Edukhabar
शनिबार, १९ फागुन २०८०
अभिभावक / विद्यार्थी

जति शिक्षक र विद्यालयको हुन्छ, अभिभावकको भूमिका पनि त्यत्ति नै

हामीसँग भएका तीन प्रकारका विद्यार्थी सम्झौं । सिक्न कक्षा कोठामा संघर्ष गरिराखेको, आनी बानीमा समस्या भएको, काम पुरा नगरी विद्यालय आउने । यी विद्यार्थी सम्झे पछि विद्यालयको सिकाइको समस्या कहाँ छ होला ?

शनिबार, ०७ पुस २०८०

विद्यालयमा अभिभावकको सहभागिता र यसले बालबालिकाको सिकाइमा पारेको प्रभावका बारेमा थुप्रै अध्ययन, अनुसन्धान भएका छन् । यसको सैद्धान्तिक पाटो पनि छ । तर, आज म यस विषयमा आफ्नै अनुभव र अभ्यासका आधारमा चर्चा गर्छु । 

सबै भन्दा पहिला बालबालिकालाई विद्यालयमा आउँ आउँ जस्तो लाग्ने कसरी बनाउने ? 

विद्यालय भवन त्यस्तो बनाउँ जहाँ विद्यार्थीलाई आउँ आउँ लागोस् तर हाम्रा विद्यालय भवन र जेलमा खासै फरक लाग्दैन । विद्यालय भवन देख्दैमा आउँ आउँ लाग्ने ईञ्जिनियरिङ त होला नी ! त्यस्तो आधारमा विद्यालय भवन बनाउन सकिँदैन ? 

एक जना ईञ्जिनियर साथीलाई सोधेको उहाँले भन्नु भयो त्यसरी त सोचेकै छैन । 

विद्यालय भवन बनाउने भने पछि कति धेरै विद्यार्थी अट्ने कोठा बनाउने ? कति धेरै विद्यार्थी भर्ना गर्ने भन्ने मात्रै ध्यान दिएको देखिन्छ । बच्चालाई आउँ आउँ लाग्ने विद्यालयको भवन ढाँचाका बारेमा आज सम्म कसैले सोधेको पनि छैन, भन्या पनि छैन भन्नु भयो । हामी कक्षा कोठा भित्रको पढाई र सिकाइको कुरा गर्दा गर्दै पनि कक्षा कोठा भित्रको अरु धेरै अवस्थाले सिकाइ र पढाईमा प्रभाव पारेको हुन्छ भन्ने कुरालाई बिर्सेका छौं । 

शिक्षकले वा विद्यालयले चाहे पढाई सुधार्न सकिन्छ भन्ने कुरा मात्रै धेरै भयो । शिक्षक र विद्यालयको नेतृत्व मात्रै हो त बालबालिकाको सिकाइको अवयव ? शिक्षक र  विद्यालयको नेतृत्वले चाहे मात्रै सबै थोक हुन्छ ? अभिभावकको भूमिका हुँदैन ? समुदायको भूमिका हुँदैन ? सामाजिक संघ संस्थाको भूमिका हुँदैन ? राज्यको भूमिका हुँदैन ? 

जति विद्यालयको भूमिका हुन्छ त्यत्तिकै भूमिका अभिभावक, राज्य र संघ संस्थाको पनि हुन्छ । नेतृत्व विद्यालयको हो । विद्यालयलाई विद्यार्थीको सिकाइको केन्द्र, शिक्षकको सिकाइको केन्द्र बनाउने त हो तर विद्यालयलाई अभिभावक र समुदायको पनि सिकाइको केन्द्र बनाउनु पर्छ । 

कसरी बनाउने ? 

अहिले हामीसँग भएका तीन प्रकारका विद्यार्थी सम्झौं । 

१. सिक्न कक्षा कोठामा संघर्ष गरिराखेको, 

२. आनी बानीमा समस्या भएको

३. काम पुरा नगरी विद्यालय आउने 

यी विद्यार्थी सम्झे पछि आफ्नै विद्यालयको सिकाइको समस्या कहाँ छ होला ? 

