगलबार, २३ असोज २०७५

काठमाडौं २३ असोज / योपल्टको दशैँमा तीनधारा पाकशाला (हाल पाठशाला) संस्कृत छात्रावासको आँगनमा खसी नढल्ने भएको छ । खसी नढल्ने अवस्थाले छात्रावासका विद्यार्थी दशैँ मान्न धमाधम घरतिर लाग्न थालेका छन् ।

विगतमा विद्यार्थी सहित भान्से, डोले सुसारे लगायतका परम्परागत पदका कर्मचारीले आफ्नै खर्चमा खसी ढाल्दै मासुका परिकारले मुख मिठ्याएपछि दशैँ मान्न घरतिर लाग्थे । घटस्थापना आसपास खसी ढल्थ्यो, खाएपछि झोला बोकेर घरतिर लाग्ने गरेको बिगत रहेको एक विद्यार्थी बताउँछन् । 

सोह्रश्राद्ध सकिएर घटस्थापना छेउ आइपुग्दा पनि खसी ढल्ने छाँट नदेखिएपछि सोह्र श्राद्धको अन्त्यतिर नै विद्यार्थी दशैँ मान्न घरतिर लाग्न थालेको ती विद्यार्थीले जानकारी दिए ।

छात्रावासका सुपरिटेन्डेन्ट अर्जुनबाबु दाहालका अनुसार योपल्ट खसी ढल्दैन । विद्यार्थी घरतिर जान थालिसके । आफूहरु मिलेरै खसी ल्याइने गरेकोमा योपल्ट विद्यार्थीले पनि त्यति चासो नदेखाएको उहाँले बताउनुभयो ।

छात्रावासमा मुलुकभरका ७५ विद्यार्थी छन् । यसमध्ये सवैजसो धमाधम घर गइरहेका छन् । छात्रावासको आफ्नै भवनमा २७ पसल कवल भाँडामा छन् यो रकम नेपाल संस्कृत विश्वविद्यालयले नै लिन्छ ।‘ बिगतमा खसी त विद्यार्थीले नै आफ्नो खर्चमा जुटाउने गर्थे,’ दाहाल भन्नुहुन्छ । विगतमा १७ धार्नी सम्मको खसी ढलेको स्मरण गर्दै विद्यार्थीले यो पटक खसी खानेभन्दा घर पुग्ने चाहना भएको पाइएको छात्रावासका कर्मचारी बताउँछन् । 

समाज कल्याण केन्द्र वृद्धाश्रम पशुपतिमा पनि दसैँमा खसीको व्यवस्था नहुने भएको छ । खसीको मासुको सट्टा पनिर र खीरको तयारी गरिएको वृद्धाश्रम प्रशासनले जनाएको छ । ‘चारवर्ष भयो खसी ढाल्न बन्द गरिएको छ र योपटक पनि बिगतलाई निरन्तरता दिइने छ,’ प्रशासन प्रमुख कृष्ण कँडेल भन्नुहुन्छ ।

वृद्धाश्रमका २७० जनामध्ये ३० प्रतिशत हाराहारी मात्र मासु खान रुचि राख्छन् । पशुपति क्षेत्र भएकोले माछा मासु यहाँ बन्द गरिएको कँडेलको भनाइ छ । 

वनकालीस्थित वेदविद्याश्रममा दशैँका लागि घर जान नमिलेकालाई फलाहार, दूध दहीका परिकार सहित मिष्ठान्न भोजनबाट दशैँको खुशियाली भित्र्याउने तयारी भएको जनाइएको छ ।

गोरखापत्रबाट 

 

प्रतिक्रिया