Edukhabar
शनिबार, १५ बैशाख २०८१
गतिविधि

शिक्षक मुद्दाको सुनुवाई मंगलबार

शुक्रबार, ०६ भदौ २०७६

काठमाडौं - साविकको उच्च माध्यमिक विद्यालयमा कार्यरत शिक्षकहरुले शिक्षक सेवा आयोग विरुद्ध सर्वोच्च अदालतमा दायर गरेको मुद्दाको सुनुवाई आउँदो मंगलबार हुने भएको छ । आयोगले खोलेको लाईसेन्सको परीक्षामा उल्लेख विज्ञापन नम्बर ३५ ले आफूहरुलाई समेट्न नसक्ने भन्दै माध्यमिक विद्यालय शिक्षक यूनियनका अध्यक्ष पुष्प प्रसाद न्यौपाने सहित ६ जना शिक्षकहरुले गत साउन २७ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए ।

आगामी १० गतेका लागि सुनुवाई तोकिएको न्यौपानले जानकारी दिए ।

उक्त मुद्दामा अहिले गरिएको विज्ञापन खारेज गरी विषयगत रुपमा लाईसेन्सको परीक्षा गर्नु पर्ने माग गरिएको छ ।

पढ्नुहोस् : शिक्षक आयोग विरुद्ध मुद्दा, विज्ञापन नम्बर ३५ खारेजीको माग  

शिक्षा ऐनको आठौं संशोधनले विद्यालयको संरचनामा परिवर्तन गरी कक्षा १२ सम्मलाई माध्यमिक तह बनाए पनि कक्षा १० मा पढाई हुने र ११ र १२ मा पढाई हुने विषयहरु नमिल्ने भए पछि यो उल्झन् आएको हो ।
कक्षा ११ र १२ मा झण्डै १ सय ६० विषय पढाई हुन्छ । तर आयोगले कक्षा १० कै तरिकाले सोच्दा समस्या भएको शिक्षकहरुको तर्क छ ।

यो उल्झन् नसल्टिदैं आयोगले माध्यमिक तहको विभिन्न तीन, निमाविको एक र प्राविको एक गरी विभिन्न पाँच किसिमको विज्ञापन गरेको थियो । जसमा साविक उच्च माध्यमिक तहमा कार्यरत शिक्षकका लागि नेपाली, सामाजिक, विज्ञान, कम्प्युटर विज्ञान, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ, सिभिल इन्जिनियरिङ, गणित, अंग्रेजी, कार्यालय संचालन तथा लेखा, कानुन, वाली विज्ञान र पशु विज्ञानका विषय उल्लेख गरी विज्ञापन गरिएको थियो । उक्त विज्ञापनले आफूहरुले पढाउँदै आएको विषयलाई समेट्न नसक्ने शिक्षकहरुको तर्क छ । लामो समय रोकिएको लाईसेन्सको परीक्षा सञ्चालन गर्ने गरी आयोगले गत असार २ गते विज्ञापन खालेको थियो । उक्त परीक्षा असोज ९ देखि ११ सम्म सञ्चालन गर्ने आयोगले तय गरेको छ ।

प्रतिक्रिया