Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

सामाजिक सर

बुधबार, १५ असोज २०७६
हिउँदको महिना । दिन छोटा । रातलामा ।
 
नयाँ दिन जन्माउनको लागि घाम पश्चिम डाँडामा डुब्यो ।
 
टाढाबाट हेर्दा सलाईका बट्टा जस्तै देखिने घरहरुमा धिपधिपे बत्तिहरु बले ।
 
विशाल भिमकाय पहाडहरुलाई चिर्दै तल नागबेली बाटो भएर बग्ने कर्णालीलाई साँझको पर्दाले छोप्यो । तर हावाको बुई चढेर आएको नदिको सुस्केरा सुनी रह्यो ।
...
अक्सर शिक्षक विद्यालय नआएको बेला हामी लुकिलुकि खोलामा जान्थ्यौं । खोलाको मसिनो बालुवा र चिप्ला ढुंगाहरुले हृदय सुन्छन् जस्तो लाग्थ्यो । पानीलाई छुँदा बोल्छ जस्तो लाग्थ्यो । शिक्षक भन्दा पानी, बालुवा, ढुंगासँगको सम्वाद र माछाको नाँच नै आत्मिय । सङ्लो पानीमा आफ्नै प्रतिविम्ब हेर्दै मोहित हुने बानीको चर्चा कसरी गरुँ ?
 
मेरा एक दुई जना साथीहरु खुब र्निदयी थिए । बल्छीमा उनेर माछाका भुराहरु घरमा ल्याउथे । आगोमा पोल्दै मुख मिठ्याइ मिठ्याइ खान्थे । तर  म बेग्लै थिएँ । मलाई माछाहरु म जस्तै लाग्थे । माछा मार्न त के छुन पनि मन लाग्दैन्थ्यो ।
 
‘दिन भरी खोलामा मरिस्, घोक्न छोडेर ।’ मैले घरमा माछा ल्याएँ भने त बाले लात्तिले भकुरी हाल्थे । खोलामा गएको चाल घरसम्म कसैले न पुर्याइदेओस् । नसुनाई देओस् लाग्थ्यो । तथापि खोला आत्मिय थियो ।
सामाजिक पढाउने शिक्षकलाई हामी सामाजिक सर भन्थ्यौं । सानो कक्षामा नैतिक पढाउनु हुन्थ्यो क्यारे । सरको घरमा पुग्न तिन चार मिनेट लाग्थ्यो मेरो घरदेखि । पहाडी बस्ति । घरले घरलाई देख्न सक्ने मात्रै होइन । चर्को आवाजमा गरेको कुराकानीलाई हावाले ओसारपसार सजिलै गर्न सक्थ्यो ।
...
कालिकोटको दुर्गम गाउँ । १६ वर्ष अघिको एक दिन । कक्षा ६ ।
 
शिक्षक कक्षामा आए । हामी दश औंला जोड्दै डरले निहुरो झै उभियौं ।
 
अगाडि बेञ्चका विद्यार्थीबाट सामाजिक किताब मागे । बुडी औंला र माझि औंलामा थुक लगाए । 
 
‘आज कुन पाठ रे’भन्दै पन्ना र्फकाए । सरका औंलाहरु ‘सामाजिक समस्या र समाधान’ नामक पाठमा रोकिए ।
...
अस्तित्वको लडाँइ जीतेर । चराहरु घर फर्किदै थिए । झ्याउँ किरीहरुले साँझको स्वागत गर्दै थिए ।
 
 ‘धेरै बोल्ने तँ । तँलाई त, लुजामा..रन्ड्...। खाएँ त मैले मेरो कमाइले रक्सि खाएँ । मा....रन्ड् । तँ पेटिकोट लाउने धेरै बोल्ने ।’ सामाजिक सरको घरबाट एक्कासी नमिठो हल्ला साँझको सिरसिरे बताससँग मिसिदै फैलियो ।
 
तामाको गाग्रीमा स्टिलको भाँडो निकै जोड्ले ठोक्किएको जस्तो आवाज निस्कियो । आमा र छोराको रुवाइले आकाशलाई स्तब्ध बनाइरहेको जस्तो लाग्थ्यो । पशुलाई झैं सामाजिक सरले श्रीमती माथि गरेको भौतिक ज्यादतिलाई देखेर । लाग्थ्यो हावा पनि एक छिन रोकियो । र गहिरो पिडाको महशुस गर्यो । माटो मौन भइरहयो । मौलाबाट देखिने चुलोमा बलिरहेको आगोले लाचारीताको दारु पियो । र झ्याप्पै निदायो । जहाँ घरको आगनबाट मैले केही अस्पष्ट दृश्यहरु देखिरहेको र ध्वनी सुनिरहेको थिएँ । 
 
समाज पढाउने । सन्तानका मालिक । सामाजिक सरले नैतिकताको ऐनालाई ह्याम्बरले र्हिकाइदिए । सिङ्गो ऐनाको एक टुक्रा मै आफै जस्तो लाग्यो । विश्वासको सेतो कागजमा शंकाको कालो दाग लाग्यो । दिउँसो पढेको पाठ र साँझ सरकै घरमा देखेको दृश्यले मलाई युद्ध हारेको सिपाही जस्तै तुल्यायो । पासोमा परेको मुसा जस्तै महशुस भयो । सरको घरमा भएको घटनाको समिक्षा मेरो घरमा चल्दै थियो । आफ्नै सरको बेइजती । मलाई सुन्न मन लागेन ।
 
