Edukhabar
सोमबार, २६ जेठ २०८२
अभिभावक / विद्यार्थी

सिकाइका दुई कुरा, कर्तव्य र अधिकार : एक सिक्काका दुई पाटा

हाम्रो जस्तो शैक्षिक स्तर कमसल भएको समाजमा अभिभावक शिक्षाको माध्यमबाट दुरदराजसम्म सामाजिक जागरणको अवस्थामा सुधार ल्याउन सकिन्छ ।

सोमबार, २६ जेठ २०८२

बालवालिकाको खाली मगजमा जस्तो भाषिक, साँस्कृतिक, साँस्कारिक तथा व्यबहारिक ज्ञान आर्जन हुन्छ, सोही बमोजिमको सोचाई, चरित्र तथा व्यबहार निर्माण हुने गर्दछ । परिवार मानिसको पहिलो पाठशाला हो ।  यो पाठशालाको शिक्षा, दीक्षा, व्यबहार, चालचलन, धर्म, संस्कृति, साँस्कृतिक अभ्यास जस्ता कुराहरुले बालबालिकाहरुलाई प्रत्यक्ष रुपमा प्रभाव पारेको हुन्छ । सिकाइ वातावरणको उपज भएकोले बाल्यकालको घरको वातावरणले उसको भविष्यको मार्ग निर्देशन गरेको हुन्छ । यस अर्थमा हरेक अभिभावकले आप्mना छोराछोरीहरुलाई घर परिवारमा राम्रो शिक्षा दिक्षा दिन पर्दछ । 

बालवालिकाको लागि सबैभन्दा ठूलो मित्र आमा हुन् भन्ने गरिन्छ । त्यसैले होला नेपोलियन बोनापार्टले मलाई शिक्षित आमा देउ मैले तिमीलाई  असल नागरिक दिन्छु भनेका थिए ।  अभिभावकरुपी आमा शिक्षित, साँस्कारिक तथा असल गुणहरुले सम्पन्न भएमा उनीबाट प्रशिक्षित बालबालिकाहरु असल नागरिक बन्न सक्दछन् भन्ने अर्थमा नेपोलयन बोनापार्टको भनाईलाई अथ्र्याउन सकिन्छ । घर मानिसको प्रारम्भिक ज्ञान शास्त्रको प्रयोगशाला भएकोले आमा लगायत बुवा, दाजुभाई, दिदीबहिनी तथा आफन्तजनहरुबाट नै बालबालिकाहरुले जीवनको प्रारम्भिक शिक्षा आर्जन गर्दछन् । 

हरेक मानिसलाई बाल्यकालको सिकाइले उसको जीवनमा दिशा निर्देश गरेको हुन्छ । कलिलो उमेरमा सिकेको ज्ञान, सिकाइले वालबालिकाहरुको व्यबहार निर्माणको जग बसालेको हुन्छ । अभिभावकले छोराछोरीहरुलाई सानै उमेरदेखि आफूभन्दा ठूलालाई आदर गर्न, सानोलाई माया गर्न, घरयासी काममा सघाउन, आपसी मेलमिलाप र सहयोगी भावनाको विकास गर्न, आप्mनो काम आफै गर्न, सफा सुग्घर रहन, स्वाबलम्बी बन्न, आफन्तजन तथा छिमेकीहरुसंग सामाजीकीकरण हुन लगायतका मानव मूल्यसंग सम्बन्धित कुराहरु सिकाउनु पर्दछ । समाजका हरेक बालबालिकाहरु अनुशासित, सुंसस्कृत, सभ्य, सकृय तथा कर्तव्यनिष्ठ भएमा भोलिको समाज शान्त, क्षमासील, विवेकसील तथा सद्भावमैत्री बन्नेमा विमति हुन सक्दैन ।   

अहिले हाम्रो समाज अधिकार उन्मुख अभ्यासमा अभ्यस्त भएको देखिन्छ ।  घर, परिवार, सामाजिक वातारण तथा अभ्यासले समाजका बालबालिकाहरुलाई प्रत्यक्ष वा परोक्ष रुपमा प्रभाव पारिरहेको हुन्छ । लोकतान्त्रिक समाजका बालबालिकाहरु कर्तव्य र अधिकार बीचको बारेमा प्रशिक्षित हुन आवश्यक हुन्छ । कर्तव्य दया, माया, करुणा, चेतना, जिम्मेवारी तथा मानवीय व्यवहारमा आधारित क्रियाकलाप हो भने अधिकार व्यक्ति वा समाजलाई न्यायपूर्ण जीवन बाँच्न पाउने अवस्थालाई सुनिश्चितता प्रदान गर्ने बिषय हो । कर्तव्यको पालनाविना मानिस पूर्ण मानव बन्न सक्दैन भने अधिकारको अभावमा आजको एक्काइसांै शताब्दीमा न त परिवार चल्न सक्दछ न त समाज तथा राष्ट्र नै । यस सन्दर्भमा अभिभावकले  छोराछोरीलाई कर्तव्य र अधिकार एक सिक्काका दुई पाटा हुन् भन्ने बिषय सानै उमेरदेखि सचेत बनाउनु पर्ने हुन्छ ।

