Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

शिक्षक आयोग विरुद्धको मुद्दाको पेशी तोकियो

मंगलबार, २८ साउन २०७६

काठमाडौं  - साविकको उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुले शिक्षक सेवा आयोग विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको पेशी तोकिएको छ । बुधबार विहान १० बजेका लागि पेशी तोकिएको माध्यमिक विद्यालय शिक्षक यूनियनका अध्यक्ष पुष्प प्रसाद न्यौपानेले जानकारी दिए । 

आयोगले खोलेको लाईसेन्सको परीक्षामा उल्लेख विज्ञापन नम्बर ३५ ले आफूहरुलाई समेट्न नसक्ने भन्दै यूनियनका अध्यक्ष पुष्प प्रसाद न्यौपाने सहित ६ जना शिक्षकहरुले सोमबार मुद्दा दायर गरेका थिए । उक्त मुद्दामा अहिले गरिएको विज्ञापन खारेज गरी विषयगत रुपमा लाईसेन्सको परीक्षा गर्नु पर्ने माग गरिएको छ । 

पढ्नुहोस् : शिक्षक आयोग विरुद्ध मुद्दा, विज्ञापन नम्बर ३५ खारेजीको माग  

शिक्षा ऐनको आठौं संशोधनले विद्यालयको संरचनामा परिवर्तन गरी कक्षा १२ सम्मलाई माध्यमिक तह बनाए पनि कक्षा १० मा पढाई हुने र ११ र १२ मा पढाई हुने विषयहरु नमिल्ने भए पछि यो उल्झन् आएको हो । कक्षा ११ र १२ मा झण्डै १ सय ६० विषय पढाई हुन्छ । तर आयोगले कक्षा १० कै तरिकाले सोच्दा समस्या भएको शिक्षकहरुको तर्क छ । यो उल्झन् नसल्टिदैं आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको थियो । जसमा साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकका लागि नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञानका विषय उल्लेख गरी विज्ञापन गरिएको थियो । उक्त विज्ञापनले आफूहरुले पढाउँदै आएको विषयलाई समेट्न नसक्ने शिक्षकहरुको तर्क छ । लामो समय रोकिएको लाईसेन्सको परीक्षा सञ्चालन गर्ने गरी आयोगले गत असार २ गते विज्ञापन खालेको थियो । उक्त परीक्षा असोज ९ देखि ११ सम्म सञ्चालन गर्ने आयोगले तय गरेको छ । 

प्रतिक्रिया