Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विदेशमा शिक्षा

आक्रमण क्षेत्रको विद्यालय घुमाईयो, बालबालिकाहरु कुरान पढ्दै

विहीबार, २८ चैत्र २०७५

काठमाडौं - पाकिस्तानले विदेशी सञ्चारमाध्यम र कुटनीतिज्ञहरुलाई गत फ्रेवुअरीमा भारतले हवाई आक्रमण गरेको घटनास्थल भ्रमण गराएको छ । उक्त भ्रमणका बेला भारतीय सेनाले आक्रमण गरेको बालाकोट क्षेत्रमा रहेको इस्लामिक विद्यालय पनि घुमाएको बीबीसीले जनाएको छ । 

'उनीहरूलाई बालाकोटस्थित एउटा इस्लामिक विद्यालयमा जान दिइएको थियो, जहाँ भारतीय सञ्चारमाध्यमहरूका अनुसार कश्मीर आक्रमणको प्रतिक्रियास्वरूप भारतले गरेको कारबाहीमा लडाकुहरू मारिएका थिए' बीबीसीको खबरमा भनिएको छ, 'उक्त विद्यालयको भवन सकुशल देखिएको थियो ।'

पाकिस्तानी सेनाले आतङ्कवादी शिविरका रूपमा त्यसको प्रयोग गरिएको भारतको दावी अस्वीकार गर्दै आएको छ । भारतीय बम खुला स्थानमा खसाइएको र त्यसबाट कसैलाई केही नभएको उसले बताउँदै आएको छ । तर भारतले आक्रमणबाट जैशएमोहम्मद समूहका धेरै लडाकु मारिएका र उनीहरूको शिविर ध्वस्त भएको बताउँदै आएको छ । 

बमवारी पछि विदेशी सञ्चारमाध्यमले त्यस्तो भ्रमण गर्न पाएको उक्त पहिलो अवसरमा पुगेकाहरुले मदरसाको भवनमा करिब डेढ सय देखि दुई सय बालबालिकाले कुरानको पाठ गरिरहेको भेटेका थिए । उक्त भवनमा साढे दुई हजार बालबालिका अट्न सक्ने बताइन्छ । 

पाकिस्तानी सेनाका प्रवक्ता मेजर जेनरल आसिफ गफूरले मदरसाले कुनै हानि नर्पुयाएको र आतङ्कवादी प्रशिक्षण शिविर भएको भन्ने भारतीय दाबीमा कुनै सत्यता नभएको बताए।

बीबीसीले अन्तर्वार्ता गरेका एक शिक्षक र विद्यार्थीले आफूहरू सबै स्थानीयवासी भएको र भारतीय आक्रमण पछि मदरसा बन्द रहेको बताए ।

सञ्चारमाध्यमलाई अनुमति दिइएको भए पनि छोटो अन्तर्वार्ता गर्न भनिएको थियो र भ्रमणलाई सीमित पारिएको स्पष्ट थियो । उनीहरूलाई मझौला आकारको एउटा खाल्डो देखाइएको थियो । पाकिस्तानी सेनाका अनुसार भारतीय वायुसेनाले खसाएको बमबाट त्यो खाल्डो बनेको हो । बीबीसीका उस्मान जाहिदका अनुसार विस्फोटका कारण एउटा घरमा सामान्य क्षति भएको थियो भने एक जना घाइते भएका थिए । विदेशी पत्रकार र कूटनीतिज्ञले ढलेका केही रूख पनि देखे ।

बिहीबारबाट शुरु भारतीय आमनिर्वाचनको पूर्वसन्ध्यामा बुधबार उक्त विद्यालयको भ्रमण गराइएको हो । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतमा मोदीले जिते कश्मीर विवाद समाधान हुन सक्छ भन्ने प्रतिकृया दिएका छन् । 

भारतमा प्रधानमन्त्री नरेन्द्र मोदीका लागि जनमत संग्रहका रूपमा हेरिएको निर्वाचनको पहिलो चरण बिहीवारबाट सुरु भएको छ । दशौँ लाख भारतीयहरूले २० वटा राज्य र केन्द्रशासित क्षेत्रका ९१ वटा निर्वाचन क्षेत्रमा मतदान गर्नेछन् ।

संसद्को तल्लो सदन लोक सभाका लागि सात चरणमा हुने मतदान मे १९ तारिखसम्म हुनेछ । तर मतगणना भने २३ तारिखमा सुरु हुनेछ । नब्बे करोड योग्य मतदाता रहेको यो निर्वाचनलाई विश्वमा अहिले सम्म भएको सबैभन्दा ठूलो निर्वाचन मानिएको छ ।

प्रतिक्रिया