आफ्ना छोराछोरी, भाइबहिनी वा घर परिवारका सदस्यहरुलाई असल,  शिष्ट, शालीन, सहनसील, सुसंस्कृत, अनुशासित तथा कर्तव्यनिष्ट बनाउनको लागि अभिभावकहरुको ठुलो भूमिका हुन्छ । यसको लागि अभिभावकीय शिक्षाको बिषयबस्तुले अभिभावक स्वयं प्रशिक्षित हुन आवश्यक हुन्छ । हाम्रो समाजमा अझै पनि ठूलो संख्यामा नागरिक औपचारिक शिक्षाबाट विमुख छन् ।  समाजमा रहेको अशिक्षा, गरिवी, पछौटेपन जस्ता कारणले गर्दा लाखौंको संख्यामा बालबालिकाहरु विद्यालय शिक्षाबाट बञ्चित भएको अवस्था छ । सामाजिक चेतनाको अभावमा सामाजिक रुपान्तरण हुन सक्दैन । यस कोणबाट हेर्दा हाम्रो जस्तो शैक्षिक स्तर कमसल भएको समाजमा अभिभावक शिक्षाको माध्यमबाट दुरदराजसम्म सामाजिक जागरणको अवस्थामा सुधार ल्याउन सकिन्छ । अभिभावकहरु सचेत भएमा उनीहरुले बालबालिकाहरुलाई विद्यालय भर्ना गर्न सकारात्मक भूमिका खेल्दछन् भने अर्कोतिर बालबालिकाहरुले घर परिवारमा असल शिक्षादीक्षा प्रदान गर्न सक्दछन् । 

अहिले नेपाली समाजमा पुरानो पुस्ता र नयाँ पुस्ताको सोचाईको बीचमा चिन्तनगत भिन्नता रहेको पाइन्छ । समाजमा विज्ञान र प्रविधिको विकासले मानिसको जीवनशैलीमा परिवर्तन आएको छ । एकातिर समाजको विकासको गति अनुरुप बालबालिकाहरुले आपूmलाई अन्तरघुलन गराउन आवश्यक छ भने अर्कोतिर समाजमा परम्परादेखि चल्दै आएका सामाजिक मूल्य, मान्यता, संस्कृति, संस्कारहरु सिक्न पनि त्यत्तिकै आवश्यक छ । सामाजिक, साँस्कृतिक तथा धार्मिक मूल्य र मान्यताहरु पुस्तान्तरण गर्न अभिभावकले भूमिका खेल्नु पर्दछ । समाजमा प्रचलित पुराना कुराहरु सबै नराम्रा छैनन् र नयाँ सबै कुराहरु असल छैनन् भन्ने कुराको बोध गराउन अभिभावकहरुको महत्वपूर्ण भूमिका हुन्छ । यस कोणबाट हेर्दा  विज्ञान, तर्क, शास्त्रार्थ तथा समालोचनाका आधारमा बालबालिकाहरुलाई प्रशिक्षित गर्नु पर्ने अग्रज पुस्ताको कर्तव्य हो । यसको लागि अभिभावकहरुले जान्नु पर्ने आधारभूत ज्ञानमा प्रशिक्षित हुन आवश्यक हुन्छ  । 

औपचारिक विद्यालयीय पाठ्यपुस्तकहरुमा नैतिक शिक्षाको अभाव छ । नैतिक शिक्षाको अभावमा मानिस कर्तव्यनिष्ठ बन्न सक्दैन । अहिले बालबालिकाहरुमा अनुशासन कमजोर हुँदै गएको शिक्षकहरुको भनाई छ । अभिभावकहरुको पनि अनुभूति छ । अनुशासित जीवन अन्तरगत बानी, व्यबहार, खानपान, पढाईलेखाई, असल चरित्र आदि कुराहरु पर्दछन् ।  लागु पदार्थ सेवन, साइवर अपराध, दुव्र्यसन लगायतका अपराधजन्य क्रियाकलापहरुमा संलग्न बालबालिकाहरुको संख्या बढ्दो छ । अहिले नयाँ पुस्ताले फाष्टफुडको अत्यधिक प्रयोग गर्ने संस्कृति बढ्दो छ ।  फाष्टफुडको प्रयोगले युवा अवस्थामा नै रक्तचाप, मधमेह, मोटोपन, हृदयाघात जस्ता रोगहरुमा बृद्धि हुँदै गएको छ । बालबालिकाहरुले मोवाइलको अत्यधिक प्रयोग गर्ने गरेको अभिभावकहरु कै गुनासो सुनिन्छ । यस सन्दर्भमा बालबालिकाहरुलाई घर परिवारमा सकरात्मक सोच तथा असल बानी व्यबहारको निर्माण गर्न अभिभवकले  भूमिका खेल्नु पर्दछ । 

