भनाइ र गराइमा फरक : कमजोरी लुकाउने कि सुधार्ने !


परिवेश 
 
व्यक्तिगत रुपमा कुराकानी गर्दा हरेक व्यक्ति आर्दशवान नै लाग्छन् । कुरा सुन्दा यस्ता पनि व्यक्ति छन् है हाम्रो समाजमा भन्ने पनि लाग्छ । धेरैको मुखबाट सुनिन्छ “अरुलाई सके सहयोग गर्नुपर्छ, अन्याय त गर्नै हुँदैन” । 
 
अझ कतिपय व्यक्तिका सामाजिक सञ्जालका भित्ता त अर्ति उपदेशका लागि नै बनाइएका हुन् जस्तो पनि देखिन्छ । यसो हेर्दा, व्यक्तिलाई सुन्दा हाम्रो समाजमा त्यति बेथिती र अव्यवस्था नहुनु पर्ने हो किनकी अर्ति उपदेश प्रदान गर्नेको बाहुल्य नै छ यहाँ । भएका बेथिती पनि तत्कालै घट्नु पर्ने हो । व्यक्ति कानूनद्धारा वर्जित काममा संलग्न नहुनु पर्ने हो । सार्वजनिक सेवामा सुधार हुनु पर्ने हो । सेवाको स्तर बढ्नु पर्ने हो । 
 
अन्यत्र जस्तै सार्वजनिक शिक्षामा पनि सुधारको संकेत देखिनु पर्ने हो । तर व्यवहारमा यस्तो देखिँदैन । हरेक व्यक्तिले आफू ठीक, आफूले गरेको काम ठिक भन्दै गर्दा पनि सार्वजनिक जीवनमा सुधार देखिएको छैन । जता गए पनि अर्ति, उपदेश र सदाचारी भेटिन्छन् तर समग्र मानवीय कार्यशैलीमा सुधार किन भएन त ? किन व्यक्तिको भनाई र गराईमा फरक देखिन्छ ? व्यक्तिले किन भनेको जस्तै गर्दैन र जे गरिरहेछ सो भन्दैन ? 
 
शिक्षाकै कुरा गरौं । हामीकहाँ धेरै जनाले सार्वजनिक शिक्षामा सुधारको बहस पैरवी गरेकै छौं । एकातिर हामी निजी विद्यालय चाँहिदैन भन्ने गर्छौं तर त्यहिँनेर भित्र भित्रै हामी मध्ये कतिपयले यसमा लगानी पनि गरेका छौं । यस्ता विद्यालय चाहिन्न भन्नेलाई आफन्त पढाउन निजी विद्यालय मात्र चाहिएको छैन कि, अझ महँगो निजी विद्यालय नै चाहिएको छ । दिउँसोको बैठकमा हामी विदेशी कोर्ष नेपालमा चलाउनै हुन्न भन्छौ तर बेलुकासम्म सन्तानको भविष्य भन्दै यस्तै कोर्ष पढाउने चहाना हामी आफँैमा किन पलाउँछ ? यसो भनेर आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउनै हुँदैन, अन्तराष्ट्रिय कोर्ष पढाउनै हुँदैन भन्न पनि खोजिएको होइन । हरेकलाई आफ्ना सन्तानको भविष्य प्रति चिन्ता हुन्छ नै । सन्तानले राम्रो शिक्षा पाउन, भविष्यमा केहि गर्न सक्ने बनुन्, सफल बन्न सकुन् भन्ने चाहाना हामी सबै अभिभावकमा छ नै, जुन स्वभाविकै हो । तर हामी दैनिक जीवनमा जे गरिरहेका छौं सो सार्वजनिक जीवनमा किन भन्दैनौं ?  व्यक्तिगत रुपमा कुराकानी गर्दा हामीले सन्तानको शिक्षा दिने निकाय, काम गर्ने स्थान र मुलुकलाई प्रतिष्ठाको विषय बनाइ सोहि रुपमा प्रस्तुत गर्छौं तर त्यहि कुरा सार्वजनिक जीवनमा बताउन किन गाह्रो भइरहेछ व्यक्तिलाई ? 
 
