Edukhabar
बुधबार, २६ बैशाख २०८१
खबर/फिचर

विवादित उत्तर पुस्तिका धुल्याउन रोक

शुक्रबार, ०१ कार्तिक २०७६

काठमाडौं - स्नातकोत्तर तह भौतिक शास्त्र पहिलो सेमेस्टर अन्र्तगत क्वाण्टम विषयको उत्तर पुस्तिका धुल्याउन रोक लगाउँदै राष्ट्रिय सतर्कता केन्द्रले त्रिभुवन विश्वविद्यालयलाई पत्राचार गरेको छ । उक्त विषयको २०७५ पुस २९ गते भएको परीक्षामा परीक्षा अगावै प्रश्नपत्र बाहिरिएको र पाठयक्रम भन्दा बाहिरबाट प्रश्न सोधिएको भन्दै विद्यार्थीले  अनुसन्धान गर्न केन्द्र र अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई गुहारेका थिए । 

उक्त विवादित उत्तरपुस्तिकाहरु विवाद समाधान नहुँदा सम्म नधुल्याई सुरक्षित रुपमा राख्न केन्द्रले भनेको छ । 

'उक्त विवाददित परीक्षाको सम्बन्धमा आजको मिति सम्म के कस्तो कारवाही भएको छ ?' केन्द्रले पठाएको पत्रमा प्रश्न गर्दै भनिएको छ, 'शिक्षाध्यक्षद्वारा गठित विशेषत्र सम्मिलित ३ सदस्यीय छानवीन समितिले पेश गरेको प्रतिवेदनमा अधिकाँश प्रश्नहरु पाठ्यक्रम भित्रबाट नरहेको भनी उल्लेख भई आए पश्चात त्रिविले उक्त विवादित परीक्षाको उत्तर पुस्तिका परीक्षण गराएको छ छैन ?'

केन्द्रको पत्रमा उक्त विवरण सहितको प्रतिकृया पठाईदिन भनिएको छ ।   

विद्यार्थी हकहित संरक्षण समिति  गठन गरेरै संघर्ष गर्दै आएका विद्यार्थीले  विभिन्न मितिमा गरि तीन पटक सम्म औपचारिक रुपमा दुवै निकायको ध्यानाकर्षण गरेका थिए । समितिका संयोजक आशिष पौडेलले गत असोज १५ गते ती उत्तर पुस्तिका धुल्याउनबाट निषेध गरी सुरक्षित रुपमा राख्न माग सहित  हालेको उजुरी माथि सुनुवाई गर्दै केन्द्रले त्रिविलाई पत्राचार गरेको हो । 

परीक्षाफल प्रकाशति भएको ४ महिना पछि धुल्याउन सक्ने प्रावधान रहे पनि यो विवादित विषय भएकाले नधुल्याउन माग गर्दै हालेको उजुरीमा भएको सुनुवाईले आफूहरुले न्याय पाउने अपेक्षा गरेको पौडेलले बताए ।

'विश्वविद्यालयको नियत ठिक छैन, त्यसैले विद्यमान व्यवस्था देखाएर प्रश्नपत्र धुल्यायो भने त खेल खत्तम हुन्छ त्यही भएर त्यस माथि रोक लगाउन माग गरेका हौं' उनले भने, 'सर्तकता केन्द्रले नधुल्याउन भने पछि त्यसको परीक्षण र अवस्थाका बारेमा अध्ययन गर्न सहज हुने  अपेक्षा गरेका छौं ।'

क्वाण्टम मेकानिक्स विषयको प्रश्नपत्र परीक्षा समय भन्दा डेढ घण्टा अगावै बाहिरिएको थियो । महेन्द्ररत्न बहुमुखी क्याम्पस ताहाचलमा प्रश्नपत्र आउट भएपछि विद्यार्थीले विरोध गर्दै आएका थिए । ४५ पूर्णाकको परीक्षामा ३० अंक भन्दा बढी पाठयक्रम भन्दा बाहिरबाट प्रश्न सोधिएको भन्दै उनीहरुको विरोध छ । परीक्षामा लापरबाही गरेको आरोपमा डिन रामप्रसाद खतिवडा, परीक्षाका सहायक डिन तेज बीसी, विषय समितिका अध्यक्ष विनिल अर्याल र विषय विज्ञ नारायण अधिकारी विरुद्ध विद्यार्थीले केन्द्र र अख्तियारमा उजुरी दिएका थिए । विद्यार्थीले उक्त परीक्षा रद्द गरी फेरी परीक्षा गर्न माग गरेका छन् ।

विषय समितिका अध्यक्ष अर्यालले बाहिरको प्रश्न नसोधिएको प्रतिवेदन बुझाए पछि त्रिविले परीक्षालाई वैधता दिएको थियो । तर प्रश्नपत्र बनाएकै व्यक्तिले दिएको उक्त प्रतिवेदन झूटो रहेको विद्यार्थीको  दावी छ । 

प्रतिक्रिया