Edukhabar
मंगलबार, ११ बैशाख २०८१
गतिविधि

विद्यार्थीमाथि गोली चलाउन आदेश दिएको आरोप, प्रहरीलाई नेकपाको संज्ञा

सोमबार, २३ मंसिर २०७६

काठमाडौं - कोहलपुर घटनामा विद्यार्थीमाथि गोली चलाउने आदेश दिएको आरोप लगाउँदै प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थी संघले गृहमन्त्रीको राजीनामा माग गर्दै काठमाडौंमा प्रदर्शन गरेको छ ।

प्रहरीलाई नेकपाको संज्ञा दिईएको ब्यानर सहित गरिएको प्रदर्शनका सहभागी विद्यार्थीले प्रहरी दमनको विरोध गर्दै नारावाजी गरेका थिए । उनीहरुले गृहमन्त्री रामबहादुर थापाको राजिनामा समेत मागेका छन् ।

नेविसंघ काठमाडौं जिल्ला समितिको आयोजना र पशुपति क्याम्पस इकाइ समिति चावहिलको संयोजनमा भएको प्रदर्शन पछि नेविसंघका नेता मनोज वैद्यले विद्यालय पोशाकमा भएका विद्यार्थीमाथि गोली चलाउन आदेश दिने गृहमन्त्रीले राजीनामा दिनुपर्ने माग गरे । प्रहरीको दमनबाट घाइते विद्यार्थीको निःशुल्क उपचार गर्नुपर्ने पनि विद्यार्थीको माग छ । 

विद्यालय र विद्यार्थी शान्ति क्षेत्र हुन् भन्ने मान्यता विपरित विद्यार्थी माथि प्रहरीले बल प्रयोग गरेको भन्दै तिव्र आलोचना भईरहेकै बेला विद्यार्थीले प्रदर्शन गरेका हुन् । 

आईतबार बाँकेको कोहलपुरमा विद्यालय जाँदै गरेकी कक्षा सातमा अध्ययनरत प्रकृति चन्दलाई ट्रकले ठक्कर दिदाँ उनले दुवै खुट्टा गुमाएकी छन् । ठक्करबाट   गम्भीर घाइते भए पछि उपचार गर्न सेनाको हेलीकोप्टरबाट उनलाई ललितपुरको बीएण्डबी अस्पतालमा ल्याइएको छ । 

चन्दलाई ठक्कर दिने ट्रकलाई प्रदर्शनकारीले घटनास्थलमै जलाइदिएका थिए । त्यस पछि नेपालगञ्ज कोहलपुर सडकखण्डमा प्रदर्शनकारी र प्रहरीबीच आईतबार दिनभर झडप भएको थियो । स्थिति नियन्त्रणमा लिन प्रहरीले सयौं सेल रबरका गोली हालेको थियो । लाठी र अश्रुग्यास प्रहार गर्दा विद्यार्थी सहित एक दर्जनभन्दा बढी घाइते भएका छन् । 

प्रदर्शनकारीको आक्रमणबाट इलाका प्रहरी कार्यालयका ९ प्रहरी पनि घाइते भएका प्रहरीले जनाएको छ । शान्ति सुरक्षा कायम गर्न भन्दै प्रशासनले कोहलपुरमा निषेधाज्ञा जारी गरेको छ ।

फोटो सौजन्य : यूपी लामिछाने, नेविसंघ नेता 

प्रतिक्रिया