आफूलाई सामाजिक न्याय र समन्यायिकताका मसिहा ठान्नेले बिपन्नको कोटामा आफन्त भर्ना गर्दा वा भर्ना गर्न भनसुन गर्दा मनमा कुनै पश्चाताप देखिदैन । सामाजिक सञ्जालको भित्तामा मानवीयताको दर्शन अरुलाई पढाउनेहरुलाई बाटोमा भेटिने अशक्तका बारेमा सोच्ने हेर्ने फूसर्द कहाँ नै छ र ? के गर्दा राज्यको स्रोतमा थप दोहन गर्न सकिन्छ भन्ने कर्मचारी पनि बोलिचालीमा आदर्शवान नै देखिन्छन् । खानका लागि काम गर्न खोज्नेले पनि मुलुक विकासमा महान योगदान दिएको भन्न छाड्दैनन् ? अफिसमा सबैभन्दा काम नगर्ने कर्मचारी आफूलाई सबैभन्दा असल ठान्छ, सबैभन्दा इमान्दार आफैलाई ठान्छ । अझ भनौं मेरै कारणले गर्दा यो मुलुक चलेको छ भन्ने ठान्छ । यसो हेर्दा अहिले कुन शिकार हो र कुन शिकारी हो भनेर छुट्याउन सहज छैन । लिएको रुप, भेष र क्षमताले यीनमा हुने फरक छुट्याउन सकिदैन । देखिन्छ एउटा, गर्छ अर्कै अनि कसरी छुट्याउने ?
 
के साच्चिकै सबै मानिस यस्तै द्धैध मानसिकतामा रहन्छन् त ? हामीमा मात्र यस्तो द्धैध मानसिकता हो कि अन्य मुलुकमा पनि यस्तै हुन्छ ? के यस्तो बाध्यता छ कि जसले मानिसलाई आफूले गरेको काम वा आफ्नो मनको भाव बाहिर ल्याउन रोक्छ ? हुन त अहिलेको युगमा युधिष्ठिरले जस्तै सबै परिस्थितीमा एकै ढँगको भनाइ राख्ने व्यक्ति पाउन कठिन होला । यसो भनेर के समाजमा जे देखिन्छ वा भनिन्छ सो व्यक्त गर्ने व्यक्ति पाउनै कठिन भएको हो त ? 
 
समाजमा द्धैध चरित्र र मानसिकता रहेका मानिस मात्र बस्छन् भन्ने पनि होइन । पहिलेका युधिष्ठिर जस्तै पात्र फेला पार्न नसके पनि यो समाजमा अझ पनि ईमान्दार व्यक्तिहरु छन् । काम चोरहरुको भीडमा ईमान्दार व्यक्तिहरुको सङख्या न्यून होला तर यस्ता व्यक्ति छन् । यीनीहरु अँध्याराको बीचमा मधुरो बत्तीको रुपमा होलान तर छन् । समाजमा आशा जगाउने पात्र यीनै हुन् । यस आलेखमा यस्ता पात्रको चर्चा गर्ने भन्दा पनि मानिसको भनाइ र गराइमा किन फरक हुन्छ भन्ने बारेमा चर्चा गर्न खोजिएको छ ।
 
भनाइ र गराइमा किन फरक ?  
 
भनाइ र गराइमा फरक हुनु मानवीय स्वभाव मात्र हो कि यसका पछाडि अन्य कारण पनि छन् ? यस्तो अवस्था सबै ठाँउमा होला कि केही स्थानमा मात्र होला ? यो व्यक्ति विशेषमा भर पर्छ कि स्थान विशेषमा ? हुन त कुटनैतिक क्षेत्रमा जे भनिन्छ सो गरिदैँन र जे गरिन्छ सो भनिदैँन भन्ने भनाइ छ । तर हामीकहाँ सार्वजनिक जीवनमा नै अधिक मानिस जे भन्छन् सो गदैनन् र जे गर्छन् सो भन्दैनन् भन्ने भनाइ धेरैको छ । यति सम्म द्धैध चरित्र त नदेखाए पनि हुन्थ्यो जस्तो सबैलाई लाग्छ होला कि केहिलाई मात्र लाग्छ होला ? आखिर मानिसको भनाइ र गराइमा यस्तो फरक किन देखिन्छ त ? यसका पछाडि धेरै कारण हुन सक्छन् । 
 