विद्यार्थी आफैं हो ? 

विद्यालयमा ? 

वा घरमा ? 

रुपमा समस्या विद्यालय, शिक्षक वा कक्षा कोठामा हुन सक्छ तर समस्याको जड घरमै छ । जुन अभिभावकले विद्यार्थीलाई समय दिएको छ, विद्यालयबाट घर फर्के पछि अभिभावकको उपस्थिती हुन्छ, अभिभावकले दिनभरीको कुरा सोध्छ भने सामान्यतय ति विद्यार्थीको आनीवानीमा समस्या हुँदैन । र माथि भनिएका कुनै पनि समस्या हुँदैन ।

यसले के देखाउँछ भने अभिभावकको संलग्नता र विद्यार्थीको सिकाइको प्रत्यक्ष सम्बन्ध छ । तर, अभिभावकलाई विद्यालय वा कक्षा कोठामा ल्याउन सकिरहेका छैनौं । 

मैले विद्यालय पढेको समय, १५ बर्ष शिक्षक हुँदाको र अहिले विद्यालयको नेतृत्व गर्दा सम्मको अनुभवका आधारमा केही अनुभव सुनाउँछु । 

म विद्यालय पढ्दा बुबा आमाको काम विद्यालयमा लगेर भर्ना गरिदिने थियो । बच्चालाई ल्याएर विद्यालयमा भर्ना गरिदिने काम सकियो । 

मैले पढ्न सकिन, राम्रो नतिजा ल्याईन, गृहकार्य बुझाईन भने मेरो अभिभावकलाई वा मलाई आरोपित गरिन्थ्यो । खास गरेर घरमा पढ्ने वातावरण नभएर, अभिभावकले नहेरेर भनिन्थ्यो । 

विद्यालयले अभिभावकलाई कहिले विद्यालय बोलाउँछ ? समयमा फि नतिर्दा अथवा विद्यालयमा कसैलाई पिटपाट पार्यो भने अथवा बर्षभरीका कार्यक्रमको पुरस्कार वितरण गर्ने दिन अभिभावकलाई बोलाईन्थ्यो । भनेको समयमा फि तिरिदिने, केही समस्या  सुनाउने हैन, कथं सुनाउन आए भने गेटमा अँग्रेजी बोल्ने शिक्षक लगाईदिने र अँग्रेजीमा उत्तर दिएर पठाईदिने । ता कि भोली पल्ट देखि त्यो अभिभावक विद्यालयमा आउनै नसकोस् । नेपालीमा बोल्यो भने त अभिभावकका कुरा सुन्नु पर्यो । त्यस्ता विद्यालय अहिले छैनन् की । 

आफूले पढाउन थालेँ, त्यतिखेर विद्यालयले बोलाएको बेलामा अभिभावक आउनुुहन्थ्यो । सांस्कृतिक कार्यक्रममा आउनु हुन्थ्यो । अर्थात् विद्यालयले बोलायो भने आउनु हुन्थो नबोलाए आउनु हुँदैन थ्यो । म विद्यालयय पढ्दा अभिभावकलाई बोलाईन्न थ्यो तर पढाउन थाले पछि बोलाईन्थ्यो । यसमा केही अँशमा अभिभावकको सहभागिता त देखिन्छ तर पर्याप्त छैन । 

मैले जब विद्यालयको नेतृत्व गर्न थालेँ, अब कुरा फरक भयो । म धेरै अभिभावकलाई धेरै तरिकाले विद्यालयमा स्वागत गर्ने अभ्यास गर्दै छु । शिक्षक र प्रधानाध्यापकहरु कसरी अभिभावकलाई सहभागि गराउन सकिन्छ भनेर सोच्ने, काम गर्ने गर्छौ । शिक्षक अभिभावक र विद्यार्थी बिच संगसँगै सिक्ने पढ्ने वातावरण निर्माण गर्दै छौं । 

