Edukhabar
शुक्रबार, ३० जेठ २०८२
अभिभावक / विद्यार्थी

बालबालिकाको विकासको आधारशिला

विहीबार, २९ जेठ २०८२

अभिभावक शिक्षा भनेको बालबालिकाको शिक्षा, स्वास्थ्य, सामाजिक विकास, तथा चरित्र निर्माणमा आमा बुबा तथा अभिभावकहरूको भूमिकालाई प्रभावकारी बनाउने एक प्रक्रिया हो । यसले अभिभावकलाई बालबालिकको चौतर्फी विकासको लागि आवश्यक ज्ञान, सिप र अभिवृद्धि प्रदान गर्छ । ताकि उनीहरूले आफ्ना सन्तानहरूको स्वास्थ्य, शिक्षा, पोषण, स्याहार, मार्गदर्शन आदि पक्षहरुमा प्रत्यक्ष रुपमा सहयोग गरि उनीहरुको सर्वाङ्गीण विकासमा टेवा पुर्‍याउन सकुन् ।

अभिभावक शिक्षाको उद्देश्य र औचित्य 

स्वभाविक रुपले आफ्ना सन्तानको भविष्य   राम्रो होस् भन्ने सबै अभिभावकको चाहना हुन्छ । तर उनीहरुको चौतर्फी विकासमा घर परिवारमा, बाबु, आमा, हजुरबा, हजुरआमा तथा परिवारका अन्य सदस्यहरुको  भूमिका के कस्तो हुनुपर्छ भन्ने सबैलाई जानकारी  नहुन सक्छ । यि र यस्तै अन्य उपयोगी जानकारीको लागि अभिभावक शिक्षा प्रदान गर्नुपर्ने हुन्छ । अभिभावक शिक्षा सञ्चालनका प्रमुख उद्देश्यहरु निम्नानुसार छन् :

    बालबालिकाको उचित विकास : अभिभावकलाई बालबालिकाको उमेर अनुसारको विकासका चरणहरू बुझ्न र सोही अनुसारको वातावरण सिर्जना गर्न सहयोग पुर्याउनु । 

    सकारात्मक अभिभावकत्वको विकास :  बालबालिकालाई माया, स्नेह र अनुशासनका साथ हुर्काउने सकारात्मक अभिभावकीय शैलीहरू सिकाउनु । 

    पारिवारिक सम्बन्ध सुधार : अभिभावक र बालबालिकाबीचको सम्बन्धलाई सुदृढ पार्नु र आपसी समझदारी बढाउनु । 

    शैक्षिक सहयोग : बालबालिकाको पढाइमा अभिभावकको भूमिकालाई प्रभावकारी बनाउन र उनीहरूलाई घरमै पनि सिक्ने वातावरण उपलब्ध गराउन प्रोत्साहन गर्न । 

    समस्या समाधानको सीप : बालबालिकामा देखिने व्यवहारिक समस्याहरूलाई कसरी सम्बोधन गर्ने भन्नेबारे अभिभावकलाई ज्ञान दिनु । 

    बालबालिकाको सुरक्षा र स्वास्थ्य : बालबालिकाको शारीरिक र मानसिक स्वास्थ्यको ख्याल राख्ने तथा उनीहरूलाई सुरक्षित राख्ने उपायबारे जानकारी गराउनु ।

अभिभावक शिक्षाको आवश्यकता र महत्व

भनिन्छ, घर परिवार बालबालिकाको पहिलो पाठशाला हो । आमा बुबा पहिलो गुरु । हुन त हिजो आज सानै उमेरमा बालबालिकाहरुलाई मण्टेसरीमा भर्ना गराउने चलन छ र सबै कुरा त्यहीँ सिक्छन् भन्ने पनि अपेक्षा राखिन्छ । तर बालबालिकाको अधिकाँश समय घर परिवारमा नै बित्ने, पोषण, स्वास्थ्य र प्रारम्भिक बानी व्यवहारको सिकाइ घर परिवारबाट नै  हुने हुँदा बालबिकासमा अभिभावकको भूमिका सबैभन्दा महत्वपूर्ण हुन्छ । अभिभावक शिक्षाको आवश्यकता र महत्वलाई देहायका बुँदामा प्रष्ट पार्न सकिन्छ ।

    बालबालिकाको शारीरिक, मानसिक र सामाजिक स्वास्थ्यको सम्बन्धी आधारभूत पक्षहरुको जानकारी लिइ बालविकासमा टेवा पुर्याउन ।

    उमेर अनुसार बालबालिकाको संवेगात्मक विकास, व्यवहार, आउन सक्ने समस्या  तथा बालमनोविज्ञानको जानकारी पाउन र  सोहि अनुसार व्यवहार गर्न ।

    बालबालिकाका हक अधिकार तथा अन्य कानुनी व्यवस्था बुझेर घर परिवारमा बालमैत्री वातावरण कायम गर्न ।