क) हिजोको समाज सामूहिक अवधारणामा चलेको थियो । व्यक्तिका आकाँक्षा एवम् चाहना समाजका चाहनाबाट निर्देशित थिए, समाजको चाहनामा व्यक्तिका आकाँक्षा दमित थिए । व्यक्तिले नचाहे पनि त्यसलाई स्वीकार गर्दै आएका थिए । अहिले व्यक्ति र समाजको अन्तर सम्बन्धमा बदलाव आयो । समाज माथि व्यक्तिगत प्रवृत्ति थप हावी हुन पुग्यो । व्यक्तिले सामाजिक मूल्य मान्यता भन्दा बढि महत्व आफ्ना इच्छा र आकाँक्षालाई दिन थाल्यो । व्यक्तिमा बजारीकरणको प्रभाव प¥यो । व्यक्तिको स्वभाव बढि भन्दा बढि उपभोगमुखी बन्न पुग्यो । बढ्दो उपभोगको चाहना पुरा गर्न व्यक्तिले निजी पूजीँ आर्जन गर्नै पर्ने भयो । बढ्दो महत्वाकाँक्षा पुरा गर्नका लागि जतिसक्यो छिटो पूजीँ जम्मा गर्नुपर्ने अवस्था सृजना हुन पुग्यो । व्यक्ति अरु भन्दा पृथक र उच्च देखिने चाहनाले मात्र निर्देशित हुने अवस्था सृजना भयो । असल बन्ने भन्दा पनि सफल बन्ने चाहनाले समग्र समाज निर्देशित हुँदै गयो । बढ्दो उपभोगको मात्रा पुरा गर्न पूजीँ चाहियो र सो को आर्जन गर्न पनि गर्न नहुने काम गर्न व्यक्ति विवस जस्तै बन्दैछ । शरिरका अङ्ग नै बेचेर मोवाईल खरिद गर्नु पनि यसैको नतिजा हो । तर व्यक्तिमा अरु भन्दा उच्च हुने लोभ पनि सँगै छ जसका लागि समाजवादि धार उपयोगी हुने भएकोले व्यक्ति यहि चक्रमा पिल्सिदै मिठो बोल्न विवस छ । त्यहि भएर व्यक्तिको भनाइ र गराइ मिलेको छैन ।  
 
ख) व्यक्ति स्वभावत आफ्ना र आफन्तका लागि सोच्ने प्राणी हो । वातावरण, चेत र सँगत आदिका कारण मात्र व्यक्तिले आफू र आफन्त बाहेक अरुका बारेमा सोच्ने क्षमता विकास गरेको हुन्छ । त्यहि भएर भन्ने गरिन्छ कि कुनै पनि समाजमा लगभग ९९ प्रतिशत जति मानिसहरू “व्रेड एण्ड वटर” (आफ्नो खाना) का विषयमा मात्र सोच्छन् । बाँकी रहेको एक प्रतिशत मानिस मात्र आफू बाहेक अन्यका बारेमा पनि सोच्ने खालका हुन्छन् । समाजमा विचारको सृजना गर्ने यीनै हुन् । समाजमा परिवर्तन आउने पनि यीनकै विचारका कारणले हो । हाम्रो जस्तो समाज जहाँ मानवका न्यूनतम आधारभूत आवश्यकता पनि सुनिश्चित हुन सकेको छैन, यसमा व्यक्तिले आफ्नो र आफ्नाका लागि सोच्नुलाई कुनै आश्चर्य मान्नै पर्दैन । तर यहि समाजमा रहेर “व्रेड एण्ड वटर”का लागि सोच्ने हामी बोलिचालीमा भने “अरुका लागि काम गरेको भन्छौं” वा “समाजका लागि काम गरेको भन्छौं” । यो नै विडम्बना हो । किनकी व्यक्तिलाई अरु भन्दा उच्च हुने लोभ र पढेर सिकेको समाजवादी बन्ने अति चाहनाले यसो भन्न भित्रै देखि घचघच्याइरहेको हुनसक्छ । 
 