अहिले पनि यी तिनै किसिमको विद्यालय देखिन्छ । तर,  विद्यालयमा अभिभावकको सहभागितालाई बढाउन जरुरी छ । नेपालमा धेरै विद्यालय अझै पनि अभिभावकको सहभागिता सहित सञ्चालनमा छैनन् । उदाहरणका लागि विद्यालयले फि बढाउन पर्यो भने अभिभावकले निर्णय गर्छन् ? सहभागिातात्मक विद्यालयमा गर्नु पर्छ । 

अभिभावकको सहभागिताका सवालमा हाम्रो पछिल्लो अनुभव कोभिडको बेलामा भयो । कोभिडको महामारीका बेलामा के गर्ने कसो गर्ने हामीलाई थाहै भएन । चिकित्सा र जनस्वास्थ्यमा काम गर्ने अभिभावक सहितको एउटा टाक्स फोर्स बनायौं । उहाँहरुले हामीलाई सहयोग गर्नु भयो । त्यो बेला पढाउने तर कसरी ? 

अनलाईनबाट पठन पाठन कार्य गर्दा ईन्धन, बिजुली, टेलिफोन, क्यान्टिनको खाना जस्ता कुराहरु वचत भए । त्यो भनेको समग्र खर्चको लगभग २५ प्रतिशत हुँदो रहेछ । फि मा २५ प्रतिशत घटाउने निर्णय अभिभावकको सहभागितामै भयो । हामीले हाम्रा चार सय जना शिक्षक, कर्मचारी कसैको पनि तलब रोक्नु परेन । सञ्चयकोषमा पनि समयमै हालिदिन सकियो । झण्डै दुई सय कर्मचारीहरु दुई बर्ष सम्म घरै बस्नु भयो तर पुरा तलब पाउनु भयो । यो सम्भव भएको अभिभावकसँग सहभागिामा काम गर्न सकेकोले नै हो । हामीले थुप्रै काम गर्न बाँकी छ, तर हामी अभिभावकको सहभागिता सहितको विद्यालय बन्ने बाटोमा छौं कि जस्तो लाग्छ । 

विद्यालयमा अभिभावकको भूमिका सम्बन्धि अफ्रिकन अमेरिकन प्राध्यापक डा. जेम्स कोमरको एउटा पुस्तक छ ह्वाट आई लर्न ईन स्कुल । एकदमै अशिक्षत आमाको सन्तानका रुपमा गरीब समुदायमा जन्मेर पढेका कोमरलाई आमाले कसरी हुर्काईन् भन्ने विषय महत्वपूर्ण छ । चिकित्सा विज्ञानमा मनोचिकित्सकका रुपमा काम गरेका कोमर पछि विद्यालयलाई राम्रो बनाउन अमेरिकामा अपनाईएको एउटा मोडेल, जुन हजार भन्दा बढि विद्यालयमा अपनाईएको छ, विद्यालय विकास कार्यक्रममा संलग्न भए । कोमरले पत्ता लगाएको उक्त अभियानले बच्चाको सिकाइमा अभिभावकको भूमिका जोडियो भने बालबालिका र विद्यालय दुबैलाई राम्रो हुन्छ भन्ने प्रमाणित गरेको छ । 

उनका कथा सुन्दा बहुत रमाईलो र आनन्ददायक छन् । उनका तीन जना साथी थिए । लगभग एकै समयमा जन्मेका ती चार जना साथीहरु मध्ये एक जना लागू औषध खाएर वित्यो,  अर्को जेलमा छ, अर्को एक जना टोलमा गुण्डागर्र्दी गर्छ । उनी भने विश्वविद्यालयका प्राध्यापक । पृष्ठभूमि अफ्रिकन अमेरिकन, हुर्काई समान गरिब समुदाय । तर कोमरलाई आमाले जसरी हुर्काईन्, जसरी शिक्षामा अभिभावकको सहभागिता भयो त्यसले उनलाई अर्कै ठाउँमा पुर्यायो । 
बालबालिकाको पढाईमा अभिभावकको सहभागिता भनेको गणित सिकाउने, अक्षर सिकाउने, कोर्ष पढाउने, चित्र कोर्न सिकाउने हैन, त्यसका लागि त विद्यालय, शिक्षक छँदैछन् नी । विद्यालय र बालबालिकाको सिकाइमा अभिभावकको संलग्नता भनेको के हो ? के गर्न सक्छौं ? यसका लागि योजना नै चाहिन्छ । 

