Edukhabar
आइतबार, ३० असार २०८१
अभिभावक / विद्यार्थी

हवार्ड गार्डनरको बहुबौद्धिकता सिद्धान्त अन्तर्गत विविध क्षमता पहिचान 'मुक्तक' मार्फत

क्षमता पहिचान गर्नका लागि यही नै विधि अवलम्बन गर्नु पर्छ भन्ने छैन तर विद्यार्थीलाई रुचि जागृत हुने कुरामा भने शिक्षक सचेत हुनै पर्छ ।

मंगलबार, ०८ फागुन २०८०

हरेक आमा बाबुले आफ्ना सन्तती राम्रो बनेको, उज्यालो गन्तव्य तर्फ उन्मुख भएको हेर्न, देख्न र सुन्न चाहन्छन् । हरेक आमा बाबुको इच्छा आफ्ना छोराछोरी डाक्टर, पाइलट इञ्जिनियर बने हुन्थ्यो भन्ने लाग्छ जुन स्वाभाविक हो । स्वाभाविक हुँदाहँुदै पनि त्यसका लागि आफू र आफ्ना छोराछोरी त्यो बाटोमा हिड्नको लागि कत्तिको सवल र सक्षम छन् भन्ने कुरामा ख्याल नगरि इच्छा प्रकट गर्दा कहिलेकाहिँ छोराछोरीमा भएका अन्य क्षमता लोप हुने गरेको धेरै उदाहरण पाउन सकिन्छ । हाम्रा अभिभावकको प्रायः एक मात्र इच्छा यस्तो हुन्छ :

सबै छोराछोरीले राम्रोसँग पढे हुन्थ्यो, 
बाबुआमाको सपना पुरा गरे हुन्थ्यो,    

पढेरै रामे, श्यामे पाइलट, डाक्टर भए,
हाम्रा पनि रामे, श्यामे जस्तै बने हुन्थ्यो ।

बाबुनानी विद्यालय आउँछन् । केही सिक्नका लागि आउँछन् । प्रायः शिक्षकहरुलाई राम्रोसँग थाहा छ । सबै विद्यार्थीको रुची, इच्छा, क्षमता र आकांक्षा एउटै हुँदैन । शिक्षकले विद्यार्थीका चाहना यसरी बुझ्ने प्रयास गर्नु सान्र्दभिक देखिन्छ ।

सानो ठूलो सबैको आ–आफ्नै घर छ, 
मान्छे एकै हौँ तर फरक फरक थर छ, 

प्रत्येक विद्यार्थीको आ–आफ्नै सपना हुन्छ,    
ल भन, भविष्यमा के–के बन्ने रहर छ ।

विद्यार्थीसँग भएका चाहनाहरुलाई उनीहरुबाटै स्वतः स्फूर्त रुपमा अभिव्यक्त गराउन सक्नु र सोही अनुसार मार्गदर्शन गराउन सक्नु एउटा असल शिक्षकको दायित्व र जिम्मेवारी हो । यदि शिक्षकले विद्यार्थीलाई उचित प्रकारको वातावरण बनाउन सक्ने हो भने पक्कै पनि आफ्ना इच्छाहरु प्रकट गर्न सक्छन् । 

विश्वविख्यात हार्वड विश्वविद्यालयका प्रोफेसर हवार्ड गार्डनरले फ्रेम अफ माइन्ड मार्फत सन् १९८३ मा बहुबौद्धिकता (Multiple intelligence) को बारेमा नयाँ सिद्धान्त सार्वजनिक गरे । यसैका आधारमा विद्यार्थीको क्षमतालाई चिन्न सक्यौं भने विद्यार्थी सफल हुने कुरामा दुई मत हुँदैन । जसका लागि शिक्षकले पाठ्यपुस्तक शुरु गर्नु अगाडी विद्यार्थीको क्षमता पहिचान गर्न जरुरी हुन्छ । क्षमता पहिचान गर्नका लागि यही नै विधि अवलम्बन गर्नु पर्छ भन्ने छैन तर विद्यार्थीलाई रुचि जागृत हुने कुरामा भने शिक्षक सचेत हुनै पर्छ । यहाँ हवार्ड गार्डनरको वहुबौद्धिकता सिद्धान्त अन्तर्गत मुक्तकका माध्यमबाट विद्यार्थीको वहुबौद्धिकता पहिचान गर्नका लागि केही आधार तय गरिएको छ ।

१.  भाषिक तथा शाव्दिक दक्षता (Linguistic verbal intelligence)

अध्ययनशिल हुन्छु अनि लेखक हुन्छु,
म पढाइमा सफल प्रत्येक पटक हुन्छु,

गुरु गुरुमाले सिकाएको ढुक्क सिक्छु र,
भविष्यमा एउटा असल शिक्षक हुन्छु ।    

२. तार्किक तथा गणितीय दक्षता  (Logical mathematical intelligence)