ग) मानिसको स्वभावको विश्लेषण अर्को पाटोबाट पनि गर्न सकिन्छ । यस दुष्टिकोणबाट समाज वा संगठनमा भएका व्यक्तिलाई तीन समूहमा बाँड्न सकिन्छ । पहिलो समूहमा विवेकशील मानिस पर्छन् तर तीनको संख्या अत्यन्त कम वा न्यून हुन्छ । यीनीहरू आफ्ना लागि मात्र नभएर अर्काको लागि पनि सोच्ने गर्छन् । यस्ता व्यक्तिहरू आफ्नो कर्तव्य प्रति सचेत हुन्छन् । कसैले भने पनि नभने पनि यीनीहरु आफ्नो काममा क्रियाशिल भइरहन्छन् । दोश्रो समूहमा यस्ता व्यक्ति पर्छन् जसलाई उत्प्रेरणा वा प्रोत्साहन वा नियम कानूनको माध्यमद्धारा तोकिएको काम गराउन सकिन्छ । यस समूहमा पर्ने व्यक्तिहरु खराब प्रवृत्तिका होइनन् । समाज तथा संगठनको बल यीनमा नै आश्रित हुन्छ । तेश्रो समूहमा पर्ने व्यक्तिहरूको प्रवृत्ति वा स्वभाव अत्यन्त नकारात्मक हुन्छ । यीनीहरूले अरुको इष्र्या र डाह मात्र गर्छन । आफूले गर्ने काम भन्दा पनि अरुको काममा नकारात्मक टिप्पणी गर्नु यीनको दिनचर्या नै बन्छ । खराब प्रवृत्ति भएका यस्ता व्यक्तिहरु विगार्ने भत्काउने कार्यमा रमाउने खालका हुन्छन् । यस्ता व्यक्तिलाई सुधार्न सजिलो छैन । यीनीहरू खाली निहुँ मात्रै खोज्ने प्रवृत्तिका हुन्छन् । तर यीनको सङ्ख्या पनि न्यून हुन्छ । यी तीन स्वभावका व्यक्तिहरुको भनाइ र गराइमा हुने फरकको मात्रामा विविधता हुन्छ । तर फरक हुन्छ नै ।
 
सुधारका उपाय के त ? 
 
माथि नै भनि सकिएको कि समाजमा रहेका मध्ये ९९ प्रतिशत व्यक्ति आफ्नो र आफ्नाका लागि सोच्ने खालका हुन्छन् । हरेक समाजमा यीनकै वाहुल्यता हुन्छ । समाज परिवर्तन गर्नका लागि पनि यीनकै साथ र सहयोग चाहिन्छ । जहाँ आफ्नो लागि मात्र सोच विचार राख्नेको बाहुल्यता रहन्छ त्यहाँ परिवर्तन त्यति सजिलो छैन । भएको काममा सुधार ल्याउन बाहिरबाट केहि न केहि प्रवेश गराउनुपर्छ । स्वभाविकरुपमा “व्रेड एण्ड वटर” का लागि सोच राख्ने व्यक्तिको केन्द्रमा आफू, आफ्नो परिवार, आफ्ना मान्छे रहन्छन् । यस्ता मान्छेले काम शुरु गर्दा नै त्यसबाट आफू र आफ्ना लागि के लाभ हुन्छ भनेर हेर्छन् । यस्ता व्यक्तिहरुले सिद्धान्त र आदर्शका बारेमा पढेका हुन्छन्, सुनेका हुन्छन् र यी विषय कर्ण प्रीय हुन्छन् भन्ने जानकारी पनि राख्छन् । स्वभाविक रुपमा व्यक्ति अरु भन्दा उच्च देखिनका लागि सुन्दा कर्ण प्रीय लाग्ने कुरा गर्न चाहन्छ । भित्रि मनमा भने फरक अवस्था हुन्छ । भित्रि मन अर्थात् अन्तर आत्मा “व्रेड एण्ड वटर”मा तर बाहिरी आवरण समाजमा लागि भन्ने द्धैध मानसिकता यीनमा रहन्छ । 
 
भनाइ र गराइमा एक रुपता ल्याउनका लागि अर्काको बारेमा पनि सोच्ने व्यक्ति चाहिन्छ । तर प्रश्न उठ्छ कि अर्काका लागि पनि सोच्ने वा समाज परिवर्तन गर्न सक्ने व्यक्ति खोज्न कहाँ जाने त ?
 