अल्वर्ट आइन्सटाइनले मानिसको एउटा मूल्यवान चीज भनेको उसको अन्तरहृदयको आवाज हो भनेका छन् । बालबालिकाहरुको हृदयको आवाजलाई सुनिदिने प्रथम स्रोता अभिभावक हुन् । नाबालक उमेर समुहका बालबालिकाहरुका समस्या समाधान गर्ने दायित्व घर परिवारको हो । अभिभावकहरुको छोराछोरीहरुलाई यो गर वा त्यो गरको ठाडो निर्देशन दिँदा उनीहरुलाई जवरजस्ती स्वीकारी दिनु पर्ने वाध्यतात्मक परिस्थितिको सिर्जना हुन्छ । यसो हुँदा उनीहरुमा नैराश्यता, वदलाको भावना एवं नकारात्मक सोचाइको विकास हुन जान्छ ।  नाबालकहरु निराशाको चरम विन्दुमा पुगे पछि अपराधजन्य कार्यमा संलग्न हुने वा आत्महत्यासम्मको अप्रीय निर्णय लिन पुग्ने मनोविद्हरुको भनाई रहेको पाइन्छ । यस कोणबाट विश्लेषण गर्दा अभिभावकहरुले बढ्दो उमेरका बालबालिकाहरुलाई सकारात्मक मार्गनिर्देश गर्नको लागि मनोपरामर्शको खाँचो हन्छ  । यसको लागि अभिभावक स्वय सक्षम हुनु पर्दछ । 

अहिले बालबालिका तथा किशोर किशोरीहरु मोवाइल र ईण्टरनेटमा अत्यधिक समय बिताउने गरेको अवस्था छ । मोवाइल र ईण्टरनेटको  पहुँच गाउँ गाउँसम्म छ । ईण्टरनेट भित्रका सञ्जालहरु मध्ये विशेष गरेर फेसबुकको प्रयोगले युवा पिंढीमा एक्लै रमाउने, एकोहोरो बनाउनुका साथै आपसी छलफल र अन्तरक्रिया गर्ने वानी र व्यबहारहरु कमजोर बन्दै गएको अवस्था छ । सामाजिक सञ्जालमा ज्ञान आर्जनको फराकिला सुविधाहरु हुँदा हुँदै पनि यसको दुरुपयोग हुने गरेको छ । सामाजिक सञ्जालको प्रयोगको बारेमा उनीहरुलाई सचेत बनाउन अभिभावकहरुले भूमिका खेल्नु पर्दछ ।

अभिभावकले आफ्ना छोराछोरीहरुलाई खान, लगाउन र विद्यालयमा चाहिने कापि किताबहरुको व्यवस्थागरी दिएर मात्र पुग्दैन । घरमा पढाई लेखाईको वातावरण सिर्जनागरी दिनुका साथै उनीहरुको दुःखसुखको साथी पनि बनिदिन सक्नु पर्दछ । समय समयमा उनीहरुसंग मनोविमर्श गरी समस्याहरुको उत्खनन तथा समाधान गर्ने कार्य पनि आवश्यक हुन्छ । यसैगरी घर व्यबहारका मामिलाहरुमा पनि अलि ठुलो उमेरका छोराछोरीहरुसंग राय, सल्लाह लिने, उचित कुरा ग्रहण गर्ने र अनुचित सुझावहरुलाइ तर्कको आधारमा विचार निर्माण गर्न सिकाउनु पर्दछ । यसो हुन सकेमा बालबालिकाहरुमा घर परिवारप्रति जिम्मेवारी बोध हुन्छ । व्यबहारिक ज्ञानको विकास हुन्छ । 

अन्त्यमा, हुने विरुवाको चिल्लो पात भनेझैं सानैदेखि अभिभावकको उचित रेखदेख, माया, ममता, पे्ररणा, हौसला, निर्देशन तथा सहयोग पाउन सकेका बालबालिकाहरु भविष्यमा नेपोलियन बोनापार्टले भने जस्तै असल नागरिक हुन सक्दछन् । त्यसैले बालबालिकाको उचित रेखदेख र मार्ग निर्देशन तथा असल आचरणको विकास गर्नको लागि अभिभावकहरु सक्षम हुन पर्ने हुन्छ । आ–आफ्ना छोराछोरीहरुलाई कुलत र कुसंस्कारबाट जोगाई सभ्य नागरिक बनाउनको लागि अभिभावकको भूमिका अत्यन्त महत्वपूर्ण हुन्छ । तसर्थ हरेक स्थानीय सरकारले अभिभावक शिक्षा तालिम सञ्चालन गरी अभिभावकहरुलाई सचेत बनाउन जरुरी छ । 

प्रतिक्रिया