सबै साथीसंगीलाइ पढ्नै पर्छ लेख्नै पर्छ भन्छु, 
साना हिसाब कापी कलम बिना मनमनै गन्छु, 

घरको सपना, गुरुको इज्जत, मेरो लक्ष्य चुम्न,
अभिभावकले भने जस्तै गरी रामे श्यामे बन्छु ।

३. स्थानिक र दृश्यात्मक दक्षता (Visual- spatial intelligence )

सानैदेखि राम्राराम्रा चित्र कोर्ने बानी परेको छ, 
पढाइभन्दा पनि धेरै तस्विरतिर मन सरेको छ,

चित्र भनेपछि मन हुरुक्कै हुन्छ, तर के गर्नु, 
अभिभावकले नबुझिदिँदा उत्साह मरेको छ ।   

४. सांगितिक दक्षता (Musical intelligence )

राम्रो नृत्य देखाइ साथीलाइ सझैं हँसाउन पाए,
कहिलेकाहीँ सुरिलो भाकामा गीत गाउन पाए,

बल्ल त्यतिखेर सफल भएको अनुभूति हुन्छ,
म तपाईँहरु सबैको मन मुटुमा छाउन पाए ।

५. शारीरिक चाल सम्बन्धी दक्षता (Bodily- kinesthetic intelligence )

भोलि ठूलै खेलाडी हुन्छु जस्तो लाग्छ, 
आफ्नो लक्ष्य पक्कै छुन्छु जस्तो लाग्छ, 

अवसर पाइन भने त म के नै गर्न सक्छु र ?
पीडा खप्न नसकेर रुन्छु जस्तो लाग्छ । 

६. स्वैयक्तिकता (Intrapersonal intelligence )

आफ्नो विचार सबैमाझ पुर्‍याउन मन लाग्छ,
विभिन्न संस्कृति रहनसहनबारे बताउन मन लाग्छ,

कहिलेकाहिँ समाजमा समस्या निम्ति हाल्यो भने,
आफैं अग्रसर भएर छिट्टै सुल्झाउन मन लाग्छ ।

७. अन्तर वैयक्तिकता (Interpersonal intelligence ) 

आफ्नो स्वास्थ्य ठूलो सम्पती हो भन्ने ठान्छु, 
आफैं परीक्षण गर्छु र बल्ल सही रहेछ भन्ने मान्छु,

अरुले के भन्यो होइन म के गर्छु भन्ने ध्यान राख्दै,
म मेरै सुरमा गन्तव्य चुम्नका लागि एकचित्त भइ जान्छु ।  

८. प्रकृतिवादी दक्षता ( Naturalistic intelligence )

वनजङ्गल, पशुपन्छी जोगाउन मन लाग्छ,
घर वरिपरि सुन्दर बगैंचा बनाउन मन लाग्छ,

एकान्तमा बसी डाँडाकाँडा हरियाली हेर्दै
प्रकृतिका विविध रुप सजाउन मन लाग्छ ।

९. अध्यात्मिक वा अस्तित्ववादी ( Spiritual intelligence ) 

मठ मन्दिर देख्दा थोरै शिर झुकाउने बानी छ मेरो,
दीन दुःखी असहायप्रति मन फुकाउने बानी छ मेरो,

सकुञ्जेल गर्ने हो नसके कसैको आश गर्दै नगरी,
आफ्नो दुःख आफैसँग लुकाउने बानी छ मेरो । 

विद्यार्थीका यी केही प्रतिनिधि मूलक चाहानाहरुलाई बुझेर शिक्षकहरुले सोही अनुसार पथ प्रर्दशन गर्ने, अभिभावकहरु आफ्ना छोराछोरीको क्षमता अनुसार इच्छा प्रकट गर्ने, अरुसँग तुलना गरेर छोराछोरीसँग  भएको उर्जालाइ मर्न नदिने, हरेकसँग केही न केही खुबी हुन्छ जसका लागि पहिचान गरेर उजागर गर्ने साथै विद्यार्थीले पनि आफ्नो रुचीको क्षेत्रमा दत्तचित्त भएर समर्पित हुने हो भने पक्कै पनि हरेक व्यक्ति सफल हुने कुरामा दुई मत हुँदैन ।

र अन्त्यमा, 

अल्छिपना, झुटको खेती जरैदेखि भाग्यो भने,
प्रत्येकसँग नयाँ सोच मनैदेखि जाग्यो भने, 

तब देश समृद्घिको बाटोमा आफैं हिड्न सक्छ ,
हरेक व्यक्ति आ–आफ्नो काममा लाग्यो भने ।
  

चालिसे, श्री शिव माध्यमिक विद्यालय, गलकोट नगरपालिका – ८, काँडेबास, बागलुङका प्रधानाध्यापक हुन् ।  

प्रतिक्रिया