Edukhabar
आइतबार, ०९ बैशाख २०८१
अभिभावक / विद्यार्थी

उड्ने उमेरका विद्यार्थीको प्रतिनिधि – उडान

शुक्रबार, १० असोज २०७६

देवीराम आचार्य शिक्षा मन्त्रालय अन्र्तगत कार्यरत रहनु उनको पेशागत परिचय भए पनि समग्र शिक्षाको अध्ययन र अनुसन्धानमा उनको सक्रीय सहभागिता छ । उनले गरेका खोज, अनुसन्धान र देखे, भोगेका विषयमा केन्द्रित आलेख विभिन्न पत्रपत्रकिामा प्रकाशित हुँदै आएका छन् । यस पटक उनले विजय सापकोटाद्वारा लिखित उपन्यास उडान पढेपछि केही विश्लेषण गरेका छन् । अभिभावक, शिक्षक र विद्यार्थीका लागि उपयुक्त रहेको उक्त उपन्यास माथि आचार्यको संक्षिप्त विवेचना : 

कथाको शुरु विज्ञान पढाउने शिक्षकले छाडे पछि विद्यालयको मावि तहमा नयाँ मिस आएकोबाट हुन्छ । विद्यार्थीका बीचमा विभिन्न छलफल भएका छन् ।

यो विद्यालयमा हामीले जाने अनुसार ९ / १० कक्षामा पढाउन कुनै मिस आएको रेकर्ड छ ? सुशान्तले भन्यो ।

कोही बोलेनन् किनकी आज सम्म मावि तहमा पढाउन कुनै मिस आएकै थिएनन् ।

यसको अर्थ के हो ? उनीहरू तल्ला कक्षाका लागि मात्र फिट छन् । उसले आफ्नो प्रश्नको उत्तर आफै दियो ।

म एउटा सामान्य शिक्षक हुँ, अझ विद्यार्थी नै भन्दा पनि हुन्छ । म त्यस्तो धेरै ट्यालेण्ट त छैन, अझै सिक्दै नै छु । तर भाईबहिनीहरूलाई यो लेवलमा चाहिने कुरामा मद्दत गर्न सक्छु भन्ने विश्वास चाहिँ छ । मैले त खाली तिमीहरूको साथ लागेर हिँडिदिने मात्र हो, बाँकी पढ्नु त तिमीहरूले नै पर्छ ।

कति अप्ठ्यारो गरी बोलेको, के भनेको होला ? गरिमा अलमल परी ।

शिक्षिकाले थपिन, हाम्रो समाजमा शिक्षकलाई सबै भन्दा जान्ने मान्ने चलन अझै छ । त्यो केही हदसम्म ठिकै होला, तर सबै शिक्षकका व्यवहारहरू बालमैत्री बन्न सकेका छैनन् । म त्यस्तो बन्न चाहन्न । के तिमीहरु त्यस्तो शिक्षक मन पराउँछौ र ?

के सारो साहित्यिक पाराले बोलेको हो, अलि बुझिने गरी भन्नु नि । गरिमाले मनमनै गुनासो गरी ।

विद्यार्थीले विद्यालयमा गर्ने अनुभव, उनीहरुले शिक्षकलाई गर्ने मूल्याङ्कन र समिक्षाका केही सन्दर्भ उपन्यासमा पढ्न पाइन्छ ।

सरोजले आफुसँग भएका थुप्रै जिज्ञासाका प्रश्नहरु सोध्ने कोही नभएको सन्दर्भमा भन्छन् “साथीहरुसँग कुरा गर्दा उडाउँछन् मात्र, सरहरूसँग सोधूँ, सरहरूको ताल देखेर विश्वास लाग्दैन्।”

सरोजले सरहरूको तालको बारेमा कुरा गर्दा गरिमाले सरहरूको उच्च योग्यताको चर्चा गर्दै यति धेरै पढेका सरहरूलाई त्यस्तो भन्नु हुन्छ ?

