Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
खबर/फिचर

२० प्रतिशत सम्म तलब वृद्धिको प्रस्ताव, करारलाई स्थायी नियुक्ति

मंगलबार, १७ मंसिर २०७६
काठमाडौं - नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नाष्टका पदाधिकारी तथा कर्मचारीहरुको तलबमान वृद्धि गर्ने सैद्धान्तिक सहमती भएको छ । सोमबार बसेको नाष्टको ४३ औं सभाले कर्मचारीको तलबमा चालु आर्थिक बर्षबाट नेपाल सरकारले गरेको वृद्धिलाई आधार मानी १८ देखि २० प्रतिशत वृद्धिको प्रस्ताव माथि अर्थ मन्त्रालयको सहमति लिई प्रदान गर्ने निर्णय गरेको हो । 
 
राजपत्रांकित कर्मचारीहरुको लागि १८ प्रतिशतको दरले वृद्धि गरि खाईपाई आएको ग्रेडमा नघटने गरि प्रदान गर्ने गरि गरेको निर्णयलाई आधार मानि सोही अनुसार प्रज्ञा प्रतिष्ठानका पदाधिकारी तथा कर्मचारीहरुको तलबमान पदाधिकारी र राजपत्रांकित कर्मचारीहरुलाई १८ प्रतिशत र राजपत्रअनंकित कर्मचारीहरुलाई २० प्रतिशतका दरले वृद्धि गरि प्रदान गर्न अर्थ मन्त्रालयको सहमति लिई प्रदान गर्ने निर्णय गरियो ।
 
यस्तै नाष्टमा विगत १० वर्षदेखि करारमा कार्यरत वैज्ञानिक, प्राविधिक तथा प्रशासनिक कर्मचारीहरुलाई स्थायी गर्ने सम्बन्धमा अर्थ मन्त्रालय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयसंग आपसि सहमति लिई आवश्यक कार्य अघि बढाउने निर्णय समेत सभाले गरेको छ । 
 
प्रतिष्ठानको प्रयोगशालामा कार्यरत कर्मचारीहरुलाई जोखिम भत्ता वितरण गर्ने सम्बन्धमा तयार पारिएको निर्देशिकाका बारेमा अर्थ मन्त्रालयसंग सहमति लिई स्वीकृत गर्ने पनि निर्णय भएको छ ।
 
नाष्टका कुलपति समेत रहेका प्रधानमन्त्री केपी ओली विरामी भएका कारण सहकुलपति समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा बैठक बसेको थियो । 
 
प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना सहित शुरु भएको उक्त बैठकले प्रतिष्ठानबाट सम्पन्न गरिएका कार्यहरुको प्रगति विवरण सहितको वार्षिक प्रतिवेदन अनुमोदन गर्दै विभिन्न सात वटा निर्णय गरेको छ ।सभाले चालु आर्थिक बर्षको कार्यक्रमहरु संचालन गर्नको लागि ४३ करोड १८ लाखको वार्षिक कार्यक्रम वजेट स्वीकृत गरेको छ । विभिन्न पुरस्कार स्थापना सहित १६ वटा विभिन्न पुरस्कारहरु २७ जनालाई प्रदान गर्ने निर्णय समेत सभाले गरेको छ । 
 
“खर्चको मापदण्ड सम्बन्धी कार्यविधि २०७६” लाई स्वीकृत गर्दै सभाले प्रविधिको क्षेत्रमा क्रियाशिल सर्जकहरुलाई प्रोत्साहन र क्षमता अभिवृद्धिमा सहयोग पु¥याउने, आफ्नै प्रयासमा वैज्ञानिक व्याख्या र उपयोगिता सहित विकसित नविनतम सिर्जनात्मक प्रविधिका प्रवर्तकहरुलाई अनुसन्धानको लागि सहयोग र प्रविधिमा सुधार गर्न समेत सहयोग पु¥याउने उद्देश्यले तयार पारिएको “सम्बृद्धिको लागि नवप्रवर्तन कार्यक्रम अन्तर्गत प्रविधि विकासको लागि अनुदान वितरण सम्बन्धी कार्यविधि, २०७६” लाई पनि स्वीकृत गरेको छ । 

प्रतिक्रिया