बा आमाले विद्यालय पठाएर र विद्यालयले पढाएर मात्रै बालबालिकाको विकास हुँदैन । बालबालिकालाई सिकाउने हो भने घर र शिक्षकले मात्रै हैन सम्पूर्ण समुदायकै सहभागिता हुनु पर्छ । सामाजिक, भावनात्मक विकास पनि सिकाइ हो । 

बालबालिकाको सिकाइमा अभिभावकको सहभागिता हुँदा भएको सुधारका बारेमा थुप्रै अध्ययन भएका छन् । त्यसको निचोड छ अभिभावकको सहभागिताले बालबालिकाको सिकाइमा सुधार ल्याउँछ । 

यदी अभिभावकको नकारात्मक सोच छ भने पनि बालबालिकाको सिकाइमा नकारात्मक प्रभाव पर्छ । विद्यालयबाट अभिभावकलाई फोन आयो भने सबै भन्दा पहिला आफ्नो सन्तालाई सोध्छन् आज स्कुलमा के गल्ती गरिस् ? अथवा फि तिरेको छैन भने पहिले फिको बन्दोवस्त गरेर मात्रै फोन उठाउने क्रम छ । अर्थात् विद्यालय प्रति अभिभावकको सकारात्मक बुझाई नै छैन । विद्यालयले पनि अभिभावकलाई कहिल्यै पनि बच्चाको राम्रो कुरा शेयर नै गरेन । बच्चाले राम्रो प्रश्न सोध्यो, राम्रो निबन्ध लेख्यो, राम्रो व्यवहार देखायो, राम्रो काम गर्यो भने विद्यालयले कहिल्यै फोन गरेर अभिभावकलाई भनेन । बच्चाको राम्रो कुरा अभिभावकसँग शेयर गर्ने र अन्य कुरा विद्यालय भित्रै सुधार गर्ने हो भने अभिभावक विद्यालय प्रति सकारात्मक हुने छन् । 

हाम्रा विद्यालय अभिभावक मैत्री छैनन् । धेरै अभिभावक अँग्रेजी जान्दैनन् र पनि सूचना अँग्रेजी मै पठाउने क्रम छ । कुरा बुझ्ने भाषा नै हुँदैन भने किन आउँछ अभिभावक विद्यालयमा ? समुदायमा बोलिने भाषामा सूचना पठाईयो भने पो अभिभावकलाई पनि बुझ्न सजिलो हुन्छ । अभिभावकलाई विद्यालयमा ल्याउन अभिभावक मैत्री विद्यालय बन्नै पर्यो । 

साक्षरता दर कमजोरका कारण पनि विद्यालयमा अभिभावक नआउन सक्छन्, मैले बोलेको कुरा मिल्दैन कि भन्ने हिनता बोध हुन्छ । अभिभावकको त्यस्ता कुरालाई बुझेर सहज बनाउने काम विद्यालय कै हो ।  एकल परिवारका कारण समय नमिल्ने पनि हुन सक्छ । तर अभिभावक मैत्री हुने हो भने त अभिभावक पक्कै विद्यालयमा आउँछन् । बालबालिकाको सिकाइमा पक्कै सुधार हुन्छ । 

हालै काठमाडौमा सम्पन्न प्याब्सन दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनमा 'विद्यालयमा अभिभावकको संलग्नता' विषयमा यूलेन्स स्कुलका प्रिन्सिपल लामिछानेद्वारा व्यक्त विचारको मुख्य अँश । 

प्रतिक्रिया