    बालबालिकाको लागि आवश्यक खोप, पोषण, सम्भावित अपाङ्गताको पहिचान, प्रजनन स्वास्थ्य, मनोरञ्जन आदि सम्बन्धि जानकारी राख्न र सोही अनुसार व्यवहार गर्न ।

    बालबालिकाहरुमा आउन सक्ने निराशा, दिक्दारी तथा अन्य मानसिक समस्याहरुलाई पहिचान गरी  आवश्यक परामर्श, योग तथा ध्यानको माध्यमबाट उनीहरुको स्वस्थ जीवनशैली विकासमा सहयोग गर्न । 

    विद्यालय, शिक्षक र बालबालिका बिचको अन्तरसम्बन्ध बुझेर आफ्ना बालबालिकाको सिकाइ उपलब्धि अभिबृद्धि गर्न । 

    बालबालिकालाई खराब संगत, कुलत तथा अन्य सम्भावित विकृतिबाट टाढा राखि उनीहरुको सर्वाङ्गीण विकासको लागि परामर्श र मार्गदर्शन प्रदान गर्न ।

    बालबालिकाहरुलाई जीवनोपयोगी सिप सिकाइ स्वाबलम्बी, सुसंस्कृत र सामाजिक बन्न सहयोग गर्न ।

    बालबालिकाहरुमा सिकाइ प्रति मोह सिर्जना गर्न तथा विद्यार्थी, अभिभावक र शिक्षकबीचको अन्तरसम्बन्ध बलियो बनाउन ।

कसले प्रदान गर्ने अभिभावक शिक्षा ?

अभिभावक शिक्षा कार्यक्रमका प्रमुख क्षेत्रगत विषयहरुमा स्वास्थ्य, बालबालिका सम्बन्धि कानुन, शिक्षक, विद्यार्थी, अभिभावक सम्बन्ध र अभिभावक स्वःजागरण समेटिने हुँदा सोही क्षेत्रसँग सम्बन्धित विज्ञहरुबाट अभिभावक शिक्षा प्रदान गर्दा प्रभावकारी हुन्छ । अर्को शब्दमा भन्नुपर्दा शिक्षा, स्वास्थ्य, समाजसेवा, जिवन विज्ञान, कानुन आदि क्षेत्रमा प्रत्यक्ष रुपमा संलग्न सरोकारवालाहरूले अभिभावक शिक्षा  प्रदान गर्न सक्छन् । 

    शिक्षकहरू : विशेष गरी विद्यालयका शिक्षकहरूले अभिभावकहरूसँग प्रत्यक्ष सम्पर्कमा रहेर ।

    मनोविद् र परामर्शदाताहरू : बालबालिकाको विकास र व्यवहार सम्बन्धी विशेषज्ञता भएका व्यक्तिहरू ।

    स्वास्थ्यकर्मी : बालबालिकाको स्वास्थ्य र पोषणसम्बन्धी जानकारी प्रदान गरेर ।

    स्थानीय तहका शिक्षाका कर्मचारी : स्थानीय तहका शिक्षाका कर्मचारीहरुले बालबालिका सम्बन्धी कानुनी तथा नीतिगत ब्यवस्था बारेमा अभिभावकलाई परामर्श र प्रशिक्षण दिएर । 

    गैर सरकारी संस्थाहरू : बालबालिका, महिला, विकास र शिक्षामा काम गर्ने संस्थाहरूले विभिन्न अभिायान सञ्चालन गरेर ।

    जीवन विज्ञान विशेषज्ञ : जीवन विज्ञान सम्बन्धी क्षेत्रमा संलग्न व्यक्तित्वहरुले योग, ध्यान र नैतिकताको बारेमा अभिभावकलाई प्रशिक्षण दिएर ।

    सरकारी निकायहरू :  शिक्षा मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय अन्तर्गतका निकायहरूले गर्ने कार्यक्रममा यो विषयलाई समेट्दै कार्यान्वयन गरेर ।

    स्थानीय सरकार,सामुदायिक सिकाइ अध्ययन केन्द्र तथा स्थानीय स्वास्थ्य चौकीहरुले विभिन्न् कार्यक्रममा यो विषय समेटेर ।

कसरी दिने, अभिभावक शिक्षा ?

