Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विदेशमा शिक्षा

विदेश जान चाहने नेपाली विद्यार्थीको चासो 'करियर' र जागिर

शुक्रबार, ३० कार्तिक २०७५

काठमाडौं - गोकर्णेश्वरका सुवोध तिमिल्सिना ६९ प्रतिशत सहित स्नातक उत्तीर्ण भए । शंकरदेव क्याम्पसबाट स्नातक सकेपछि उनले केही काम गर्ने सोच बनाए ।

सोचे जस्तो सजिलो कहाँ भयो र !

भने जस्तो काम पाउनै मुस्किल ! पाईहाले पनि कतै सोर्स पुगेन, कतै तलब चित्त बुझेन ! 

अन्त्यमा उनको निष्कर्श भयो - ह्या बरु विदेशै जाउँ !

उदयपुरका रोशन अधिकारीले पनि काठमाडौंको एक निजी कलेजबाट कक्षा १२ सके ।

घरबाट कत्ति पैसा माग्नु ? बरु यतै केही काम गर्दै पढ्नु पर्यो ! उनले काम खोजे फेला परेन । अनी उनको गन्तब्य पनि विदेश नै बन्यो । 

काभ्रे बनेपाकी विमला रायमाझिले पनि देशमा बसेर आफ्नो 'करियर' नबन्ने छनक पाईन् ।  

करियर र जागिरको लोभले नेपाली विद्यार्थीलाई विदेशले कसरी तान्दै छ भन्ने यी केही उदाहरण हुन् । 

पछिल्लो समय विदेशको मोहमा आर्कषित विद्यार्थीलाई यता काम र करियर नपाएको जस्तै हैरानी उता जान आवश्यक परामर्श दिने गतिलो संस्थाको अभावले पनि पारेको छ । 

'कति वटा कन्सल्टेन्सी धाँए, कसका के कुरा कसका के कुरा के पत्याउने कसरी छनौट गर्ने ?' कंगारु एजुकेशन फाउण्डेशनले आयोजना गरेको कंगारु एजुकेशन फेयर : अल नेपाल रोड शो मा अरु दुई जना साथीहरु सहित भेटिएका अधिकारीले भने, 'यस्ता शैक्षिक मेलाबाट धेरै कुरा थाह हुँदो रहेछ ।'

सम्बन्धित कलेज र विश्वविद्यालयका प्रतिनिधिहरुबाट सिधै आफू जान चाहेको देश र त्यहाँ जाँदा गर्नु पर्ने भिसा लगायतको प्रकृयाका बारेमा एकै ठाउँमा बुझ्न पाउँदा फाईदा पुगेको उनले बताए । 

'कन्सल्टेन्सीका नाममा खुलेका संयौं संस्था त छन् नी तर डिटेल  जानकारी पाउनै गाह्रो' मेलामा भेटिएका अर्घाखाँचीका शिव भुषालले भने,  'बाटोमा हिँड्दै थिएँ यहाँ देखेँ र पसेको धेरै कुरा बुझ्न पाईयो, अब अलिक पछि आएर प्रकृया शुरु गर्ने सोच बनाएको छु ।'

विदेश जान त चाहने तर आवश्यक प्रकृया र सही कन्सल्टेन्सीको सम्पर्क अभावले विद्यार्थी र अभिभावकलाई हैरानी नहोस् भन्ने ध्येयले देशका मुख्य शहर केन्द्रित गर्दै कार्यक्रम गरेको फाउण्डेशनका प्रमुख कार्यकारी महेशबाबु तिमिल्सिनाले बताए । कार्यक्रम विदेश जाने मात्रै भन्दा पनि नेपाली विद्यार्थीलाई आवश्यक करियर काउन्सिलका रुपमा अझै महत्वपूर्ण हुने उनको दावी छ । 

'विदेश जाने भनेपछि देश र खर्चको मात्रै कुरा गर्ने चलन छ, हामी विद्यार्थीलाई उनीहरुको क्षमता र रुची अनुसारको करियर काउन्सिलिङ् पनि गर्छौं' उनले भने, 'विदेश गए पछि हरेक नेपाली विद्यार्थीले पढाई पुरा गरेर सक्षमताका साथ जीवन यापन गर्न सकुन् भन्ने पनि हाम्रो मान्यता हो ।'  

बिहीबार झापाबाट शुरु भएको यो कार्यक्रमको दोश्रो श्रृखला काठमाडौमा भएको हो । शनिबार सम्म काठमाडौंमा चल्ने यो कार्यक्रम आईतबार चितवन, मंसिर ३ गते बुटवल र मंसिर ४ गते पोखरामा हुँदै छ । 

'पहिलो दिन झापामा भएको कार्यक्रमले नै हामीलाई उत्साहि बनाएको थियो, काठमाडौंको पहिलो दिनको कार्यक्रमले थप हौसला दिएको छ' उनले भने, 'देशका विभिन्न शहरमा रहेका विद्यार्थीलाई लक्षित गर्दै हामी उनीहरुकै अघिल्तिर पुग्ने अभियानमा छौं ।'

न्यूजिल्याण्ड, क्यानडा, अमेरिका, अष्ट्रेलिया र यूरोपका विभन्नि २४ कलेज र विश्वविद्यालयका प्रतिनिधिहरुसँग  विद्यार्थीले प्रत्यक्ष कुराकानी गर्दै उचित परामर्श लिन सक्ने छन् । 

प्रतिक्रिया