Edukhabar
आइतबार, ०९ बैशाख २०८१
विचार / विमर्श

गरेर मात्र लेख्नु पर्ने : कार्यमूलक अनुसन्धान

सोमबार, २१ माघ २०७५

स्थायी शिक्षकहरुले बर्षको कम्तिमा एउटा कार्यमूलक अनुसन्धान गरेर लेख्न अनिवार्य व्यवस्था गरिएको छ । शिक्षक सेवा आयोग नियमावलीको को पाँचौं संशोधनले गरेको उक्त व्यवस्थालाई शिक्षाको गुणस्तर अभिवृद्धिको एक कडीको रुपमा लिइएको थियो । एडुखबरमा गत साता प्रकाशित कार्यमूलक अनुसन्धान : खोजेको के ? भएको के ? शीर्षकको लेखमा  देवीराम आचार्यले कार्यमूलक अनुसन्धानको वर्तमान अवस्थालाई चित्रण गर्नुभएको छ । उक्त लेखले हाम्रा सिद्धान्त र व्यवहारमा कति फरक छ र हाम्रा कथनी र करणीमा कति तालमेल छ भन्ने स्पष्ट गरेको छ । 

लेखकले यसले सुधारको अपेक्षा पूरा गरेन र मर्यादा नै रहेन भन्ने सन्दर्भ उदाहरण मार्फत प्रस्तुत गरी कम्तीमा शिक्षा कार्यालयहरू वा यस्तै निकायमा यी कार्यमूलक अनुसन्धानको सामान्य समिक्षा गर्ने, शिक्षकलाई पृष्ठपोषण दिने र केही राम्रा कार्यमूलक अनुसन्धानको उदाहरणहरू प्रस्तुत गरिदिने अभ्यास मात्र गर्न सक्दा पनि प्रभावकारी हुन्थ्यो भन्ने आशय प्रस्तुत गर्नुभएको छ । 

पढ्नुहोस् उक्त लेख : कार्यमूलक अनुसन्धान : गर्न खोजेको के ? भएको के ?

सोही सन्दर्भमा आधारित रहेर कार्यमूलक अनुसन्धानको सम्बन्धमा आफुले भोगेका केही अनुभव यस आलेख मार्फत् समेट्ने कोशिस गरेको छु । 

शैक्षिक तालिम केन्द्रमा प्रशिक्षकको रुपमा कार्यरत हुँदा शिक्षकको पेशागत विकास तालिम पश्चात तालिमको परिपुरक सामग्रीको रुपमा पेस भएका कार्यमूलक अनुसन्धानका प्रतिवेदन पढ्ने अवसर पाएको थिएँ । शिक्षकसँग कार्यमूलक अनुसन्धान प्रतिवेदनको बारेमा छलफल गर्ने कोशिस पनि गरेकै हो । छलफलमा केहीले सकारात्मक उत्तर दिनु भयो भने केहीले कर्तव्य विहिन जवाफ । केहीले यससँग सम्बन्धित तालिममा सहभागी हुने इच्छा राख्नु भएको र त्यस्ता शिक्षकलाई कार्यमूलक अनुसन्धानको तालिममा सहभागी पनि गराएको कुरा स्मरण गर्न चाहन्छु । सरकारले जतिसुकै राम्रा नीति निर्माण बनाए पनि कार्यान्वयन कर्ता शिक्षक हुन् उनीहरुको सहयोग विना शिक्षाको गुणस्तर कल्पना भन्दा बाहिरको कुरा हो । गुणस्तरीय शिक्षाको मुख्य सम्वाहक शिक्षक नै हुन यसमा दुई मत छैन ।

काम गर्दै अनुभव गर्दै कार्य शैलीमा सुधार ल्याउने र समस्या समाधान वा भैरहेको अवस्थामा सुधार गर्ने रणनीतिक कार्य प्रणाली नै कार्यमूलक अनुसन्धान हो । कार्यमूलक अनुसन्धान वास्तवमा कार्यमूलक भयो वा भएन भनी मुख्य गरी पाँच वटा आधारमा मूल्याङ्कन गरिन्छ । 