“डिग्री गर्नु फरक कुरा हो, जसले पनि गर्छ, विद्यार्थीलाई गर्ने व्यवहार ठूलो हो ।”

सरोजको यो प्रश्न शिक्षक प्रति मात्र लक्षित छैन, हामी पढेका जानेका भन्नेहरूले गर्ने हरेक व्यवहारमा प्रश्न हो । एक सरकारी उच्च पदस्थ अधिकारीले जति पद र ज्ञान बढ्दै जान्छ, विवेक हराउँदै जान्छ भन्थे, के हाम्रो शिक्षाले यस्तै सिकाएको हो त ? हाम्रो उखान फलेको वृक्ष निहुरिएको हुन्छ भन्ने हो, तर हाम्रा व्यवहार निहुरिएका छैनन् ।

धेरै सरहरु जाँचमा पोजिसनमा आउने बाहेक अरुलाई विद्यार्थी नै होइनन् भन्ठान्नुहुन्छ । म्याथ, साइन्स र अङ्ग्रेजी पढाउने शिक्षकले त अरू विषय त नपढे पनि हुन्छ जस्तो गर्नुहुन्छ ।

उपन्यासको अर्को पात्र सम्पदा । जसको पढाइमा भन्दा नाचगानमा अलिक रुचि देखिन्छ, तर उनको भावनाले हाम्रो समग्र शिक्षण सिकाइ र प्रतिभा प्रष्फुटन गराउने भन्ने हाम्रो उद्देश्य माथि प्रश्न गर्छ ? कार्यक्रममा नाँच्न गाउन म चाहिने, अरुबेला भने म नपढ्ने, अल्छी, नाँच गान मात्र गर्नुपर्ने ।

कुनै सन्दर्भमा विद्यार्थीले यस्ता कुरा कसरी गर्न सक्छन् भन्ने हाम्रो समयको सन्दर्भले केही प्रश्न पनि उठ्छ तर अहिलेको प्रविधिको विकासले र ज्ञानको दायरामा आएको परिवर्तनले संभव होला भन्ने देखिन्छ ।

उपन्यासका शुरुका अंशहरूले किशोर किशोरीलाई प्रेम प्रति आशक्ति बढाउँदै गएर अन्तिममा किशोरावस्था प्रेमको वास्तविकता र त्यसको मानिसको सम्पूर्ण जीवनसँग कसरी सम्बन्धित हुन्छ भन्नेमा चर्चा गरिएको छ ।  

विद्यालयमा हुने समाजका केही घटनाहरुलाई मिसाइएको छ ।

अन्त्यमा गरिमा र सम्पदा दुई पात्रले आफूलाई कसरी सच्याउँछन् र पछिल्लो पुस्ता झुम्मिएको फेसबुक र छोटा चलचित्रमा अभिनय गर्ने सपनाहरुबाट भएको दुर्घटना र त्यसबाट समाधान तथा सावधानी दुवैलाई जोडिएको छ ।  

उपन्यासकारले कुनै सन्दर्भ र परिवेशबाट विषयवस्तु उठान गरिरहँदा बीचमा आएका कथाहरु कतै हराएका पनि छन् । हाम्रो समाजको जुन जातीय असमानताका सन्दर्भबाट एउटा घटना जोडिएको छ, त्यो घटनाको परिदृश्यमा भएको प्रेमको विश्लेषणबाट विद्यार्थीमा सन्देश दिन सकिने थियो र वास्तवमा विद्यालयले किरणका लागि के गर्यो वा के गर्न सक्थ्यो र के गर्नु पर्दथ्यो ! उपन्यासमा छुटेको छ ।

उपन्यासमा केही अँग्रेजी शब्दहरु प्रयोग भएका छज् । जुन सजिलै नेपालीमा प्रयोग गर्न सकिन्थे । हुन त अचेल हामी नेपालीलाई नेपाली भन्दा अँग्रेजी मन पर्छ । जस्तै क्लास, सिष्टम, एरिया, टाइटल, च्याप्टर, रिटायर्ड, एक्टिङ, बोरिङ आदि ।

उपन्यासको पात्र गरिमाले अरु उपन्यास र फिल्म हेरका प्रसङ्गहरु पनि छन् तर तिनीहरू प्रेम प्रसङ्गका धेरै छन् । किशोर उमेर प्रेम प्रसङ्ग बढी मन पराउँछ तर यही उमेरमा नै दुव्र्यसनी तथा असल खराब छुट्टाउन नसक्दा समस्यमा परेको पनि पाइन्छ, ती पक्षहरू एउटा घटनाबाट जोडिएको छ तर यो पर्याप्त भएन कि ! एउटा पाठकले गरेको अनुभूति हो ।

कविता मिसले कक्षामा प्रेमका भ्रम, किशोरावस्थाको प्रेमलाई बुझाउने प्रयास गर्नु भएको छ । गरिमाले कविता मिसको कुरा स्वीकार गरेको देखिन्छ, तर पनि फेरी केन्द्रमा किशोर प्रेम जोडिएको छ ।

नवीन सरको आफ्नै लामो कथाले धेरै कुरा त सिकाएको छ तर त्यसले विद्यार्थीको भावी जीवन र तत्कालीन समयको किशोर मनोविज्ञानमा कसरी प्रभाव पर्ला अथवा पर्न सक्छ प्रष्ट हुन सकिन्न ।

