Edukhabar
विहीबार, ०६ बैशाख २०८१
अन्तैवाट

शिक्षाध्यक्षकै अध्यक्षतामा प्रवेश परीक्षा समिति बनाउन निर्देशन

बुधबार, २९ जेठ २०७६

काठमाडौं २९ जेठ / बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा प्रवेश परीक्षा समिति विगतको विधि र प्रक्रियाअनुसार नै शिक्षाध्यक्षको अध्यक्षतामा गठन गरेर परीक्षा सञ्चालन गर्न चिकित्सा शिक्षा आयोगले निर्देशन दिएको छ। आयोगका सहअध्यक्ष एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले प्रतिष्ठानका उपकुलपति डा. राजकुमार रौनियारलाई पत्रमार्फत यस्तो निर्देशन दिएका हुन्। प्रतिष्ठानका उपकुलपति डा. रौनियारले विगतको अभ्यासविपरीत वदनियतपूर्वक शिक्षाध्यक्षलाई संयोजक नतोकी प्रवेश परीक्षा समिति गठन भएको विषयमा मन्त्रालयसहित विभिन्न निकायमा उजुरी परेको थियो।

सोही उजुरीबारे प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष केपी शर्मा ओलीबाट यस्तो निर्देशन भएको मन्त्री पोखरेलले पत्रमा खुलाएका छन्। ‘चिकित्सा शिक्षा आयोगको मिति २०७५ चैत ४ गतेको बैठकको निर्णयअनुसार पूर्ववत् विधि र प्रक्रियाअनुरूप नै प्रवेश परीक्षा सञ्चालन गर्नेगरी आवश्यक व्यवस्था मिलाउने भनी प्रधानमन्त्री एवं चिकित्सा शिक्षा आयोगका अध्यक्ष तथा बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कुलपतिज्यूबाट निर्देशन प्राप्त भएको छ,’ मन्त्री पोखरेलले जेठ २४ मा प्रतिष्ठानका उपकुलतिलाई पठाएको निर्देशनपत्रमा भनिएको छ।

बिपी प्रतिष्ठानका उपकुलपति डा. रौनियारले केही समयअघि शैक्षिक डिन डा. सिबी झाको संयोजकत्वमा प्रवेश परीक्षा समिति गठन गरेका थिए। उकुलपति रौनियारमाथि शिक्षाध्यक्ष डा. गुरु खनाललाई बाइपास गरेको आरोप लाग्दै आएको थियो। उपकुलपति रौनियार र शिक्षाध्यक्ष खनालबीच लामो समयदेखि मतभेद रहँदै आएको छ। आफूलाई पदबाट हटाउन खनालले पनि भूमिका खेलेको भन्दै उपकुलपति रौनियार उनीसँग रुष्ट छन्। सोही कारण उपकुलपति रौनियारले शिक्षाध्यक्ष खनाललाई परीक्षा समितिमा नराखेको एक पक्षको बुझाइ छ।

प्रतिष्ठानमा शैक्षिक प्रशासन तथा अध्ययन, अनुसन्धान र परीक्षाबारे व्यवस्था गर्ने जिम्मेवारी शिक्षाध्यक्षलाई हुने प्रावधानविपरीत उपकुलपति रौनियारले शैक्षिक डिनलाई परीक्षा समितिको संयोजक तोकेको प्रतिष्ठानका चिकित्सकहरू बताउँछन्। यो विगतमा प्रतिष्ठानमा भइरहेको अभ्यासको विपरीत भएको पनि उनीहरूको बुझाइ छ। स्वयं प्रतिष्ठानका शिक्षाध्यक्ष डा. खनाल पनि विगतको अभ्यासलाई हेरे पुग्ने बताउँछन्। ‘म शिक्षाध्यक्षबिनाको प्रवेश परीक्षा समिति बनेको छैन, मैले यस्तो विवादित निर्णय किन गर्नुहुन्छ ? सच्याउनुस् भनेर लिखित रूपमा नै उपकुलपतिज्यूलाई भनेको थिएँ,’ शिक्षाध्यक्ष डा. खनालले भने।

उपकुलपति डा. रौनियारले शिक्षाध्यक्षको सिफारिसमा एसिस्टेन्ट डिन नियुक्ति हुने प्रावधानलाई पनि मिचेर नियुक्ति दिएको डा. खनालको भनाइ छ। शिक्षाध्यक्षले तीनजनाको नाम सिफारिस गर्ने र उपकुलपतिले तीमध्ये एकजनाको नाम स्वीकृत गर्ने प्रावधान हो। तर, उपकुलपति रौनियारले त्यसविपरीत डिनमार्फत नै सिफारिस गराएर असिस्टेन्ट डिनलाई पनि नियुक्ति दिएको खनालले जानकारी दिए। ‘शिक्षाध्यक्षले तीनजनाको नाम सिफारिस गनुपर्छ र उपकुलपतिले एकजनालाई असिस्टेन्ट डिन स्वीकृत गर्ने हो। अहिले त डिनमार्फत नै पो भएछ,’ उनले भने।

प्रतिष्ठानका उपकुलपति डा. रौनियारले भने आफू बिदामा भएकाले मन्त्रीले पठाएको पत्रबारे थाहा नभएको प्रतिक्रिया दिए। उनले प्रतिष्ठानको नियमावलीअनुसार नै आफूले डिनको अध्यक्षतामा प्रवेश परीक्षा समिति गठन गरेको पनि जिकिर गरे। ‘पत्र कस्तो आएको छ, त्यो हेरेर मात्र निर्णय गर्छु। तर मैले नियमावलीअनुसार नै गठन गरेको हुँ। नियमावलीले सुपरिवेक्षणको जिम्मा त शिक्षाध्यक्षलाई नै दिएको छ,’ उपकुलपति डा. रौनियारले भने, ‘पहिला प्रवेश परीक्षाको संयोजक भिसी नै हुन्थ्यो।’

यसपालि एमडी/एमएसको प्रवेश परीक्षाको प्रोस्पेक्टसमा पनि विगतको प्रावधानलाई खारेज गर्ने काम गरिएको चिकित्सकहरूले बताएका छन्। विगतमा विदेशी विद्यार्थीहरूको कोटा खाली भए स्वतः नेपाली विद्यार्थीहरूका लागि रूपान्तरण हुने प्रावधान राखिन्थ्यो। यसपालि भने परीक्षा समितिले निर्णय गरेअनुसार हुने भन्ने प्रावधान गरिएको बताइएको छ। चिकित्सा शिक्षा आयोगको चैत ४ गतेको बैठकले आयोगले अर्को निर्णय नगरेसम्म चिकित्सा शिक्षा क्षेत्रका निकायहरूले हाल अपनाई आएको विधि तथा प्रक्रियाअनुसार नयाँ नीतिगत निर्णयबाहेकका कार्यहरू यथावत् रूपमा सञ्चालन गर्ने र साझा प्रवेश परीक्षा, शुल्क, संगठन संरचना निर्माण तथा नियमावली तर्जुमाको लागि स्वास्थ्यमन्त्रीको संयोजकत्वमा एक समिति गठन गर्ने पनि निर्णय गरेको थियो।

नागरिकबाट 

प्रतिक्रिया