खराब सपना


छवि अनित्य, कवि त हुन् नै उनी पेशाले शिक्षक हुन् । सामुदायिक विद्यालयको स्थायी शिक्षक हुँदा भोग्नु परेका चुनौती सार्वजनिक गर्दै उनले राजिनामा गरेका थिए । त्यसो त अहिले पनि उनी शिक्षण पेशामै संलग्न छन् । मकवानपुरको हेटौंडा स्थित निजी विद्यालयमा आवद्ध उनका कविता समकालिन मानवीय चेतमा उभिएका हुन्छन् । समाजका विभिन्न रुपमा फैलिएका विकृति प्रति उनका कविता संवेदनशील हुन्छन् । भानु श्री रचना पुरस्कार, २०७० एवम् राष्ट्रिय कविता महोत्सव २०७१, इटहरीमा प्रथम अनित्यको कविता संग्रह ’हल्ला’(२०७१) प्रकाशित छ । शिक्षा साहित्य श्रृखला अन्र्तगत यो साता उनकै कविता प्रस्तुत गरेका छौं । विद्यार्थीको सिकाइ मापन गर्ने शैली र आउँदो पुस्तालाई सिकाउने जनशक्ति तयारीमा नपुगेको ध्यान प्रति एक जना शिक्षकको आँखाबाट उनले कटाक्ष गरेको कविता – खराब सपना 

बालाई सधैं लाग्छ –
मैले भन्दा राम्रो जोतोस् मेरो छोराले खेत
आमालाई पनि लाग्छ –
मेरो भन्दा मीठो बनोस् छोरीको भान्सा
माष्टरहरू किन सपना देख्न पाउँदैनन् –
कि पढाउन् उनका विद्यार्थीले उनैले भन्दा राम्रो !

हरेक सालको नतिजा पिच्छे
किन देखाउँछन् मानिसहरू आकाश छुने सपना ?
किन हुर्काइदिन्छन् किशोर मनमा अम्रिकाने रहर ?
किन भनिदिन्छन् नानीहरूलाई
ठूलो हुनु भनेको मात्रै डाक्टर हुनु हो,
इञ्जिनियर, पाइलट हुनु हो !
सडकमा ढुंगा उचाल्दै राजनीति किन सिक्छन्
औसतमा पास मात्रै हुनेहरू !
किन रोज्छन् शिक्षा शास्त्र
औसत भन्दा मुन्तिरकाहरूले ?

म माष्टर
प्रश्न गरिरहेछु
कि माष्टर हुनु भनेको केही नै नगर्नु हो ?
कि केही नै गर्न नसक्नु माष्टरीको योग्यता हो ?
भन, कहाँ नेर म चुकेँ
के अयोग्यताले बन्न सकिन मेरा प्रिय विद्यार्थीको आदर्श
किन पछ्याउँदैन कोही उच्च श्रेणीको विद्यार्थी मेरो पदचाप
यदि मैले गरेको रहेछु भने कुनै पाप – बनेर माष्टर
सच्याइदिनू
र बनिदिनू तिमी मेरो पनि आदर्श शिक्षक

हुन दिनू –
अरु नै कसैलाई डाक्टर, इञ्जिनियर
अरु नै कसैले उडाउन् हवाइजहाज
अरु नै कोही बनून् वैज्ञानिक
तिमी त शिक्षक बन्नू
र बनाउनू अरु थुप्रै थुप्रैलाई महान ।