पढ्ने अथवा रुची अनुसारको सीप सिक्ने अथवा अरु कुनै छोटो जीवनोपयोगी सीप सिक्ने, आफ्नो क्षमतालाई चिन्न सक्नुपर्छ भन्ने सन्देश पनि दिन सकिने थियो । उपन्यासले किशोर मनोविज्ञानलाई राम्रैसँग समेट्दा समेट्दै पनि यी पक्षमा ध्यान दिएको देखिएन र किशोर प्रेमतर्फ बढी ढल्किएको छ ।

किशोर उमेरका विद्यार्थीसँग दैनिक व्यवहार गर्ने शिक्षकहरु कसरी विद्यार्थीको साथी बन्न सकिन्छ ? उनीहरुलाई कसरी गलत मार्गमा जानबाट रोक्न सकिन्छ ? विद्यार्थीको मन पर्ने शिक्षक कसरी बन्छ भन्ने केही साना विषयहरु कविता मिसबाट सिक्न शिक्षकका लागि पनि उपयोगी छ ।

कविता मिस जो कथाको शुरुमा देखापर्नु भएको छ वहाँको भूमिका र अन्तिममा मात्र आइपुग्ने नवीन सरको भूमिकाले शिक्षकको भूमिका र एउटा शिक्षक कसरी विद्यार्थीको साथी जस्तै बन्न सक्छ भन्ने उदाहरणहरु पाइन्छन् ।

किशोर उपन्यास हुँदा हुँदै पनि ती किशोर उमेरका विद्यार्थीसँग व्यवहार गर्ने शिक्षकका लागि पनि पठनीय देखिन्छ ।  

कविता मिसले शिक्षकलाई घमण्डी र बालबालिकाको सिर्जना माथि प्रहार गर्ने व्यक्तिका रुपमा चित्रण गर्नुका कारण थाहा पाउन पनि उपन्यास पढ्नु पर्ला । त्यो भनाई कविता मिसबाट व्यक्त भएको भए पनि लेखक विजय सापकोटाले अनुभूत गरेको विषय हो ।

अभिभावकले आफ्ना किशोर उमेरका छोराछोरीका चाहना र व्यवहार कसरी बुझ्ने ? विद्यालयले कसरी व्यवहार गर्ने ? विद्यार्थी आफैले आफूलाई कसरी चिन्ने ? किशोर उमेरका स्वभाविक चाहनाहरुका वास्तविकता के हो ? र त्यसबाट पर्ने सक्ने असर र जोगिने उपाय थाहा पाउन उपन्यास सहयोगी बन्छ ।

विद्यालयमा शिक्षकसँगका व्यवहार, मासिक चक्र र त्यस सँग जोडिएका विषयहरु पनि समावेश गरिएको छ । किशोर किशोरीको शारीरिक परिवर्तनका बारेमा अभिभावक र विद्यालयले राम्ररी बुझाउन नसक्दा उनीहरुले झेल्न सक्ने समस्याहरु यो उपन्यासमा देखाइएको छ । केटाकेटी र किशोर किशोरी माथि गरिने शारीरिक र मानसिक शोषणका बारेमा पनि उपन्यासले समेटेको छ । बढ्दो यौन शोषण र सामाजिक सञ्जालको दुरुपयोगबाट कसरी सचेत हुनुपर्छ ? र प्रेम के हो ? भन्ने विषय उपन्यासमा छन् । आफ्नो काम आफैं गरौं, प्रश्न गरौं, आफ्नो शरीर माथिको अधिकार प्रति सचेत रहौं भन्ने विषयहरु पनि कुनै न कुनै ढङ्गबाट उपन्यासमा समाविष्ट छन् ।

दश बाह्र वर्ष देखि १८ वर्षसम्मका किशोरहरुलाई ध्यानमा राखेर लेखिएको भनिएता पनि यो उपन्यास बालबालिका, अभिभावक, शिक्षक लगायत सबै उमेरका पाठकका लागि उपयोगी छ ।

एउटा उपन्यासलाई सबै दृष्टिबाट उत्कृष्टता ल्याउन नसकिएला र नहोला, उपन्यास शिक्षक, अभिभावक र किशोर किशोरीका लागि पठनीय छ । यसले एउटा शिक्षकलाई विद्यार्थीको समस्या बुझ्ने अथवा विद्यार्थीसँग गर्ने व्यवहार पनि सिकाउन सक्छ । 

प्रतिक्रिया