Edukhabar
विहीबार, १३ बैशाख २०८१
खबर/फिचर

शिक्षा मन्त्रीको नयाँ भाका

मंगलबार, १४ साउन २०७६

काठमाडौं - बजेट अधिबेशनबाटै शिक्षा ऐन जारी गर्ने बताउँदै आएका शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले नयाँ भाका सार्वजनिक गरेका छन् । आवश्यक नीति निर्माण र समग्र शैक्षिक व्यवस्थापनमा प्रभावकारी कार्य सम्पादन हुन नसकिरहेको भन्दै मन्त्रालयको आलोचना भईरहेका बेला उनले एक महिना भित्र मन्त्रीपरिषद्बाट शिक्षा नीति पास गर्ने र त्यसकै आधारमा ऐन बनाउने बताएका हुन् । 

शिक्षा तथा मानव श्रोत विकास केन्द्रको सहयोगमा नेपाल पत्रकार महासंघले स्थापना गरेको शिक्षा र लैङ्गिक समानता पत्रकारिता पुरस्कार वितरण समारोहमा बोल्दै मन्त्री पोखरेलले नीति नियम नबनेको भन्दै भईरहेको आलोचना तर्फ आफ्ना धारणा केन्द्रित गराएका छन् । 

यस अघि हिउँदे अधिवेशनबाट जारी हुन नसकेको ऐन बजेट अधिबेशनबाटै भने पनि जारी गर्ने उनले बताउँदै आएका थिए । तर अर्थ र कानून मन्त्रालयले सहमती नदिएपछि उक्त ऐन अलपत्र परेको छ । 

पढ्नुहोस् : मन्त्रीको सचिवालय हावी हुँदा शिक्षा ऐन अलपत्र, कानूनको पनि असहमती

विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत भएको अवस्थामा त्यसको कार्यान्वयन गर्न सहज वाटो निर्माणका लागि ऐन अत्यावश्यक छ । तर, विद्यालय शिक्षामा भएको निजी लगानीलाई गर्ने सम्बोधनका विषयमा सरकार माथि परेको तिव्र दवावका कारण ऐन निर्माण धकेलिदैं आएको छ । मौलिक हक अन्र्तगत संविधानले व्यवस्था गरेको शिक्षाको अधिकार कार्यान्वयनका लागि विद्यालय शिक्षामा भएको निजी लगानीलाई गुठिमा रुपान्तरण गर्न शिक्षा आयोगले सुझाव दिए पछि विद्यालय सञ्चालकहरुले तिव्र विरोध गर्दै आएका छन् । शिक्षालाई मौलिक हक अन्र्तगत गरिएको व्यवस्था कार्यान्वयनका लागि उच्च स्तरीय शिक्षा आयोगले तयार पारेको सुझाव सहितको प्रतिवेदन गत माघ १ गते प्रधानमन्त्री केपी ओलीलाई बुझाईए पनि सरकारले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । आयोगको प्रतिवेदन समेत सार्वजनिक गर्न नसकेको र आयोगको सुझाव अनुसार काम गर्न नसकेको भन्दै उनी माथि आलोचना बढ्दै गएको छ । तर मंगलबार उनले आफ्नो कार्यशैलीको बचाउ गरेका छन् । 

'शिक्षा नीति मन्त्री परिषद्बाट सामाजिक समितिमा २ पटक सम्म छलफल भयो केही दिन भित्रै टुङ्गो लाग्ने छ' उनले भने 'यो महिना भित्र नितीगत कुराका आधारमा ऐन बनाउने दिशा तर्फ अघि बढ्ने तयारी छ ।'

शिक्षा क्षेत्रमा राम्रो गर्न नसकिए पनि नराम्रो हुन नदिएको भन्दै उनले आफ्नो बचाउको प्रयास पनि गरेका छन् । आफूले अहिले गरेको कामको नतिजा १० बर्ष पछि आउने उनको तर्क छ । 

'राम्रो काम गर्न सकिएको छैन भने पनि नराम्रो हुन दिईएको छैन, र कोशिस एक मुष्ट  एकै चोटी एउटा सही दिशा तर्फ रिजल्ट ल्याउने गरी काम गर्ने दिशामा हामी छौं' उनले भने 'अहिलेको रिजल्ट मेरो हैन, यो १० बर्ष अघि साथीहरुले गरेको कामको रिजल्ट हो, मेरो रिजल्ट १० बर्ष पछि आउँछ, मैले आज जो मेहनत गर्दै छु शिक्षामा एकै बर्षमा आउँदैन रिजल्ट यो मर्म बुझिदिनु जरुरी छ ।'

खस्कदो नतिजका बारेमा भईरहेको आलोचनको पनि उनले बचाउको प्रयास गरे केदारभक्त माथेमाले १८ बर्ष अघि दिएको रिपोर्टका आधारमा ग्रेङिङ् प्रणाली लागू गरेको भन्दै उनले ग्रेडिङ्का आधारमा सबैलाई माथिल्लो कक्षामा पढ्ने वातावरण बनाएर मन्त्रालयले अपजस मेट्न खोजेको भन्ने आरोपको पनि खण्डन गरे । 

सुधार देखाउनका लागि मात्रै काम नगरेको भन्दै उनले सिकाइ केन्द्रित नभई कण्ठ पारेर घोकाउँदै घोकाउँदै परीक्षा केन्द्रमा लैजाने र ३ घण्टामा लेखेको आधारमा मापन गर्ने बेञ्च मार्क नभत्काईकन परिवर्तन नहुने पनि दावी गरे ।  

सिकाइमा क्रान्ति नगरि शिक्षा सुधार नहुने भन्दै उनले पुरानो शिक्षकको डायरीका आधारमा सँधै पढाई राख्ने तरिका बन्द गरिदिनु पने बताए । 

'मुल ठाउँ सिकाइ हो हामी मूलठाउँ तर्फ गएका छैनौ त्यता केन्द्रित हुनु जरुरी छ,त्यस तर्फ जाने हो भने शिक्षा हेर्न लायक हुन्छ' उनले भने  'शिक्षा मन्त्रालय भनेको प्रणाली ब्यवस्थित गर्ने मन्त्रालय पनि हो जनशक्ति कस्तो बनाउने भन्ने कुरासँग पनि जोडिन्छ ।'

कार्यक्रममा शिक्षाका विभिन्न ३६ विधामा पुरस्कार वितरण भएको थियो ।

पढ्नुहोस्  : शिक्षा मन्त्रालयसँगको सहकार्यमा स्थापित पुरस्कार , व्यक्ति र संस्था गरी ३६ पुरस्कार

प्रतिक्रिया