‘घरेलु हिंसा डर लाग्दो सामाजिक समस्या हो । हामीले हिंसा गर्नु हुँदैन । मिलेर बस्नु पर्छ । महिला पुरुषबिच हिंसा र विभेद गर्नु हुँदैन । धुम्रपान । मद्दपान गर्नु हुँदैन । यसले व्यक्ति परिवार र समाजलाई नै नकारात्मक असर पार्दछ । हामीले यस्ता घटनाहरु हाम्रो वरिपरी देख्यौं भने मान्छेलाई सम्झाउनु पर्छ । आफुले पनि गर्नु हुँदैन । धेरै भएमा नजिकको प्रहरीलाई सम्र्पक गर्नुपर्छ ।’ यस्तै के के गहिरो र जीवन उपयोगी जस्तो लाग्ने मन्तब्य निकै पट्यार लाग्दो शैलीमा दिएका थिए ।
 
सामाजिक सरले दिउँसो बोलेका यी शब्दहरुले मलाई जिस्काइरहेका थिए । टुकीको सहारामा । सरले पढाएको पाठ फेरी पढ्न मन लाग्यो । पाठ्यपुस्तक हेरें । शब्दहरु ठिक थिए । सरले कक्षामा बोलेका शब्दहरु पनि ठिकै थिए । तर घरमा सामाजिक सर अर्कै थिए । कसरी यति धेरै फरक हुन पुग्यो ? घर र स्कुलमा हाम्रा मुखुण्डाहरु किन फरक हुन्छन् ? विद्यार्थीले विद्यालयबाट घर फर्किदा पढेको नर्बिसि फर्किनु पर्ने तर शिक्षकले पढाए पछि र्बिसिदिनु पर्ने ? कस्तो शिक्षा यो ?
 
लाग्थ्यो शिक्षकहरु ईश्वर हुन् । जसको हरेक आदेश मान्नु पर्छ । जसको मुखारबाट निस्किएका हरेक शब्दहरु सत्य हुन् । सोचिन्थ्यो शिक्षकले गरेका प्रत्येक निर्णय र कार्यहरु महान र अन्तिम हुन् । सामाजिक सरले किन यस्तो गरे होलान् ? रात भरि मेरो मनमा बेचैनीको हुरी चलिरहयो । कति खेर निदाएँ थाहै पाईन ।
...
हामी र सरहरु बिचको दुरी धर्ति र तारा जत्तिकै थियो । प्रेम र स्नेहको प्रकाश हामीमा कहिल्यै परेन । अक्सर हामी कमै बोल्थ्यौं सरहरु सित । प्रेम भन्दा डर । सिकाइ भन्दा कुटाई बढि । मेरो भोगाइमा स्कुल सजिलो थिएन ।
 
सामाजिक सर सामाजिक घोकाउथे तर सामाजिक थिएनन् ।
 
सामाजिक सर पछिल्लो दिन उसै गरि । उहि मुद्रामा कक्षा प्रवेश गरे । सामाजिक मेलमिलाप र एकताको पाठ । उसैगरी घोकाए । मेरो मथिङ्गलमा अघिल्लो रातको ब्लुजले फन्का लगाई रहयो । उही पिडाको कम्पन र आश्चर्यको सुइरोले हृदयलाई घोपिरह्यो ।
 
झोला भन्दा गरुँगा प्रश्नहरु थिए मनमा । पोख्ने ठाउँ थिएन । सोध्ने आँट पनि जागेन । सरले सामाजिक फेरी पनि पढाए । उसै गरी कक्षाबाट निस्किए । चक्र अविरल चलिरह्यो ।
...
उसै गरी साँझ फर्केर आयो । घर पुगेपछि मेरो मन उडेर सामाजिक सरकै घरतिर पुग्यो । मैले आफ्नै आगनबाट अबेरसम्म सरको घर निहालीरहें । सरको घर घाट जस्तै सुनसान थियो । चुलोमा आगो फुलेको थिएन ।
‘मास्टरले जोई भकुर्यो । बचेरा काखि च्यापेर जोई माईत गई । मास्टर भट्टीमै होला । झोल र मासुमा डुबेको मास्टरले केटाकेटीलाई के घोकाउँदो हो ?’
 
अगेनोमा आमाको प्रेम पोखिए जस्तो, आगो भरभराइरहेको थियो । आमाले कथा सुनाउँदै थिइन् । अगेनोको अर्को छेउमा टुक्रुक्क बसेका बाले स्विकारोक्ति सङ्केत गरीरहनु भएको थियो । के ठिक के बेठिक मलाई भेउ पाउनै मुस्किल । महाभुकम्प पछि गइरहने पराकम्पनझैं मेरो मनमा अनेकौं जिज्ञासाका पराकम्पनहरु गइरहेका थिए ।
 
शिक्षक आदर्श हो कि पेशा मात्रै ? पेशासँग आदर्श जोडिन्छ कि जोडिदैन ? बच्चाले व्यक्ति हेर्छ कि व्यवहार ? शिक्षक हुनु भनेको पाठ्यपुस्तक घोकाएर वर्ष विताउनु र बच्चालाई कक्षा चढाउनु हो कि शिक्षकले असल आचरण प्रदर्शन गर्नु ? सामाजिक सरको बुझाइ र गराइमा किन यति दुरी ?
...
मैले भोगेका सामाजिक सरहरु हाम्रा कपषा कोठामा कति होलान् ? सिकाइ र जिन्दगी बिच तालमेल होला कि न होला ? अलमलको कुहीरोमा म जस्तै ‘म’ हरु आजका दिनसम्म कति होलान् ? तपाई र मेरो भोगाइ उस्तै हो कि फरक ?
 
देवकोटा टिच फर नेपाल नामक संस्थामा एडुकेशन इम्प्याक्ट कोर्डिनेटरका रुपमा कार्यरत छन् । 

प्रतिक्रिया