मातृभाषा शिक्षा कार्यक्रम असफल


काठमाडौं २२ भदौ / रसुवामा बहुभाषिक शिक्षा तथा मातृभाषा शिक्षा कार्यक्रम असफल भएको छ। भाषिक शिक्षकको अभाव, अभिभावकमा बालबालिकालाई अंग्रजी पढाउनुपर्छ भन्ने सोचाइ, समयको अभाव र स्थानीय पाठ्यक्रममा आधारित नहुँदा कार्यक्रम असफल भएको हो।

जिल्लामा बहुभाषिक शिक्षा परियोजना सन् २००७ देखि २००९ सम्म सञ्चालन भएको थियो। सुरुमा दुईवटा विद्यालयमा बहुभाषिक शिक्षा परियोजना लागू गरिएको थियो। जसमा भीमसेनस्थान आधारभूत विद्यालय र सरस्वती आधारभूत विद्यालय छनोटमा परेका थिए। साथै यसको भगिनी विद्यालयको रूपमा सानोभार्खुको ज्ञानज्योति प्रावि, भीमलीको भीमली प्रावि, धुन्चेको रसुवा मावि, बोकेझुन्डाको गाउँखर्क राष्ट्रिय प्रावि छनोटमा परेका थिए।

कार्यक्रम सञ्चालन भएपछि सन् २०१६ मा शिक्षा मन्त्रालय र डिफ्याट नामक संस्थाले कार्यक्रम लागू भएका विद्यालयको अध्ययन गरेका थिए। शिक्षाको माध्यम र शिक्षाका भाषाको विषयमा अध्ययन भएको ती संस्थाले जानकारी दिएको छ। त्यस्तै कक्षा १ देखि ३ सम्म लागू गरिएको बहुभाषिक शिक्षा खुम्चिएर कक्षा १ मा मात्रै सीमित भएको अध्ययनले देखाएको छ।

शिक्षण सिकाइको क्रममा मातृभाषाको माध्यमबाट सहजीकरण गर्न यी विद्यालयमा तामाङ भाषाको माध्यमबाट सहजीकरण गरिएको थियो। बहुभाषिक शिक्षा सञ्चालनकै क्रममा पछि ४२ वटा विद्यालयमा तामाङ भाषाकै पाठ्यक्रम लागू गरिएको थियो।

बहुभाषिक शिक्षा १० वर्षअघि एक वर्ष सञ्चालन गरिए पनि विद्यार्थीले बुझ्न नसकेपछि विषय हटाइएको रसुवा माविका प्रधानाध्यापक तेम्पा रिसाङ घलेले बताए। ‘हामीले बहुभाषिक शिक्षा एक वर्ष सञ्चालन ग-यौं, सम्भोटा लिपिमै पढाउनु पथ्र्यो, बाहिरी जिल्लाको पाठ्यक्रम भएकाले विद्यार्थीले बुझेनन्,’ उनले भने, ‘त्यसपछि हामीले आफ्नै पाठ्यक्रम लागू ग-यौं।’ यस विद्यालयमा अहिले स्थानीय पाठ्यक्रम ‘लाङटाङको सेरोफेरो’ पढाइ भइरहेको छ।

नौकुण्ड गाउँपालिका–६ सस्र्युंमा सञ्चालित गोसाइँकुण्ड माविमा पनि अहिले मातृभाषामा पढाइ हुँदैन। तामाङ भाषामा शिक्षण गरिरहँदा माथिल्लो कक्षासम्म नजाने भएकाले समस्या आएको प्रअ ठाकुर मोक्तानले बताए। ‘मातृभाषामा शिक्षा दिँदा चाइनिज जस्तो भयो, हामीले पढाउनुपर्छ कपुरी क, यसले त झन् अल्मलाउने काम ग-यो।’

यी विद्यालयमा मात्रै होइन आदिवासी जनजाति महासंघ रसुवाका अध्यक्ष लाक्पा तामाङ प्रअ भएको सरस्वती आधारभूत विद्यालयमा पनि गत वर्षदेखि यो पाठ्यक्रम हटेको छ। भाषा शिक्षकको व्यवस्था नभएकाले समस्या आएको उनले बताए। यसको पूर्ण कार्यान्वयनका लागि परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ।

यी विद्यालयमा तामाङभाषीले मात्रै अध्ययन गर्ने भएकाले सोहीअनुरूप सम्भोटा लिपि मै पढाइ हुन्थ्यो। अहिले कुनै पनि विद्यालयमा सम्भोटा लिपिमा आधारित पाठ्यक्रम प्रयोग हुँदैन। यी विद्यालयमा विद्यार्थीले नेपाली भाषा नबुझ्दा तामाङ भाषाको माध्यमले कक्षा ५ सम्म सहजीकरण हुँदै आएको गोसाइँकुण्ड गाउँपालिकाका शिक्षाशाखा प्रमुख ध्रुवप्रसाद लामिछानेले बताए।

बहुभाषिक शिक्षा कार्यक्रम असफल हुनुमा तीनवटा मुख्य कारण रहेको भाषा आयोगअन्तर्गतको मातृभाषा शिक्षा शाखा प्रमुख लोकबहादुर लोप्चनले बताए। मातृभाषामा शिक्षालाई सिकाइ उपलब्धिसँग जोडेर व्यवस्थापन गरी गुणस्तरीय शिक्षाको सुनिश्चितता गर्न नसक्नु पहिलो कारण हो। दोस्रोमा यसको अवधारणा र मोडल बालबालिकाको भाषिक आवश्यकतामा आधारित नभई प्रयोग तथा परीक्षणमा मात्रै सीमित हुनु हो भने शिक्षासँग सरोकार राख्ने निकाय तथा अभिभावकले बहुभाषिक शिक्षा केहो ?, किन र कसलाई भन्ने कुरा नबुझेको कारण उपलब्धि हासिल हुन नसकेको तेस्रो कारण रहेको उनको भनाइ छ।

नागरिकमा हिमनाथ देवकोटाले लेखेका छन् ।