तर पनि हामी यहि समाजमा रहनु पर्छ । यीनै जनशक्तिसँग काम लिनु पर्छ । यहि नेतृत्वलाई अगाडि बढाउनु पर्छ । यी सबै हामी आफैले भोग्नै पर्ने विषय हुन् । यसबाट भाग्दैमा समस्या समाधान हुने पनि होइन । फेरि हाम्रो समस्या हामी आफैले समाधान गर्ने हो । अधिक मानिसमा रहेको भनाइ र गराइको बीचमा रहेको खाडल कम गर्नका लागि देहायका उपायहरु उपयोगी हुन सक्छन् । 
 
क) हरेक कामका लागि विधि र पद्धति चाहिन्छ । सबैले आ आफ्नो स्थानमा विधि र पद्धतिको पालना गर्नै पर्छ । सोच उच्च राख्दा हुन्छ तर काम गर्दा विधि र पद्धतिबाट मात्रै गर्नुपर्छ । विकसित मुलुक बनेका पनि यहि विधि र पद्धतिको पालना गरेर नै हो । दृष्टिकोण बिनाको विधि र पद्धतिले ठूलो परिवर्तन ल्याउन त नसक्ला, तर यसले स्थिति बसाल्न सहयोग पुग्छ । यहि विधि र पद्धतिले नै मानिसलाई आत्मअनुशासन पालना गराउन सहयोग गर्छ । भनिन्छ मानवीय स्वभाव चञ्चल भएकैले सो को नियन्त्रणका लागि विधि र पद्धति बनाउनु परेको हो । अन्यत्रका समाज पनि यसरी नै अगाडि बढेका हुन । यसरी विधि र पद्धतिको पालनाले भनाई र गराईमा देखिने भिन्नतालाई न्यूनता गर्न सहयोग गर्छ । यस्तो प्रवृत्ति विधि र पद्धतिले मात्र निमिट्यान्न गर्न सक्छ भन्ने चाँहि होइन । 
 
ख) परिवर्तनका लागि व्यक्तिमा आशावादिता जगाउन सक्नुपर्छ भनिन्छ । यहि समाजमा रहेका हरेक व्यक्तिले एक वा दुइवर्ष पछि आफ्नो अवस्था सुधार हुने अपेक्षा राखेका हुन्छन् । तर यीनैले मुलुकको अवस्था राम्रो हुन्छ भन्न सक्दैनन् । आखिर किन त ? व्यक्तिलाई आफूप्रति केहि मात्रामा भए पनि विश्वास छ । मैले यो यो काम गरेँ भने सुधार हुन्छ भन्ने विश्वास छ । तर मुलुक प्रति किन विश्वास छैन त ? नेतृत्वका कारण यस्तो भएको हो ? अहिले समाजमा नकारात्मक धारणा बिक्रि गर्नेको बाहुल्यता छ । सकारात्मक समाचार भन्दा नकारात्मक समाचारको बिक्रि छिटो हुने देखिन्छ । नागरिकमा आशावादिता जगाउने काम नेतृत्वको हो । यसका लागि नेतृत्व सबैभन्दा पहिला ईमान्दार हुनुपर्छ । अर्थात नेतृत्वले जे भन्छ सो गर्नु पर्छ र जे गर्छ सो भन्न सक्नुपर्छ । 
 