पहिलो विषय वस्तु आफ्नो कार्य क्षेत्रसँग सम्बन्धित हो वा होइन । 

दोस्रो समस्या भनेर उल्लेख गरिएको विषयवस्तु कसरी समस्या भयो प्रमाण । प्रमाण विना मनगढन्ते रुपमा समस्या लेख्दैमा समस्या हुँदैन । 

तेस्रो समस्या समाधान गर्दा अनुसन्धानकर्ताले नै केही न केही कार्य गरेकै हुनु पर्छ । विना कार्य कार्यमूलक अनुसन्धान हुँदैन । 

चौथो भइरहेको अवस्थामा सुधार ल्याउन कार्यमूलक अनुसन्धान गरिने भएकाले सुधार नभए सम्म चक्रियरुपमा (योजना कार्य अवलोकन प्रतिविम्बन पुनःयोजना) निरन्तर चलिरहन्छ । 

पाचौँ पहिले काम गर्ने तौर तरिकामा केही कमजोरी भएकाले यस्तो अवस्था आएको ठानेर आफुमा सुधार गर्नु पर्छ । काम गर्ने रणनीति परिवर्तन गर्नु पर्छ । अरुलाई सुझाव दिन कार्यमूलक अनुसन्धान गरिदैन बरु यसमा उल्लेख गरेको रणनीति यस्तै समस्या भएकाले समाधान गर्नमा प्रयोग गर्न सक्छन् र अन्तमा यो लघु अनुसन्धान भएकाले यसको समयावधि छोटो हुन्छ ।

माथि उल्लेखित आचार्यको लेखमा उदाहरणको रुपमा प्रस्तुत कार्यमूलक अनुसन्धान प्रतिवेदनको विश्लेषणमा केही थप्न चाहन्छु । 

पहिलो अनुसन्धानको समस्या विद्यार्थी अङ्ग्रेजीको शब्दार्थमा कमजोर छन् भनिएको छ तर कति विद्यार्थीमा परीक्षण गर्दा कतिले जाने कतिले जानेनन् ? उल्लेख छैन । समस्या नै हो भनेर प्रमाण दिइएको छैन । यस समस्याको समाधानका निमित्त अनुसन्धान कर्ताले  आफ्नो शिक्षणमा के परिवर्तन गरे कतै उल्लेख छैन । सुधारका लागि सुझाव दिएका छन् तर मैले यसरी शिक्षण गर्दा सुधार आएको उल्लेख छैन । 

तेस्रो अनुसन्धानको उद्देश्य कार्यसम्पादन मूल्याङ्कन फाराममा अनिवार्य पेश गर्नु पर्ने भएकाले भन्ने लेखिएकाले यो अनुसन्धान सिकाइ सुधारमा भन्दा बढुवाको नम्बर प्राप्त गर्ने उद्देश्य देखिएकाले अनुसन्धान प्रतिवेदन मनगढन्ते हो कि भन्ने आशंका सहजै गर्न सकिन्छ । 
पाचौँ नम्बरको अनुसन्धानको विषय नै कार्यमूलक अनुसन्धान हुन सक्छ भन्ने लाग्दैन । कार्यमूलक अनुसन्धानमा अरुलाई सुझाव दिने भन्दा आफ्नो क्रियाकलापमा परिवर्तन गरी वर्तमान अवस्थामा सुधार गर्नु पर्नेमा त्यस्तो देखिएन । 

छैठौँ अनुसन्धानमा उद्देश्य अनुसारको क्रियाकलाप देखिदैन । तथ्याङ्क सङ्कलनको लागि प्रधानाध्यापक अभिभावक र विद्यार्थीसँग अन्तरवार्ता हैन पहिलाको अवस्थामा सुधार भयो कि भएन भनेर अवलोकन गर्ने अभिलेख हेर्ने हो । अनुसन्धान सकिए पछि सुझाव दिने हैन के सिकाइ भयो उल्लेख गर्ने हो । क्ष्भ्ःक्ष्क् को अनिवार्यता समस्या र चुनौतीहरु विद्यालयमा शिक्षण गर्ने शिक्षकहरुका लागि कार्यमूलक अनुसन्धानको विषय क्षेत्र हुन सक्दैन । यो त शैक्षिक तथ्याङ्कमा काम गर्ने तथ्याङक शास्त्रीको लागि उपर्युक्त होला ।  नेपाली विषयको नतिजा विश्लेषण नेपाली विषयको नतिजा कमजोर हुनुको कारण पत्ता लगाउने एउटा परियोजना कार्य भयो । अब कारण पत्ता लगाइ सके पछि सुधारको लागि काम गर्दै अनुसन्धान गरेको भए कार्यमूलक अनुसन्धान हुने थियो ।

