Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

जबर्जस्ती अन्यत्र नजाने अडान

मंगलबार, २६ कार्तिक २०७६

काठमाडौं २६ कात्तिक / डा. गोविन्द केसीको स्वास्थ्यमा गम्भीर समस्या देखिन थालेपछि थप उपचारका लागि काठमाडौं लैजान सरकारले डडेलधुरा पठाएको सेनाको हेलिकप्टर रित्तै फर्किएको छ ।

कान्तिपुरमा डीआर पन्तले लेखेको खबर अनुसार १७ औं पटक अनशनरत केसीले जबर्जस्ती अन्यत्र नजाने अडान लिएका छन् । स्थानीयले पनि सहमतिविपरीत केसीलाई लैजान नदिने भन्दै विरोध गरेका छन् ।

डा. केसीलाई मनाउन डडेलधुराका प्रमुख जिल्ला अधिकारी लागिपरेका थिए । तर उनलाई डा. केसीले भेट्नसमेत मानेनन् । अनशनको आठौं दिन सोमबार केसीलाई स्थानान्तरण गर्न डडेलधुरामा व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो । बिहानैदेखि अनशन तोडाउन र काठमाडौं लैजान सुरक्षाकर्मीले केसीलाई दबाबसमेत दिएका थिए ।

समर्थकले डडेलधुरा बजार क्षेत्रमा डा. केसीको समर्थनमा दिनभर प्रदर्शन गरे । बजार बन्द भयो । यता डडेलधुरा अस्पतालले भने डा. केसीको स्वास्थ्य अवस्था निकै गम्भीर रहेको भन्दै सुरक्षित स्थानमा पठाउन आग्रह गरेको छ । ‘डा. केसीको स्वास्थ्य स्थिति झन्झन् कमजोर बन्दै गएको छ,’ अस्पतालका प्रमुख डा. जितेन्द्र कँडेलले भने । चिसोमा स्वास्थ्य अझ प्रतिकूल हुन सक्ने उनको भनाइ छ । डडेलधुरा अस्पताल नजिकैको एउटा कोठामा कात्तिक १८ देखि अनशन थालेका डा. केसीलाई ४ दिनअघि अस्पताल भर्ना गरिएको हो ।

जिल्ला प्रशासन डडेलधुराले डा. केसीलाई काठमाडौं पठाउन सोमबार गरेको सर्वपक्षीय छलफल निष्कर्षविहीन भएको छ । आन्दोलनरत संघसंस्था र स्थानीयले डा. केसीको इच्छाविपरीत कदम उठाए आन्दोलन गर्ने चेतावनी दिएको प्रजिअ राजुप्रसाद पौडेलले बताए । ‘छलफलले कुनै निष्कर्ष निकाल्न सकेन,’ उनले भने । डा. केसीको इच्छाविपरीत हस्तक्षेप गर्ने प्रयास गरे थप आन्दोलन चर्काउने उद्योग वाणिज्य संघ डडेलधुराका अध्यक्ष लोकराज भट्टको भनाइ छ ।

यसैबीच नेपाल चिकित्सक संघले केसीको जीवन रक्षाका लागि तत्काल वार्ता गरी समस्या समाधान गर्न माग गरेको छ । संघले सोमबार जारी गरेको विज्ञप्तिमा सम्झौता कार्यान्वयन गर्नसमेत सरकारलाई आग्रह गरिएको छ ।

प्रतिक्रिया