नोभेम्बर २७, २०१८ (तदनुसार २०७५ मङ्सिर ११ गते मंगलबार) को द न्यूयोर्क टाइम्सको अङ्कमा Javier C. Hernandez and Quoctrung Bui ले 'The Chinese Dream'  शिर्षकमा चीनमा गरीवी रहेता पनि चिनीया नागरिकमा आशावादीताको मात्रा अमेरिकन र युरोपियन नागरिकमा भन्दा बढी छ भनेर उल्लेख गरेका छन् । चीनमा गरीवी द्रुततर गतिमा घटेको छ, मध्यम वर्ग बढ्दो क्रममा छ, अभिभावकको भन्दा सन्तानको कमाइको दर बढेको छ । यी सबैबाट नागरिकमा आशावादिता बढ्दो क्रममा छ । सन् १९९० मा जन्मेको पुरुष भन्दा सन् २०१३ मा जन्मेको पुरुष ७ वर्ष बढि बाँच्ने सम्भावना रहेको चीन कुनै समय धेरै गरीब (अनुपातमा) हुनेमा पर्दथ्यो भन्ने अहिले मध्यम वर्ग बढि हुनेमा पर्छ ।
 
नागरिकमा आउने आशावादीताले काम प्रति बढि सक्रीय बनाउँछ, आफूप्रति विश्वास गर्न सिकाउँछ, राज्य र यसका निकायहरु प्रति विश्वास गर्न सिकाउँछ । प्रस्तुत सन्दर्भमा नागरिकले आफ्नो अमूल्य समय अनावश्यक काममा भन्दा आफ्नो लक्ष्य प्राप्तिमा प्रयोग गर्छन्, काम प्रति साधनारत हुन्छन्, काम प्रति प्रतिवद्ध हुन्छन् । सबैजना आ–आफ्नो काममा प्रतिवद्ध भए पछि उनीहरुको अवस्थामा सुधार हुने सम्भावना बढ्छ । हाम्रा पुर्खा एवम् ऋषिमुनीहरूले तपस्या गरेर फल प्राप्त गरे भनेको पनि यहि सन्दर्भमा होला । कुनै पनि विषयमा एकाग्र भइ लागी रहने हो भने उपलब्धि हासिल हुने सम्भावना स्वत बढ्छ । नकारात्मक सोच राख्ने व्यक्तिले धेरै समय अनावश्यक बहस, पैरवी र अर्काको कामका बारेमा आलोचना गर्नमै खर्चिन्छ । नकारात्मक सोचले थप नकारात्मक भावना पैदा गर्छ । पछि यहि व्यवहार व्यक्तिको आदतमा बदलिन्छ । यस्ता कुरा गर्न नपाएमा उसमा थप वेचैनी बढ्ने गर्छ । यसबाट व्यक्तिको दैनिकी वा जीवनशैली मात्र प्रभावित हुने नभइ गर्नुपर्ने काम प्रतिको प्रतिवद्धता पनि कमी आउँछ । जब गर्नुपर्ने काममा लगाव कम हुन्छ त्यसबाट प्रतिफल प्राप्त हुने सम्भावना कम रहन्छ । भनाई र गराईमा रहेको खाडल कम गर्न व्यक्तिलाई आशावादि बनाउनका साथै काममा व्यस्त रहने वातावरण तयार गर्नुपर्छ ।
 
ग) हरेक व्यक्ति निश्चित दर्शन, बिचार एवम् मूल्य मान्यताबाट निर्देशित हुन्छ । यी पक्षहरु भित्री मनबाटै आएका हुन्छन् । मानिसमा रहेको यहि भित्री मनको नै उपचार गर्न सकेमा सोच र सोच्ने तरिकामा परिवर्तन ल्याउन सकिन्छ भन्ने मान्यता पूर्वीय दर्शनले लिएको छ । नैतिक शिक्षा, अध्यात्ममा जोड, योग एवम् आत्मिक शान्तिका कार्य पनि मानवीय जीवनका उत्तिकै महत्वपूर्ण पाटा हुन् । तसर्थ हरेक व्यक्तिलाई यस्तो वातावरणमा संलग्न हुने अवसर प्रदान गरिनु पर्छ । असल कामका लागि उत्प्रेरित गरि रहनुपर्छ । यस्तो कार्य विद्यालयबाट शुरु गराउन सकिन्छ । समाजमा केहि गर्नका लागि अहिलेको पाठ्यक्रम भित्रबाट धेरै काम गराउन सकिन्छ । मानव जीवनको लक्ष्यका बारेमा चर्चा गरेर मानिसमा रहेका कमजोरी हटाउन सकिन्छ भनेर बताउनु परेको छ । कमजोरी हरेक मानिसमा हुन्छन, यसलाई लुकाउने भन्दा पनि स्वीकार गरेर सुधार गर्नुपर्छ भनेर विद्यार्थीलाई सिकाउनु आवश्यक छ । कमजोरी नै हुँदैन भनेर होइन कि भएकामा सुधार गर्ने संस्कार बसाल्नुपर्छ । सकारात्मक काम गरेका व्यक्तिहरुको चर्चा गरेर पनि यस्तो भाव विकास गराउन सकिन्छ । इतिहास पढाएर वा विगतबाट सिक्न उत्प्रेरित गरेर पनि केहि गर्न सकिन्छ । 
 