जे जति शिक्षकहरुले तालिम लिएका छन्, करिब ९० प्रतिशतले कार्यमूलक अनुसन्धान सम्बन्धी तालिम लिएका छन् । एक पटक त सरकारले सबै स्थायी शिक्षकका लागि भनेर सघन तालिम नै सञ्चालन गरेको थियो । तर व्यवहारमा त्यही अनुरुपको सिकाइ नभएको सत्य हो । समस्या कहाँनेर छ त पत्ता लगाइ समाधान गर्नु आवश्यक छ । 

पहिलो कुरा त साविकको शैक्षिक जनशक्ति विकास केन्द्रले दिने प्रशिक्षक प्रशिक्षणको सहभागीले कति ज्ञान आर्जन गर्छ र तालिम केन्द्रमा हुने प्रशिक्षक प्रशिक्षणमा कति हस्तान्तरण गर्न सक्छ । फेरी यो कार्यान्वयन गर्ने शिक्षकसम्म पुग्दा कति पुग्छ भन्ने मुख्य कुरा छ । किन भने स्वअध्ययनबाट ज्ञान आर्जन गर्ने फुर्सद र प्रवृत्ती हामीमा कमै छ । 

दोस्रो कुरा यसलाई लक्षित समुहले ग्रहण गर्न सक्छ वा सक्दैन गर्छ वा गर्दैन महत्वपूर्ण कुरा हो । तालिमका प्रशिक्षकहरु मध्ये आफैले कार्यमूलक अनुसन्धान गरेको प्रशिक्षकहरु थिएनन जसले गर्दा तालिम पूर्णयता सैद्धान्तिक मात्र भयो । 

विद्यार्थीलाई नियमित गृहकार्य गर्ने बनाउने ।

पृष्ठभुमिः म भगवती माध्यमिक विद्यालयको शिक्षक हुँ । मैले पढाउने विद्यालयमा विद्यार्थीको सख्या निकै छ तर विद्यार्थीमा पढाइ प्रतिको रुचि कम रहेको देखिन्छ । आर्थिक अवस्थाले गर्दा अभिभावकको पढाइ प्रति पढेर के हुन्छ र ? भन्ने जस्तो धारणा छ । समाजमा धेरै नपढेका युवाहरू पनि विदेश गएर पैसा कमाएको भएर होला विद्यार्थीमा पनि नपढेर के भो त पैसा कमाउने त हो भन्ने मान्यता रहि आएको छ । सबै जसो विषयमा विद्यार्थी कमजोर छन् । अझै गणितमा विद्यार्थीको सिकाइ उपलब्धी न्युन रहेको छ ।

समस्याको कथनः मैले पढाउने विद्यालयको कक्षा ९ मा ५० जना विद्यार्थी रहेका छन् । गृहकार्य दिदाँ ५० जना मध्ये जम्मा १५ जनाले मात्र नियमित गृहकार्य गरेर ल्याउँछन् । विद्यार्थीले गृहकार्य नगर्नुको धेरै कारणहरू हुन सक्छन् । जस्तै शिक्षकले गृहकार्य नियमित परीक्षण नगरेकाले, शिक्षकले पढाएको विषयवस्तु नबुझेर घरमा गृहकार्य गर्ने वातावरण नभएर कपि कलम नभएर, गृहकार्य बढी भएर आदि । उल्लेखित कारणहरू मध्ये शिक्षकले गृहकार्य नियमित परीक्षण नगर्नु मुख्य कारण रहेको ठानेको छु ।