अभिभावक शिक्षा कार्यक्रमलाई उपयुक्त समय र परिस्थिति अनुसार भौतिक तथा भर्चुल (अनलाईन) का माध्यमबाट पनि प्रदान गर्न सकिन्छ । जस्तैः

    कार्यशाला र तालिमहरू : विद्यालय, समुदायिक संस्था वा गैर सरकारी संस्थाहरूद्वारा आयोजित कार्यशाला र तालिमहरू मार्फत ।

    परामर्श सेवा : व्यक्तिगत वा समूहगत परामर्श सेवा प्रदान गरेर ।

    सूचनामूलक सामग्री : हातेपुस्तिका, पर्चा, भिडियो, वेबसाइट वा रेडियो र टेलिभिजन कार्यक्रमहरू मार्फत ।

    अभिभावक शिक्षक भेला : विद्यालयमा आयोजना गरिने अभिभावक शिक्षक बैठक तथा भेला मार्फत ।

    सामुदायिक छलफल : स्थानीय समुदायमा छलफल कार्यक्रमहरू आयोजना गरेर ।

    सामाजिक सञ्जालको प्रयोग : सामाजिक सञ्जालका विभिन्न प्लेटफर्महरू मार्फत जानकारी र सुझावहरू साझा गरेर ।

अभिभावक शिक्षा कार्यक्रमका चुनौतीहरू 

अभिभावक शिक्षा प्रदान गर्ने क्रममा विभिन्न चुनौती तथा समस्याहरू देखा पर्न सक्छन् । केहि चुनौतीहरु यस प्रकार छन् ः 

    अभिभावकको समय अभाव : व्यस्त जीवनशैलीका कारण अभिभावकहरूले शिक्षा कार्यक्रममा सहभागी हुन नसक्नु ।

    चेतनाको कमी : अभिभावक शिक्षाको आवश्यकता र महत्वबारे अभिभावकहरूमा चेतना नहुनु ।

    स्रोत साधनको अभाव : खासगरी विद्यालयले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन गर्न आवश्यक आर्थिक र भौतिक स्रोतसाधनको कमी ।

    अभिभावकमा विविधता : विभिन्न आर्थिक, सामाजिक, शैक्षिक तथा सांस्कृतिक पृष्ठभूमि भएका अभिभावकहरूको माग र आवश्यकतालाई सम्बोधन गर्न कठिनाई ।

    पहुँचको समस्या : दुर्गम क्षेत्रका अभिभावकलाई समेट्न नसक्नु ।

    अविश्वास : कतिपय अभिभावकहरूले यस्ता कार्यक्रमहरूप्रति विश्वास नगर्नु ।

समाधानका उपाय

माथि उल्लेखित चुनौतीलाई समाधान गर्न सरोकारवालाहरु सबैको साथ र सहयोगको आवश्यकता पर्छ । देहायका उपायहरुको अवलम्वन गरेमा यस्ता चुनौती र समस्याहरुलाई सम्बोधन गर्न सकिन्छ ।

    लचिलो कार्यक्रम तालिका : अभिभावकहरूको सुविधा अनुसार बिहान, बेलुका वा बिदाको दिनमा कार्यक्रम सञ्चालन गर्ने । 

    जागरूकता अभियान : अभिभावक शिक्षाको महत्वबारे विभिन्न सामाजिक सञ्जाल तथा आम सञ्चार माध्यमबाट व्यापक प्रचार प्रसार गर्ने । 

    सरकारी र गैर सरकारी साझेदारी : स्रोतसाधन जुटाउनका लागि सरकार, गैरसरकारी संस्था र निजी क्षेत्रबीच सहकार्य गर्ने । 

    स्थानीयकरण : स्थानीय संस्कृति र आवश्यकता अनुसार शिक्षा सामग्री र कार्यक्रमहरू तयार पार्ने । 

    प्रविधि प्रयोग : अनलाइन प्लेटफर्म, रेडियो, टेलिभिजन जस्ता प्रविधि प्रयोग गरी दुर्गम क्षेत्रमा पहुँच बढाउने । 

    सफलताका कथाहरूको प्रचार : अभिभावक शिक्षाबाट लाभान्वित परिवारका सफलताका कथाहरू सार्वजनिक गर्ने । 

    अनुगमन र मूल्यांकन : अभिभावक शिक्षा कार्यक्रमहरूको नियमित अनुगमन र मूल्यांकन गरी सुधारका पक्षहरू पहिचान गर्ने ।

समग्रमा, अभिभावक शिक्षाले विश्वव्यापी रुपमा मानिएका बाल अधिकारका चार स्तम्भ र पक्षः बाल बचाउ, बाल विकास, बाल संरक्षण र बाल सहभागिता लगायत बालबालिकाहरुको सर्वाङ्गिण पक्षहरुलाई सम्बोधन गर्दै

बालबालिका, शिक्षा, स्वास्थ्य, समाजसेवा, राजनीति आदि क्षेत्रमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न सरोकारवालाहरुले अभिभावक शिक्षा कार्यक्रम सञ्चालन, समन्वय र व्यवस्थापनमा सहयोग गर्नुपर्ने देखिन्छ ।

थापा, श्री भाग्योदय माध्यमिक विद्यालय, भीरकोट नगरपालिका वार्ड ६, स्याङ्जाका शिक्षक हुन् । 
 

प्रतिक्रिया