घ) नेतृत्वले असहमतिका बीचमा के कसरी अगाडि बढ्ने भनेर समाजलाई देखाउन सक्नुपर्छ । हाम्रो समाज बहुलता युक्त छ, विविधता युक्त छ । एकले अर्कोको विशेषता स्वीकार गर्न गराउनका लागि नेतृत्व, समाजका अगुवा र विद्यालयले धेरै काम गर्न सक्छन् । विद्यालय तहमा विद्यार्थीलाई सार्थक बहसमा सहभागी हुने अवसर प्रदान गर्न सक्छन् । समाजमा समस्या समाधानका लागि वृहत छलफल तथा अन्तरकृया गर्न सक्छन् । खुला समाज निर्माणमा सबै जना लाग्न सक्छन् । धेरै व्यक्ति आफ्नो गल्ति वा कमजोरीलाई सानो ठान्ने र अरुको सानो गल्ति वा कमजोरीलाई ठूलो मान्ने समूहमा पर्छन्, आफ्ना गल्तिलाई स्वीकार गर्न सक्दैनन्, एउटा गल्तिलाई ढाकछोप गर्न अर्को गल्ति वा कमजोरी व्यक्तिले गर्दछन् । यसलाई फरक ढँगबाट सोचर व्यवहारमा कार्यान्वयनमा ल्याउनु आवश्यक हुन्छ । कमजोरी र गल्तीलाई स्वीकार गरेर, आत्मालोचना गरेर अगाडि बढ्न सकिन्छ भनेर अगुवाले देखाउनु पर्छ । यसले भनाई र गराईमा रहेको भिन्नता कम गर्न दीर्घकालिन रुपमा सहयोग पुग्छ ।
 
र अन्तमा,
 
संक्रमणकालिन समाजमा व्यक्तिको भनाई र गराईमा फरक हुन्छ । यसको सुधारका लागि बाहिरका प्रयास र मानिसलाई भित्रि रुपमा परिवर्तन गर्ने प्रयास दुवै चाहिन्छन् । समाजमा खराब पात्र मात्र छैनन्, थोरै भए पनि असल पात्र पनि छन् । हरेक संगठन पनि समाजको सानो एकाइ भएकोले समाजको प्रतिविम्ब संगठनमा परिहाल्छ । मानिसमा देखिने यस्तो प्रवृत्तिलाई सहि ट्रयाकमा ल्याउन काम गर्दा विधि र पद्धतिको अवलम्बन गर्नु गराउनु पर्छ । 
 
सार्वजनिक प्रशासनमा स्वविवेक भन्दा पनि विधि र पद्दति पालना गर्नुपर्छ । हुन त त्यहाँ पनि ग्रे एरिया छन्, स्थापित विधि र पद्दति भित्र पनि आफ्नो र आफ्ना लागि सोचेर निर्णयलाई प्रभावित पार्ने हुन सक्छ । तर यस्तो मात्रा कम गर्दै जाने कार्यमा जोड दिन आवश्यक हुन्छ । 
 
कर्मचारीलाई आफ्नो काममा दत्त चित्त बनाउन, विद्यार्थीलाई अध्ययनशील बनाउन, कामदारलाई काम प्रति दत्त चित्त बनाउन पनि व्यक्तिमा आशावादी हुने संस्कार विकास गर्नु पर्छ । 
 
लम्साल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हुन् ।