छापामा शिक्षा : डिनको राजीनामा र पुनः परीक्षा माग्दै तालाबन्दी


काठमाडौं १७ असोज /एमबिबिएस र बिडिएसको प्रवेश परीक्षामा गम्भीर लापरबाही गरेको भन्दै काठमाडौं विश्वविद्यालय स्कुल अफ मेडिकल साइन्सेस (केयू)का डिन डा. राजेन्द्र कोजूको राजीनामा र पुनः प्रवेश परीक्षाको माग गर्दै युवा चिकित्सकले तालाबन्दी गरेका छन् । 

नयाँ पत्रिकामा केयूमा डिनको राजीनामा र  पुनः परीक्षा माग्दै तालाबन्दी शिर्षकमा लेखिएको खबर अनुसार प्रवेश परीक्षामा गम्भीर लापरबाही भएको, विद्युतीय उपकरणको जाँच नगरिएको, प्रश्नपत्र बाहिरिएको र समग्रमा गरिब तथा जेहेनदार विद्यार्थीको भविष्यमा खेलबाड गरेको भन्दै युवा चिकित्सक संघले डिन कार्यालयमा तालाबन्दी गरेको हो । कार्यालयको ढोकामा युवा चिकित्सक संघका अध्यक्ष डा. चेतन बस्नेत र विश्वविद्यालय समन्वय समितिका संयोजक डा. अच्युतप्रसाद भट्टले हस्ताक्षर गरेको मागपत्र टाँसिएको छ । उनीहरूले आवश्यक कारबाही गर्न विश्वविद्यालयका उपकुलपतिसँग मागसमेत गरेका छन् ।

सरकारले निजी कलेजलाई तोकेको शुल्कभन्दा बढी लाखौँ रकम लुट्न छुट दिएको, चिकित्सा शिक्षा आयोगको मर्मविपरीत विभिन्न मेडिकल कलेजलाई बिएस्सी नर्सिङ सञ्चालनका लागि अनुमति दिएको, नेपाल मेडिकल काउन्सिलको मापदण्डविपरीत मेडिकल कलेजको सिट निर्धारण गरेको, चिकित्सा शिक्षा आयोगको निर्देशनविपरीतको काम गरेको आरोप विद्यार्थीले लगाएका छन् । माग पूरा नहुँदासम्म डिन कार्यालयमा ताला लगाउने युवा चिकित्सक संघले जनाएको छ ।