Edukhabar
मंगलबार, ०६ चैत्र २०८०
खबर/फिचर

शिक्षकको पेन्सन योगदानका आधारमा, सामाजिक सुरक्षा कोषमा संलग्न गराईने

विहीबार, १६ फागुन २०७५

काठमाडौं - अब नियुक्त हुने शिक्षकलाई योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा संलग्न गराईने भएको छ । शिक्षा मन्त्रालयले तयार पारेको राष्ट्रिय शिक्षा ऐनको मस्यौदामा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अन्र्तगत शिक्षकलाई पनि समेट्ने प्रस्ताव गरिएको छ । यस अघि शिक्षकले पाउँदै आएको पेन्सन अब सोही कोष अन्र्तगत पाउनेछन् । यसका लागि शिक्षकहरुको योगदानमा आधारित एक शिक्षक निवृत्तभरण कोषको परिकल्पना मस्यौदामा गरिएको छ । 

‘निवृत्तिभरण प्रयोजनका लागि योगदानमा आधारित एक शिक्षक निवृत्तिभरण कोषको व्यवस्था गर्नु पर्नेछ’ ऐनको मस्यौदामा भनिएको छ, ‘निवृत्तिभरण कोषमा सम्बन्धित शिक्षक तथा कर्मचारीको प्रचलित तलब स्केलबाट तोकिए बमोजिम रकम कट्टी गरी सोही बराबारको रकम नेपाल सरकारद्वारा थप गरिनेछ ।’

सहमतिका लागि कानून र अर्थ मन्त्रालयमा पठाईएको ऐनको मस्यौदामा ऐन प्रारम्भ हुनु अघि नै निवृत्तभरण पाउने गरी अवकाश प्राप्त शिक्षक र यो ऐन प्रारम्भ हुनु भन्दा अघि स्थायी पदका लागि शिक्षक सेवा आयोगबाट विज्ञापन भइसकेको तर यो ऐन प्रारम्भ भए पछि नियुक्त हुने शिक्षकको हकमा भने यो व्यवस्था लागू नहुने उल्लेख छ । अर्थात् उनीहरुले यस अघि जस्तै प्रकृयाबाट पेन्सन पाउने छन् । 

प्रस्तावित ऐनको परिच्छेद ६ मा उल्लेख विद्यालय शिक्षक तथा कर्मचारी व्यवस्थापन अन्र्तगत दफा ५५ मा रहेको विद्यालय शिक्षकको सेवाका शर्तमा गरिएको उक्त व्यवस्थामा ऐन प्रारम्भ हुनु अघि नियुक्ति पाई कार्यरत रहेका शिक्षकको पारिश्रमिक र सुविधा त्यस्तो शिक्षकले पाइरहेको पारिश्रमिक र सुविधा भन्दा प्रतिकुल हुने गरी कानूनी व्यवस्था गर्न नपाइने पनि उल्लेख छ । 

पेन्सनले राज्यलाई अधिक भार भएको भन्दै सरकारले हालको प्रकृतीको पेन्सनको प्रावधान हटाउने गरी सामाजिक सुरक्षा कोषको अवधारणा ल्याएको हो । निजी क्षेत्रका श्रमिकमा हकमा आगामी साउन १ गते पछि लागू हुने उक्त व्यवस्था शिक्षकका हकमा पनि लागू हुने गरी शिक्षा ऐनमै समेट्न लागिएको हो । 

प्रतिक्रिया