Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

श्री ५ महेन्द्र मावि ! नामकै कारण नरमाइलो अनुभव

आइतबार, ०३ कार्तिक २०७६

ललितपुर - मुलुकमा पञ्चायती व्यवस्था हटेको ३० वर्ष र गणतन्त्र स्थापना भएको १३ वर्ष बितिसक्दा पनि ललितपुरको दुर्गममा रहेको श्री ५ महेन्द्र माध्यमिक विद्यालयको नाम परिवर्तन भएको छैन ।

पञ्चायती व्यवस्थामा तत्कालीन राजा महेन्द्रको नामबाट मुलुकमा थुप्रै विद्यालय स्थापना भए तर श्री ५ शब्द उल्लेख गरेर ललितपुरको ठूला दुर्लुङ्मा विद्यालय स्थापना भयो । वि.सं. २०१७ मा यो विद्यालय स्थापना भएको थियो ।

सो माविका पूर्व शिक्षक तथा हाल महांकाल नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष रामकृष्ण आचार्यले २०६३ सालमा विद्यालय व्यवस्थापन समितिले विद्यालयको नाम परिवर्तन गर्ने निर्णय गरेको, तर त्यस पछि नाम परिवर्तन सम्बन्धी आवश्यक प्रक्रिया अगाडि बढ्न नसकेको बताए । 

उनले भने 'हुन त नामभन्दा पनि काम महत्वपूर्ण हो, श्री ५ महेन्द्र हुँदैमा आपत्ति के होला र भनेर स्थानीयहरुको धारणा रह्यो । कामले राम्रो भए पुगिहाल्यो नि ।' सो विद्यालय सातदोबाटोबाट झण्डै ४५ किलोमिटर टाढाको दूरीमा छ । 

विगतमा राजा र प्रधानमन्त्रीका नाममा खुलेका कतिपय विद्यालय र विश्वविद्यालयको नाम परिवर्तन भएका पनि छन् । त्यस्तै, कन्याहरुलाई अध्यापन गर्न खुलेको कन्या विद्यालयमा छात्र अध्ययन गर्ने गरे पनि नाम परिवर्तन नगरिएको उदाहरण पनि छन् । 
काठमाडौँको यट्खामा रहेको कन्या माध्यमिक विद्यालयमा २०३० सालबाट नै छात्रलाई प्रवेश दिइएको थियो र बीचमा नाम परिवर्तन गर्ने भन्ने चर्चा पनि चल्यो तर यसै नामबाट छात्रहरूले पनि प्रमाणपत्र पाइरहेका छन् । 

सो माविका प्रधानाध्यापक गोपीचन्द्र पौडेलले धेरै वर्षअघि एकजना विद्यार्थी विदेश जान लाग्दा अमेरिकी दूतावासले प्रवेशाज्ञा दिने क्रममा एसएलसी परीक्षाको लब्धाङ्कपत्र नक्कली खरिद गर्दा पुरुषको विद्यालयबाट गरेको भए पनि हुन्थ्यो, किन कन्या स्कुलको गरेको भनेर त्यहाँका कर्मचारीले भनेको रोचक प्रसङ्ग सुनाए ।

उनले भने, 'बीचमा केही विद्यार्थीले विद्यालयको नामका कारण नरमाइलो अनुभव गरेका थिए, आवश्यक परेका विद्यार्थीको प्रमाणपत्रमा सहशिक्षालय भनेर लेखिदिने गरेका छौँ ।'

नामले गर्दा विद्यार्थी आउन नमाने पछि भक्तपुरको टेखापुखुस्थित कन्या माविले २०७१ सालमा नाम नै परिवर्तन गरी मेधा माध्यमिक विद्यालय बनाएको थियो । त्यस माविले २०६४ सालबाट छात्रलाई पनि भर्ना लिन थालेको थियो । 

सो माविका प्रधानाध्यापक गंगाधर हाडाले लेटरप्याड र प्रमाणपत्रको मुनि पहिलेको कन्या मावि भनेर लेख्ने गरिएको बताउँदै भने, 'छात्रलाई कन्या स्कुलमा आउन असहज भएपछि नाम नै परिवर्तन गर्नुपर्यो ।'

वि.सं. २००७ मा प्याफलमा कान्तिईश्वरी राज्यलक्ष्मी मावि स्थापना गर्दा कन्याहरूका लागि नै भनिएको थियो । २०७० सालबाट यस विद्यालयले पनि छात्रहरुलाई भर्ना लिन थाल्यो । कन्या विद्यालयका रूपमा परिचित यस माविमा छात्रलाई विद्यालयको नामकै कारण खासै आपत्ति नरहेको बताउँदै प्रधानाध्यापक रामशरण खनालले तत्कालीन राजा त्रिभुवनकी पत्नीको नामबाट खुले पनि अहिले विद्यालयको नाम परिवर्तन गर्नुपर्दछ भन्नेमा सोचाइ नभएको बताए । 

त्यस्तै, २०११ सालमा स्थापना भएको ललितपुरको पुल्चोकस्थित मदन मेमोरियल गल्र्स हाइस्कुल नयाँ शिक्षा लागू भएसँगै नाम परिवर्तन गरी मदन स्मारक मावि बनाइयो । कन्याका लागि मात्र खुला भएको सो विद्यालयमा विद्यार्थी सङ्ख्या घट्न थालेपछि २०६५ सालबाट छात्रका लागि पनि खुला गरियो । 

प्रतिक्रिया