अध्ययनको औचित्यः मैले पढाउने विद्यालयका कक्षा ९ का विद्यार्थीको गणित विषयको औषत सिकाइ उपलब्धी ३४ रहेको छ । गृहकार्य सिकाइ उपलब्धी बढाउने एउटा सफल उपाय भएको कुरा विभिन्न अनुसन्धानले देखाएको छ । नियमित गृहकार्य गराउन सके विद्यार्थीको सिकाइ उपलब्धी बढ्ने हुँदा यस अध्ययनको औचित्य पुष्टि हुन्छ ।

अध्ययनको उद्देश्यः कक्षा ९ का विद्यार्थीलाई नियमित रुपमा गृहकार्य गर्ने बनाउने । (अहिलेको १५ जनाबाट ४५ पुर्याउने)

अध्ययनको विधि तथा प्रक्रियाः नियमित गृहकार्य गराउने बानीको विकासका लागि धेरै उपायहरू हुन सक्छन् । यस अनुसन्धानमा मैले शिक्षकले नियमित गृहकार्य परीक्षण गरिदिएमा विद्यार्थीमा गृहकार्य गरेर ल्याउने बानीको विकास हुन्छ भन्ने मानी यसैलाई हस्तक्षेपकारी रणनीतिक प्रयासको रुपमा लिएको थिएँ । अनुसन्धानको सुचना संकलन गर्नका लागि स्वप्रत्यावर्तन डायरी, चेक लिष्ट र अवलोकन फाराम उपयोग गरेको थिएँ । यो अनुसन्धानको समयावधि मिति २०७२ जेष्ठ २७ देखि ३१ सम्म जम्मा ५ दिनको रहेको थियो । यस अनुसन्धान सम्पन्न गर्नका लागि ५ दिनको क्रियाकलाप यसप्रकार थियो ।

क्रियाकलाप १ : विद्यार्थीले गृहकार्य गरेर ल्याए नल्याएको जाँच गर्न कक्षाको शुरुमा सबैलाई गृहकार्य अगाडी देखाएर राख्न लगाएँ । (पहिलो दिन)

क्रियाकलाप २ : एक जनाको परीक्षण गरेपछि अरुको पनि यसै गरी अरुको परीक्षण गर्न विद्यार्थीलाई लगाएँ । (दोस्रो र तेस्रो दिन)

क्रियाकलाप ३ : १० जनाको नमुना छनोट गरी गृहकार्य परीक्षण गरेँ । (चौथो दिन)

क्रियाकलाप ४ : गृहकार्यलाई कक्षा कोठामा सङ्कलन गरी अफिस कोठामा लगेर खाली समयमा परीक्षण गरेँ । (पाँचौँ दिन)

क्रियाकलाप ५ : गृहकार्य गर्ने विद्यार्थीको सख्या गणना गरेँ । (छैठौँ दिन)

अनुसन्धानबाट प्राप्ती तथा सिकाइ : माथि उल्लेख गरिएको क्रियाकलाप गर्दै जाँदा पहिलो दिन १६ जना, दोस्रो दिन २० जना, तेस्रो दिन ३० जना, चौथो दिन ३२ जना, पाँचौ दिन ३५ जना हुँदै छैठौं दिन गृहकार्य गरेर ल्याउने विद्यार्थीको संख्या ३७ पुग्यो । यस बाट नियमित शिक्षकले गृहकार्य परीक्षण गर्ने हो भने विद्यार्थीको गृहकार्य गरेर ल्याउने संख्या बढ्दो रहेछ । तर गृहकार्य गरेर ल्याउने विद्यार्थीको सख्या उल्लेख्य बढेर गए पनि सन्तोष मान्ने अवस्था नभए पछि मैले गृहकार्य परीक्षण पश्चात पृष्ठपोषण दिएँ भने यो संख्या बढ्ने मानेर थप दुई दिन गृहकार्य परीक्षण पश्चात पृष्ठपोषण दिन थालेँ । दुई दिन पश्चात गृहकार्य गरेर ल्याउने विद्यार्थीको संख्या बढेर ४३ भयो । शिक्षकले नियमित गृहकार्य परीक्षण गरेर पृष्ठपोषण दिने हो भने विद्यार्थीले गृहकार्य नियमित गरेर ल्याउने रहेछन् भन्ने सिकाइ भयो ।

कार्यमूलक अनुसन्धान प्रतिवेदन विद्यार्थीलाई नियमित गृहकार्य गर्ने बनाउने शीर्षकमा तयार गरिएको छ । अध्ययनको पृष्ठभुमी र समस्याको कथनमा स्पष्ट रुपमा समस्या के हो र कसरी समस्या भयो भन्ने प्रमाण दिएर लेखिएको छ । त्यस्तै समस्यामा सुधार भएमा यसको प्रभाव के हुने भन्ने समेत पृष्ठभुमी र अध्ययनको औचित्यमा उल्लेख गरिएको छ । उद्देश्य स्पष्टरुपमा किटान गरिएको छ । शिक्षक स्वयंले सुधारका लागि योजनावद्ध ढङ्गले क्रियाकलाप तयार गरी कार्यान्वयन गरेको देखिन्छ । अनुसन्धानमा सुधार भयो कि भएर भनेर यकिन गर्न पहिलेको अवस्था र अनुसन्धान पश्चातको अवस्थामा तुलना गरिएको छ । अनुसन्धानको क्रममा कस्ता साधनहरूको प्रयोग गरियो भन्ने उल्लेख गरिएको छ । शुरुको अवस्थामा अपेक्षा अनुसारको सुधार नहुँदा अरु दुई दिन थप गरी अर्को हस्तक्षेपकारी रणनीति अपनाइ सोही वमोजिमको क्रियाकलाप गरिएको छ । चक्रीय स्वरुपको छ । अन्तमा अनुसन्धानबाट नतिजाका आधारमा आफ्नो सिकाइ उल्लेख गरिएको छ ।

मेरो ज्ञानको क्षमताले भ्याए सम्म विश्लेषण गर्दा देवीराम आचार्यको लेखमा उल्लेख गरिएका कार्यमूलक अनुसन्धान प्रतिवेदनहरुमा उहाँले नै विश्लेषण गरे अनुरुप कार्यमूलक अनुसन्धानको न्युनतम गुणहरु पनि पाइदैन भन्ने कुरामा सहमत छु भने पछिल्लो कार्यमूलक अनुसन्धानका सबै प्रक्रिया र विशेषता अनुरुप भएकाले राम्रो मान्न सकिन्छ । 

निष्कर्षः 

कार्यमूलक अनुसन्धान विद्यार्थीको सिकाइ समस्या भएको विषयवस्तुमा कार्यमूलक अनुसन्धान गरेर सिकाइ उपलब्धी बढाउने उद्देश्यका साथ गर्ने गरिन्छ । यसले शिक्षकको आफ्नो निरन्तर पेशागत विकास भई निखारता ल्याउने भएकाले शिक्षकलाई कार्यमूलक अनुसन्धान गर्न उत्प्रेरित गर्ने उद्देश्यले शिक्षकको कार्यसम्पादन मूल्याङ्कनमा अनिवार्य गरिएको जस्तो लाग्छ । तर  शिक्षकहरूले कार्यमूलक अनुसन्धान योजनावद्ध रूपमा नगर्ने वा गरेको अनुसन्धानलाई लिपिवद्ध नगर्ने र कार्यसम्पादन मूल्याङ्कनमा बुझाउनका लागि मात्र लेख्ने गरेको पाइन्छ । शिक्षाको गुणस्तर अभिवृद्धिका मुख्य अभियन्ता शिक्षक नै भएकोले उनीहरुलाई उत्प्रेरित गर्न अनुसन्धान गरेर लेख्ने र नगरीकन लेख्ने हरूबीच सकारात्मक विभेद गर्नु पर्छ । हामी शिक्षाकर्मीले पनि आ आफ्नो स्थानबाट यसका लागि सहयोग समन्वय र उत्प्रेरित गरौं । नत्र कार्यमूलक अनुसन्धान नगरीकन लेख्ने विषय बन्नेमा दुई मत छैन ।

शिक्षा मन्त्रालयका कर्मचारी ढकाल हाल जापानको नारुतो विश्वविद्यालयमा अध्ययनरत छन् । 

प्रतिक्रिया